+

सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधि अनिवार्य : सञ्चारमन्त्री

१९ बैशाख २०८३, शनिबार १२:२१

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन्।

नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधिको भूमिका अपरिहार्य भइसकेको उल्लेख गरेका हुन् ।

‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ भन्ने मूल नारासहित मनाइँदै गरेको दिवसका सन्दर्भमा मन्त्री तिमिल्सिनाले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको उल्लेख गरे। यस लक्ष्य प्राप्तिका लागि आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।

मन्त्री तिमिल्सिनाले नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार गरिँदै आएको बताए।

साथै नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत संरचनामा सुधारलाई तीव्रता दिइएको जानकारी दिए।

सरकारले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डेटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इञ्जिनका रूपमा स्थापित गर्ने लक्ष्य सरकारको रहेको उनले स्पष्ट पारे ।

डिजिटल रूपान्तरण सरकारको मात्र प्रयासले सम्भव नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी क्षेत्र, प्राज्ञिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम, प्रविधि समुदाय तथा नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए। समृद्ध, आधुनिक र डिजिटल नेपाल निर्माणको साझा यात्रामा सबैलाई हातेमालो गर्न उनले आह्वानसमेत गरे ।