No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

0

कर्णाली । १५ वर्षअघि कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति पाएको छ । प्रहरीका अनुसार अदालतले शुक्रबार पक्राउ अनुमति दिएको हो ।

किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका पञ्चा सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पक्राउ अनुमति लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेको बताए । सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका हत्या गरिएको थियो ।

हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए। जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन। मृतकका बुवा नन्दबहादुरले १५ वर्षदेखि अदालत र प्रहरी कार्यालय धाउँदा पनि न्याय पाउन नसकेको बताए ।

प्रकाशित: ७ माघ २०८०, आईतवार १३:२०

Leave a Reply