सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई शपथ ग्रहण गराएका हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको बहुमत आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेसका १५, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका १ जना सांसद रहेका छन्। कर्णालीमा नेकपा र एमाले मिलेर स्पष्ट बहुमत (२४ सांसद) पुर्याएका छन्।
गत साउन ९ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको प्रदेश सरकारको नेतृत्व बाँडफाँटसम्बन्धी सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व नेकपाले पाएको हो। सोही राजनीतिक सहमति र दलहरूको सिफारिसका आधारमा शाही प्रदेशको मुख्यमन्त्री बनेका हुन्।


