काठमाडाैं। सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारी नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ।
विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना प्रकाशित गरी ती पदहरूमा खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो।
समितिले यही जेठ ११ गते स्वीकृत गरेको “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम यो दरखास्त आह्वान गरेको जनाएको छ।
इच्छुक र योग्य व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको लिंक मार्फत अनलाइन दरखास्त दिन सक्नेछन्।
विश्वविद्यालयको नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली (मेरिटोक्रेसी) र प्रक्रियागत निष्पक्षतालाई सुदृढ बनाउन पहिलोपटक यस किसिमको विशेष कार्यविधि बनाएर पदाधिकारी छनोट गर्न लागिएको हो।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १६ क बमोजिम विश्वविद्यालयका कुलपतिबाट सिफारिस समिति गठन भएको थियो।
उच्च शिक्षाको क्षेत्रमा लामो अनुभव भएका योग्यतम व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न उम्मेदवार छनोटका विधि, आधार र प्रक्रियाहरू कार्यविधिमा स्पष्टसँग तय गरिएका छन्।
कार्यविधि अनुसार समितिले उम्मेदवारहरूबाट पेस भएका योग्यता, अनुसन्धानमूलक लेख, विश्वविद्यालयसम्बन्धी शोधपत्र तथा विश्वविद्यालयको चार वर्षे रणनीतिक कार्ययोजनाको मूल्यांकन गर्नेछ।
यसका साथै उम्मेदवारले गर्ने प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा उपलब्ध भएसम्म क्रमशः तीन–तीन जना उम्मेदवार छनोट गरी योग्यता क्रमका आधारमा नियुक्तिका लागि सिफारिस गरिनेछ।
उपकुलपतिको हकमा ऐनको दफा १६ को उपदफा ३, शिक्षाध्यक्षको हकमा दफा १७ को उपदफा १ र कुलसचिवको हकमा दफा १८ को उपदफा १ बमोजिम नियुक्तिका लागि सिफारिस गरिने कानुनी प्रावधान छ।
कार्यविधिमा उपकुलपति र शिक्षाध्यक्ष छनोटका लागि कूल १०० पूर्णांकको मूल्यांकन विधि तय गरिएको छ, जसमा प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अंक विभाजन गरिएको छ। मूल्यांकनका क्रममा अत्यधिक कम वा धेरै अंक दिँदा छनोट समितिले त्यसको स्पष्ट कारण खुलाउनुपर्ने विशेष व्यवस्थासमेत गरिएको छ।
यसपटक लागू गरिएको नयाँ कार्यविधिले उपकुलपति बन्नका लागि कम्तीमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेको हुनुपर्ने अनिवार्य सर्त राखेको छ।
यसका साथै कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक अनुभव भएको, उच्च नैतिक चरित्र भएको र कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणासहित आफ्ना लेखरचना प्रकाशन गरेको भए सोको प्रतिलिपि पेस गर्नुपर्नेछ।
उम्मेदवारले बढीमा पाँच हजार शब्दसम्मको नेपाल संस्कृत विश्वविद्यालयसम्बन्धी विशेष शोधपत्र र विश्वविद्यालय विकासका लागि आफ्नो चार वर्षे रणनीतिक कार्ययोजना अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
यस्तै, कुलसचिव पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर (एमए) उपाधि प्राप्त गरेको हुनुपर्नेछ भने उच्च शिक्षामा प्राविधिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा १० वर्षको अनुभव भएको प्रमाण पेस गर्नुपर्नेछ।
कुलसचिवका उम्मेदवारले पनि बढीमा पाँच हजार शब्दसम्मको विश्वविद्यालयसम्बन्धी शोधपत्र र आफ्नो चार वर्षे रणनीतिक कार्ययोजना पेस गर्नुपर्ने नियम बनाइएको छ।


