काठमाडौं । चितवनबाट अपहरणमा परेका एक जना बालकको उद्धार भएको छ ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार गरेको हो ।
अपहरण गरी काठमाडौं ल्याइएकाे गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने पाँचैजना भारतीय नागरिक रहेका छन् । भारतको बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षकै गोलुकुमार सोनी, १८ वर्षकै गोलु कुमार, १८ वर्षकै बिक्कि कुमार र १८ वर्षकै मोहम्मद साहिद रहेका छन्।
सोमबार बेलुकी ६ः३० को समयमा नारायणगढबाट ५–६ जनाको समूहले १६ वर्षीय रिसब गुप्तालाई अपहरण गरेको थियो । उनीहरूले बालक रिसबलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए । उनीहरू अपहरित बालकसहित गोङ्गबु, नयाँ बसपार्कस्थित होटल फेमिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
त्यहाँ बसेर अपहरणकारीले रिसबका बुबासँग २२ लाख रुपैयाँ फिरौती मागिरहेका थिए । प्रहरीले असार २ गते दिउँसो ४ बजेतिर बालकको सकुशल उद्धार गरेको थियो। सोही होटलबाट अपहरणमा संलग्न ५ भारतीय पनि पक्राउ परेकाे अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीले जानकारी दिए ।
उनीहरुलाई थप अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको उनले बताए।


