No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सात काम गर्न कांग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । कांग्रेसले दुई महामन्त्रीलाई बुधबारदेखि भूकम्प प्रभावित क्षेत्रमा खटाएको हो ।

महामन्त्रीद्वय नेतृत्वमा गठन भएको समितिले उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन गर्नेछ । महामन्त्रीद्वयको नेतृत्वमा रहेको समितिले जाजरकोट र पश्चिम रुकुम पुगेर सात बुँदे कार्यमा ध्यान केन्द्रित गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

यस्ता छन् सात बुँदे कार्य

(१) उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचार माध्यम मार्फत उजागर कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।

(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरु बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण ।

(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउने ।

(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भुमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनस्र्थापनामा सम्पादन गर्नुपर्ने बिषयहरुको अध्ययन गर्ने ।

(५) घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भुकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई बिशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

(७) पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रुपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आईपर्न सक्छन्, सरोकारवालाहरुको सुझाबहरु के के छन्, आदि बिषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार ०५:५२

Leave a Reply