No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

0

लुम्बिनी । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले जानकारी दिए ।

नेपाल भ्रमणका क्रममा बुधबार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारीपत्रमा हस्ताक्षर गरे । यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गरेको थियो । उक्त समझदारीपत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गरे ।

तीनवटै चेम्बरसँग भएका समझदारीमा एकअर्काबीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरममा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तक्र्रियालाई नियमित बनाउने, अनुभवको आदानप्रदान गर्ने तथा व्यावसायिक भ्रमण गर्ने समझदारी छ । समझदारीमा लुम्बिनी प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको प्रवद्र्धनका लागि सहयोग गर्ने सहमतिसमेत भएको छ ।

समझदारीपछि अनुभव आदानप्रदान गर्दै लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेलले यहाँ पर्यटन, कृषिलगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको जनाउँदै आफूहरु यहाँको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राखे।

कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले क्यानडाबाट लुम्बिनी भ्रमणमा आएका पाहुनालाई लुम्बिनीको महत्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिए ।

कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका नायब महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आह्वान गरे।

क्यानडाका तर्फबाट सहभागी प्रतिनिधिले पनि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रवद्र्धनका लागि आफूहरु सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सबै मिलेर प्रवद्र्धन गर्न र लाभ लिन सकिने बताए।

हिन्दू चेम्बर अफ कमर्स क्यानडाका अध्यक्ष चावडाले लुम्बिनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफूलाई लोभ लागेको बताए । चेम्बर लुम्बिनीसँगको समझदारीलाई नयाँ उचाइमा पुर्याउन आफू तत्पर रहने प्रतिक्रिया दिए  । आगामी दिनमा लुम्बिनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफूहरुको चाहना रहेको बताउँदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकलाई सिधै लुम्बिनी भ्रमणका लागि आह्वान गर्न सजिलो हुने धारणा राखे।

प्रकाशित: १९ पुष २०८०, बिहीबार ०५:२४

Leave a Reply