No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आइपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित

0

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो ।
मुम्बईलाई जिताउन इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय पारि खेल्दा रोहित शर्मा, हादिर्क पाण्ड्या र तिलक वर्माको पारि पनि उत्कृष्ट रह्यो ।

लक्ष्य पछ्याउने क्रममा इशान किशन र रोहित शर्माले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै बलियो सुरुआत गराए । ८.५ ओभरमा पहिलो विकेटको रुपमा इशान किसन ६९ रन बनाएर आउट भएका थिए । उनले ३४ बलमा ५ छक्का र ७ चौका प्रहार गरे ।

त्यसपछि रोहित र सूर्यकुमार मिलेर मुम्बईको रथ अघि बढाए । रोहित २४ बलमा ३४ रन बनाएर आउट हुँदा मुम्बईले ११.२ ओभरमा १३९ रन बनाएको थियो । रोहितले तीन छक्का र तीन चौका प्रहार गरे । त्यसपछि सूर्यकुमार र कप्तान हार्दिक पाण्ड्या मिलेर टिमलाई जित नजिक लगेका थिए । सूर्यकुमार १९ बलमा ५२ रनको अर्धशतकीय पारि खेल्दै आउट भए ।
सूर्यकुमारले १७ बलमै अर्धशतक पूरा गरेका थिए । उनले चार छक्का र पाँच चौका प्रहार गरे । कप्तान हार्दिक पाण्ड्या र तिलक बर्माले अन्त्यमा नटआउट पारि खेल्दै मुम्बईलाई सहज जित दिलाए । पाण्ड्याले ६ बलमा २१ रन बनाउँदा तीन छकका प्रहार गरे भने वर्माले १० बलमा १६ रन बनाउँदा तीन चौका प्रहार गरे । बेंग्लुरुका आकाश दीप, विजयकुमार र विल ज्याकले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लुरुको सुरुआत राम्रो भएन । स्टार क्रिकेटर विराट कोहली ३ रन बनाएर आउट हुँदा पहिलो विकेट १४ रनमा गुमेको थियो । त्यसपछि विल ज्याक ८ रन बनाएर आउट भएका थिए । कप्तान फाफ डु प्लेसिस र रजत पटिदार मिलेर बेंग्लुरुको पारि सम्हालेका थिए ।

पटिदारले २६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दै आउट हुँदा ११.३ ओभरमा १०५ रन बनेको थियो । पटिदारले आफ्नो पापिरमा चार चौका र तीन छक्का हिर्काए । ग्लेन म्याक्सवेल फेरि फ्लप भए । उनले खाता नै खोल्न सकेनन् । कप्तान प्लेसिस र दिनेश कार्तिकको जोडीले खेल अघि बढाउँदै टिमको स्कोर १५० प्लस बनाएको थियो । १५३ रन हुँदा कप्तान प्लेसिस ६१ रनको अर्धशतकीय पारि खेलेर आउट भएका थिए । उनले ४० बलमा तीन छक्का र चार चौका प्रहार गरे । त्यसपछि मेहिपल लोमरोरले खाता खोल्न सकेनन् भने सौरभ चौहार ९ रन बनाएर आउट भए ।

विजय कुमारले पनि खाता खोल्न असफल हुँदा अन्त्यमा दिनेश कार्तिक र आकाश दीप नटआउट रहे । कार्तिकले २३ बलमा ५३ रनको आक्रामक पारि खेल्दा चार छक्का र पाँच चौका प्रहार गरे । आकाश दीप भने २ रनमा नटआउट रहे । मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा गेराल्ड कोट्जी, आकाश भधवाल र श्रीयस गोपालले एक एक विकेट लिए ।
दोस्रो जित पछि मुम्बई ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लगातार हार व्यहोरेको बेंग्लुरु २ अंकका साथ नवौं स्थानमा छ ।

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार ०३:३१

Leave a Reply