+

चुडामणि शर्माविरुद्धका भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकियाे

१५ बैशाख २०८३, मंगलवार १२:००

काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध गैरकानुनी रुपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावट सम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला इजलासमा उक्त मुद्दा सुनुवाइ हुन लागेको हो ।

कर फर्छ्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको थियो । यो मुद्दामा विशेष अदालतबाट यसअघि चूडामणि शर्मासहितलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो । शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप थियो ।

विशेष अदालतले दोषी ठहर गरेपछि उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल सर्वोच्च अदालत पुगेका थिए ।

२०८२ असार २५ मा सर्वोच्चका न्यायाधीशहरु सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वच्छ सुनुवाइमा प्रश्न उठाउँदै विशेष अदालतको फैसला त्रुटिपुर्ण भएको औल्याउँदै गर्दै पुन सुनुवाइ गर्न भन्दै सो मुद्दा विशेष अदालतमा फर्काइदिएको थियो । त्यसपछि विशेष अदालतमा यो मुद्दा पुन सुनुवाइ हुन लागेको हो ।