+

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानार्कषण

५ जेष्ठ २०८३, मंगलवार १२:५३

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानार्कषण गराएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद घतानीले माइतीघरमण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार ? भन्दै सत्याग्रह धर्ना बसेको जानकारी गराइन् । “यो केवल कोठाको विषय मात्रै नभई दलित समुदायमाथि वर्षौंदेखि थोपरिँदै आएको निषेध विभेद र बहिष्कारविरुद्ध उठेको समाजको यर्थाथ प्रश्न हो”, उनले भनिन्, “यो राज्यमा दलित समुदायका लागि समान र सम्मानको अवस्था किन अझै छैन भन्ने प्रश्न पनि हो ।”

सांसद घतानीले संविधानमा समता, सामाजिक न्याय, दलितको हक र छुवाछुतमुक्त राष्ट्रसमेत घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन फिलतो रहेको बताइन् । उनले स्नातककोत्तर पढ्न आएका किरण विकलाई घरबेटीले जात थाहा पाएपछि डेराबाट निकालेको र अन्तिममा सुदूरपश्चिम घर फर्किन बाध्य भएको यथार्थ घटना संसद्मा सुनाइन्।

सांसद घतानीले दलित समुदायको डेरा, शिक्षा, रोजगार, सार्वजनिक जीवनमा हुने विभेदको व्यवहारिक रुपमा अन्त्य गर्न सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले दलितको मुद्दा मानवसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को विषय भएकाले मानवअधिकारको संरक्षण गर्न सरकारलाई अनुरोध गरिन् ।