काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन र प्रदर्शनकारीलाई सुरक्षाफौज विरुद्ध उक्साउन ‘तिब्बतीयन ओरिजन ब्लड’ (टिओबी) भनिने समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ । आयोगले सो समूहमाथि सूक्ष्म अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई सिफारिस गरेको छ ।
छानबिन प्रतिवेदन अनुसार, शान्तिपूर्ण भनिएको आन्दोलनलाई ‘हाइज्याक’ गर्न र भीडलाई उत्तेजित बनाउन टीओबी समूह सुनियोजित रूपमा परिचालन भएको देखिएको हो ।
आन्दोलनका क्रममा बानेश्वरस्थित एभरेस्ट होटल अगाडि ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा ‘टीओबी’ नै लेखिएको ट्याटु खोपेका १५ देखि २० जनाको ‘बाइकर ग्रुप’ देखा परेको थियो । यो समूहले शान्तिपूर्ण रूपमा भेला भएका जेनजी युवा र विद्यार्थीहरूलाई सुरक्षा घेरा तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न र संसद् भवनतर्फ अगाडि बढ्न निरन्तर उक्साएको पाइएको छ ।
आयोगको छानबिनले टीओबी समूहले नवयुवा र विद्यार्थीहरूलाई अगाडि सारेर उनीहरूलाई मानव ढालका रूपमा प्रयोग गरेको र आफूहरू पछाडि बसेर सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा तथा आक्रमण गरेको गम्भीर तथ्य फेला पारेको छ । प्रतिवेदनमा भनिएको छ, ‘टीओबी समूहले आन्दोलनलाई कब्जामा लिई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्न योजनाबद्ध रूपमा उक्साएको देखिन्छ ।’
आयोगले टीओबी समूहका व्यक्तिहरूको पहिचान, उनीहरूको उद्देश्य र आन्दोलनका आयोजकहरूसँग उनीहरूको के–कस्तो सम्बन्ध थियो भन्ने विषयमा हालसम्मको अनुसन्धानबाट स्पष्ट नभएको जनाएको छ ।
त्यसैले, सिफारिस खण्डको बुँदा १४ (क) मा आयोगले भनेको छ : ‘माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी कार्यक्रम राखिएकोमा सो भीडलाई उक्साउने र संसद् भवनको सुरक्षामा रहेका सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साउने टीओबी समूह तथा अन्य व्यक्तिहरूको बारेमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनू ।’


