No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजसंस्थाको अपमान गरेको आरोपमा थाइल्याण्डमा एकजनालाई ५० वर्षको जेल सजाय

0

राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ । थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो ।

तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनी ३० वर्षका भए । बिहीबार पुनरावेदन अदालतले उक्त सजायमा २२ वर्ष थपेको हो ।

थाईल्यान्डमा ’लीज म्याजस्टी’ कानुनले राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। तर त्यसको चर्को आलोचना हुँदै आएको छ । थाईल्यान्डमा १० वर्षमा पहिलो पटक गत वर्ष निर्वाचित सरकार गठन भएको भए पनि उक्त कानुनले निरन्तरता पाएको छ ।

बिहीबारको सुनुवाइपछि न्यायाधीशले सहयोगी व्यवहारका कारण आफूले तिराकोटको सजाय एकतिहाइले घटाइदिएको बताए । चियाङराई प्रान्तका तिराकोट अनलाइन माध्यमबाट कपडा व्यापार गर्थे ।

उनीमाथि किन त्यति कठोर सजाय सुनाइयो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन तर न्यायाधीशले फेसबुकमा धेरै प्रतिक्रिया लेखिएकोतिर सङ्केत गरेका छन्। थाई अदालतले प्रत्येक पोस्टका लागि थप सजाय दिने अभ्यास गर्दै आएका छन् ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ०६:२४

Leave a Reply