नारायण गाउँले ।
हमास–इजरायल युद्धले बेलायती गृहमन्त्रीको जागीर नै चट पारिदियो ! गत महिना हमासको बर्बरतापूर्ण हिंसा र आक्रमणको केही देशबाहेक सबैले विरोध नै गरेका थिए । तर इजरायलले गरेको जबाफी कारबाहीसमेत उस्तै निर्मम, क्रूर र अमानवीय बन्दै गएपछि विश्वभर त्यसको विरोध र प्यालेस्टिनी जनताप्रति समर्थनमा व्यापक प्रदर्शनहरू बढ्दै गए ।
प्यालेस्टिनी मूलका नागरिकहरू बेलायतदेखि अमेरिकासम्म ठूलै सङ्ख्यामा छन् र ती नीतिनिर्माणदेखि कार्यान्वयन तहमैं पुगेका छन् ! स्कटल्याण्डका मुख्यमन्त्री हम्जा युसुफका परिवार त झन्डै एक महिनापछि गाजाबाट उम्केर बेलायत आइपुगेका छन् । बेलायतको जनमत र राजनैतिक दल मध्यपूर्वको यो द्वन्द्वमा विभाजित छन् ।
बेलायतमा प्यालेस्टिनी जनताको समर्थनमा हुने प्रदर्शनहरूप्रति पुलिस नरम देखिएको र राष्ट्वादी भनिने ’इजरायल समर्थक’हरूको प्रदर्शनप्रति भने कड़ा व्यवहार देखाएको आरोप लगाएपछि गृहमन्त्री सुएला ब्राभरमेनको कड़ा आलोचना भएको थियो । बेलायतको सार्वजनिक मिडिया बिबिसिले हमासलाई आतङ्ककारी नभनेर एउटा ’समूह’ मात्रै भनेकोमा समेत गृहमन्त्री रुष्ट थिइन् । प्रहरीको आलोचना गरेपछि उनी दबाबमा आइन् ।
केही दक्षिणपन्थीले समर्थन गरे पनि धेरैले उनको आरोपलाई मन पराएनन् ! प्यालेस्टाइनको समर्थनमा हुने प्रदर्शन रोक्ने चाहना राखेपछि गृहमन्त्रीमाथि पार्टीभित्रैबाट समेत दबाब बढ्दै गयो र अन्ततः उनी बर्खास्त भइन् ! प्रहरी र लण्डन मेयरले प्यालिस्टाइनको पक्षमा हुने प्रदर्शन रोक्न चाहेनन् । अप्रत्याशित रूपमा पूर्वप्रधानमन्त्री डेबिड क्यामरूनलाई नयाँ परराष्ट्रमन्त्री बनाइएको छ ।
अधिकांश पश्चिमी देशले शरणार्थीहरूलाई समेत नागरिकतासँगै पूर्ण नागरिक हक दिने हुनाले त्यहाँका संसदसम्म होइन, सरकारमैं पनि तिनको पहुँच पुग्ने क्रम बढ्दो छ । बेलायतमैं लण्डन मेयर सादिक खानदेखि बेलायती प्रधानमन्त्री ऋषि सुनकमात्रै होइन, पूर्वगृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म विदेशी मूलका व्यक्तिहरू कार्यकारी भूमिकामा पुगेका छन् । यो क्रम बढ्दै जाँदा पश्चिमी देशको परराष्ट्रनीतिमा समेत व्यापक फेरबदल आउन सक्ने देखिन्छ । इराक युद्धपछि तत्कालीन सत्ताधारी दल लेबरको लोकप्रियता ओरालो लागेको मात्रै होइन, आजसम्म ऊ पुरानो विरासत फर्काउन अक्षम भयो । शक्तिशाली भएर पनि तत्कालीन प्रधानमन्त्री बेलायती समाजमा लोकप्रिय रहेनन् । विभिन्न डायस्पोरा विचार निर्णाण तहमा पुग्नु र राष्ट्रिय बहसमा तिनले प्रभाव पार्नुको उदाहरण यो पनि थियो । अहिले स्थिति धेरै फेरिइसकेको छ । नेपाली डायस्पोरा पनि विश्वभर फैलिँदो मात्रै होइन, नीतिनिर्माण तहमैं पनि पुग्दो छ । भोलि नेपालमाथि हुने वैश्विक या छिमेकी गतिविधिमा विश्वको धारणा निर्माण गर्न यस्तो डायस्पोरा निकै उपयोगी बन्न सक्छ !


