No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनमा पूर्वनौसेना प्रमुख रक्षामन्त्रीमा नियुक्त

0

 

चीनले शुक्रबार पूर्वनौसेना कमान्डर डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीमा नियुक्त गरेको  छ । अक्टोबरमा ली साङ्फुलाई आश्चर्यजनकरूपमा हटाइएपछि उत्पन्न भएको रिक्ततालाई डोङको नियुक्तिले पूर्ति गरेको छ ।

चीनले आगामी महिना राष्ट्रपति निर्वाचन हुनुअघि ताइवानको स्वशासित टापुमा बेइजिङले सैन्य दबाब बढाइरहेको समयमा डोङको पदोन्नति भएको छ । सरकारी समाचार समिति सिन्ह्वाले डोङलाई चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिको बैठकमा नियुक्त गरिएको जनाएको छ ।

बेइजिङले सात महिनाको जिम्मेबारीपछि लीलाई हटाउनुको कुनै आधिकारिक कारण बताएको छैन । उनको निष्कासन मुलुकको सैन्य प्रतिष्ठानमा उच्चस्तरीय पदअवनतिको शृङ्खलामध्येको एक थियो ।

सिन्ह्वाका अनुसार बेइजिङको शीर्ष राजनीतिक सल्लाहकार समितिबाट प्रमुख चिनियाँ क्षेप्यास्त्र रक्षा कम्पनीका तीन कार्यकारीलाई हटाइएको छ । कथित भ्रष्टाचारविरुद्ध लड्नु चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनको केन्द्रीय विषय बनेको छ ।

हालैका महिनाहरूमा बेइजिङको आणविक हतियारको निरीक्षण गर्ने सेनाको एकाइका रूपमा रहेको गोप्य रकेट फोर्सको नेतृत्वमा पनि परिवर्तन भएको देखिएको छ । यसका पूर्वप्रमुखसँग सम्बन्धित भ्रष्टाचारको अनुसन्धानको मिडिया रिपोर्टहरू आएपछि नेतृत्वमा परिवर्तन गरिएको हो ।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार १५:२४

Leave a Reply