No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगञ्ज महानगरपालिकाद्वारा ९ महिनामा ३६ करोड राजस्व सङ्कलन

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।

“गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ”, उनले भने । गत आवको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गर्यो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए ।

“नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ”, उनले भने, “ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।”

महानगरले चालु आव २०८०/८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो ।

महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार ०४:०५

Leave a Reply