काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग स्पष्टीकरण माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति अध्यक्ष घिसिङले कडा प्रतिक्रिया जनाएका हुन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले प्रधानमन्त्रीको यो भनाइ अत्यन्त गम्भीर, संवेदनशील र राष्ट्रिय हित विपरित रहेको उल्लेख गरेका छन्।
नेपाल–भारत सीमा विवाद ऐतिहासिक र संवेदनशील विषय भएको स्मरण गराउँदै अध्यक्ष घिसिङले नेपालले सधैँ ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो बलियो अडान राख्दै आएको बताए।
“एक सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसद् जस्तो सर्वोच्च लोकतान्त्रिक मञ्चबाट नेपालले पनि भारतको भूमि मिचेको भनी गैरजिम्मेवार अभिव्यक्ति दिनु निन्दनीय छ,” घिसिङले भने, “यस्तो हलुका टिप्पणीले सीमा विवादमा नेपालले उठाउँदै आएको वैध दाबी र राष्ट्रिय अडानलाई अन्तर्राष्ट्रिय स्तरमै कमजोर बनाउने तथा भ्रम सिर्जना गर्ने जोखिम रहन्छ।”
राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारको धारणा सधैँ स्पष्ट, जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्नेमा उनले जोड दिएका छन्।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहबाट यस्तो आत्मघाती अभिव्यक्ति आउनुले थप प्रश्न र गम्भीर आशंका जन्माएको अध्यक्ष घिसिङको भनाइ छ।


