No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केन्याली धावकलाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

0

 

कास्की ।  पोखरामा शनिबार सम्पन्न १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन् । नेपाली खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकले उपाधि चुमेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर नगद  पाँच लाख पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, केन्याकै अर्का धावक इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्डमा दौड पूरा गरेर उपविजेताको पुरस्कार हासिल गरे । पुरस्कारको राशि  तीन लाख  रुपैयाँ छ ।

अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय हुँदै  दुई लाख पुरस्कार प्राप्त गरे । नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा समेटिए । उनले उक्त दूरी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा पूरा गरेका थिए । प्रोत्साहनस्वरुप उनलाई ३० हजार नगद  पुरस्कार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय भए । यसैगरी, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले निर्धारित २१ किलोमिटर एक घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गर्दै नगद एक लाख ५० हजार प्राप्त गरिन् ।

केन्याली अवीजल जेरोप एक घण्टा १९ मिनेट दुई सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो हुँदा राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरिन् । नेपालकी फूलमती रानाले एक घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गरिन् ।

पुरुष १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेन्डमा दूरी पार गरी टङ्कबहादुर कार्की प्रथम, सुवास कार्की द्वितीय हुँदा ३२ मिनेट ३७ सेकेन्डमा पार गरे । तृतीय भएका सञ्जीव नेपालीले ३३ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरे । प्रथम भएका कार्कीले  ३० हजार, द्वितीय भएका सुवासले  २० हजार र तृतीय भएका नेपालीले १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

महिला १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेन्डमा दूरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी सीमा चौधरी द्वितीय र ४४ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नम्रता गुरुङ तृतीय भए ।

यसैगरी, पाँच किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तृतीय भए । छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तृतीय हुन सफल भए ।

यसैगरी, पाँच किलोमिटर भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  नीमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पँगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

प्रतियोगिताको पाँच किलोमिटर छात्रछात्रा तथा भेट्रान दौडमा प्रथम हुनेलाई जनही १५ हजार, दोस्रोलाई जनही  १०  हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई जनही  सात हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार १०:५०

Leave a Reply