No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

0

विराटनगर । विराटनगरको सहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा न्युरोड टिम (एनआरटी) प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

शुक्रबार भएको रात्रिकालीन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई दुई–शून्य गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए ।

आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५औँ मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे ।

डिबक्सभित्र वैकल्पिक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पञ्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो ।

खेलको म्यान अफ द म्याच एनआरटीका आफिज ओलावा घोषित भए । उनले नगद ११ हजार पाए । शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गोल्डकपका अध्यक्ष शाहीले बताए ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार १७:३९

Leave a Reply