No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति सी ले भने-नेपालको विकासमा खुल्ला दिलले सहयोग गर्न चीन तयार छ

0

हाङ्झाओ (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भेटवार्ता भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गरेका हुन् ।

वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।

यस्तैगरी राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधिमण्डलसँग सामूहिक रुपमा समेत गरी एक घण्टा लामो वार्ता भएको थियो । वार्तामा राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदभावविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाईमा पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नविनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए ।

उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरे । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गरे ।

राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताकारुपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्वन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताए ।

प्रकाशित: ६ आश्विन २०८०, शनिबार १३:२९

Leave a Reply