+

मजदुरहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘छिटै ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ’

१८ बैशाख २०८२, बिहीबार १०:२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्ग समाज परिवर्तनको आधार र विकासको प्रणेता रहेको बताएका छन् । आज (बिहीबार) १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको बताए ।

उनले जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नसकेको हुँदा संविधानमै समीक्षा आवश्यक रहेको बताए । उनले ठेक्दारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिकविरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे ।

राम्रो काम गर्दा गर्दै सरकारबाट हट्नु परेको बताउँदै उहाँले माओवादी नेतृत्वको सरकारबाट भएका राम्रा कामहरूको चर्चा गरे । उनले सामाजिक सुरक्षाको विस्तार, मिटरब्याज पीडितको समस्या समाधानका लागि लिएको पहल कदमी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाअन्तर्गत ल्याउने पहललगायतका कार्यलाई श्रमजीवी वर्गको हितमा माओवाअदीले गर्न खोजेका उल्लेखनीय कामहरु जानकारी गराए । ‘हामीले जनयुद्धमा श्रमिक वर्गसँग गरेको अपिल र उनीहरूको त्यागअनुसार काम गर्न सकेनौं कि भन्ने आत्मसमीक्षा गरेका छौं,” प्रचण्डले भने ।

उनले भ्रष्टाचारविरुद्धको संघर्ष, तराई मधेसलगायतका अभियानमा जनताको दुःख देखेर गरिएको आत्मसमीक्षा र जनता आफ्नो वर्गसँगको सम्बन्ध सुधारको अभियानलाई पार्टीभित्र गम्भीर रूपले अघि बढाइएको बताए । झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उनले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गरे । ‘राम्रो काम गर्दा गर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारियो,’– उनले भने ।

जनताको पक्षमा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नयाँ आन्दोलनका लागि तयार रहनसमेत उनले आग्रह गरे । उनले भ्रष्टाचारको प्रमुख कारक शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका कुरा रहेको बताए । यी व्यवस्थामा परिवर्तन गर्न ठूलो आन्दोलन आवश्यक रहेको प्रचण्डको धारणा थियो । ‘तपाईँहरु अब राम्रो तयारीमा जानुस् । छिटै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ । अब हामी फेरि एकचोटी यथास्थितिवादी पार्टीहरुसँग मिलेर सरकारमा जाने कुनै रुचि हामीलाई छैन । हामी जनतासँगै ठीक छौं, हाम्रो वर्गसँगै ठीक छौं,’– उनले भने ।