काठमाडौं । विकसित पछिल्लो राजनीतिक तथा न्यायिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ।
नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार पछिल्ला घटनाक्रमहरूका कारण न्यायलय र संसदबीच देखिएको संवेदनशीलतालाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो।
विशेष गरी सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले लामो समयदेखि रोकिएका केही रिट एवं निवेदनहरू तत्काल दर्ता गर्न र मंगलबारकै लागि पेसी तोक्न न्याय प्रशासनलाई निर्देशन दिएकी थिइन्। कामु प्रधानन्यायाधीशको उक्त आदेश सार्वजनिक भएलगत्तै राजनीतिक वृत्तमा यसको तरंग पैदा भएको छ।
सोमबार नै बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू समीक्षा बास्कोटा र यज्ञमणि न्यौपाने लगायतले उक्त कदमप्रति संसदमा गम्भीर आपत्ति जनाएका थिए।
“कामु प्रधानन्यायाधीशले जारी गरेको आदेश, त्यसको परिपालना र सोही विषयलाई लिएर प्रतिनिधिसभामा केही माननीय सांसदहरूले व्यक्त गर्नुभएको धारणा लगायतका विषयमा गम्भीरतापूर्वक छलफल गर्न आकस्मिक बैठक डाकिएको हो,” अध्यक्ष डा. मिश्रले बताए ।


