+

विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा: युरोपका ६ टोली अन्तिम आठमा

२४ असार २०८३, बुधबार ०७:००

काठमाडौं। उत्तर अमेरिकाका तीन राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको २३औं संस्करणको फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल समीकरण पूर्ण रूपमा तयार भएको छ।

बुधबार बिहान क्यानडाको भ्यानकुभरमा सम्पन्न अन्तिम १६ को अन्तिम खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगाे लागेको हो।

यस पटकको क्वाटरफाइनलमा युरोपेली महाद्वीपको स्पष्ट वर्चस्व देखिएको छ, जहाँबाट सर्वाधिक ६ टोली अन्तिम आठमा पुग्न सफल भएका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ टोलीले मात्र आफ्नो यात्रा सुरक्षित गरेका छन्।

यस क्रममा कीर्तिमानी पाँच पटकको विजेता ब्राजिल, क्रिस्टियानो रोनाल्डोको पोर्चुगल तथा आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिको अन्तिम १६ को प्रहार खप्न नसकी घर फर्किएका छन्।

यस पटकको प्रिक्वाटरफाइनल चरण फुटबल इतिहासकै निकै रोमाञ्चक, चुनौतीपूर्ण र नाटकीय बन्यो। पहिलो खेलमा अफ्रिकी पावरहाउस मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले स्तब्ध पार्दै लगातार दोस्रो पटक विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो।

अर्कोतर्फ साविक उपविजेता फ्रान्सले कप्तान किलियन एमबाप्पेको पेनाल्टी गोलको मद्दतले जायन्ट किलर पाराग्वेलाई १-० ले पाखा लगायो। वर्तमान विश्व फुटबलका निकै घातक स्ट्राइकर एर्लिङ हालान्डले अन्तिम समयमा दुई गोल गरेपछि नर्वेले ब्राजिललाई २-१ ले हराएर पहिलो पटक क्वाटरफाइनलमा ऐतिहासिक स्थान बनायो, जसका कारण ब्राजिल ३६ वर्षपछि पहिलोपटक क्वाटरफाइनल अगावै बाहिरिन पुग्यो।

यस्तै, १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ को रोमाञ्चक खेलमा हरायो भने स्पेनले मिकेल मेरिनोको इन्जुरी समयको गोलको मद्दतले छिमेकी पोर्चुगललाई १-० ले पराजित गर्‍याे। बेल्जियमले घरेलु टोली अमेरिकालाई ४-१ को फराकिलो अन्तरले हराउँदा साविक विजेता अर्जेन्टिनाले दुई गोलको सहज स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पाखा लगाएर आफ्नो उपाधि रक्षाको यात्रा जीवितै राख्यो।

अब एक दिनको विश्रामपछि नेपाली समयअनुसार आगामी साउन २५ गते (जुलाई १०) देखि क्वाटरफाइनलका खेलहरू सुरु हुनेछन्। पहिलो खेलमा साविक उपविजेता फ्रान्स र २०२२ को सेमिफाइनलिस्ट मोरक्को भिड्नेछन्, जुन खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ।

यी दुई टोली कतार विश्वकपको सेमिफाइनलमा भिडेका थिए, जहाँ फ्रान्स २-० ले विजयी भएको थियो। दोस्रो क्वाटरफाइनलमा साउन २६ गते (जुलाई ११) राति पौने १ बजे सन् २०१० को विजेता स्पेन र बेल्जियम आमनेसामने हुनेछन्। स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि अन्तिम आठमा पुगेका हुन्।

तेस्रो क्वाटरफाइनलमा साउन २७ गते (जुलाई १२) बिहान पौने ३ बजे पहिलो पटक यहाँसम्म आइपुगेको नर्वे र सन् १९६६ को पूर्वविजेता इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा साउन २७ गते नै बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिनाले ७२ वर्षपछि क्वाटरफाइनल पुगेको स्विट्जरल्यान्डको सामना गर्नेछ। ६४ वर्षपछि लगातार दोस्रो पटक विश्वकप उपाधि रक्षा गर्ने दाउमा रहेको अर्जेन्टिनाका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।

टोलीहरूको उपाधि भिडन्तसँगै खेलाडीहरूबीच व्यक्तिगत विधाको सर्वोच्च पुरस्कार ‘गोल्डेन बुट’ का लागिसमेत तीव्र प्रतिस्पर्धा चलिरहेको छ। जारी विश्वकपका सबै ५ खेलमा लगातार गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी ८ गोलसहित शीर्ष स्थानमा रहेका छन्।

उनलाई फ्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले समान ७-७ गोलका साथ कडा चुनौती दिइरहेका छन्, जसमा एमबाप्पेले २ वटा असिस्टसमेत गरेका छन्। हालान्डले पनि आफूले खेलेका सबै खेलमा गोलको लय समातेका छन्।

यी तीन महाशक्तिलाई इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोलका साथ पछ्याइरहेका छन्। क्वाटरफाइनलमा हालान्डको नर्वे र केनको इंग्ल्यान्ड एकापसमा भिड्ने भएकाले यी दुई गोलमशिनमध्ये एक जना प्रतियोगिताबाट बाहिरिने निश्चित छ, जसले गोल्डेन बुटको होडलाई अझ रोचक मोडमा पुर्‍याएको छ। यस्तै, ४-४ गोल गरेका फ्रान्सका उसमान डेम्बेले र स्पेनका मिकेल ओयाजाबाल पनि यस प्रतिष्ठित अवार्डको दौडमा अप्रत्याशित दाबेदारका रूपमा उभिएका छन्।