म्यानमारको सैन्य शासकले त्यहाँका ४० राजनीतिक दलको वैधतालाई खारेज गरिदिएको छ । सेना प्रमुख मिन अङ लाइङले विरोधीलाई सिध्याइदिने धम्की दिएको केही दिनमै त्यहाँको जुन्ता शासकले राजनीतिक पार्टीहरूलाई खारेज गरिदिएको हो ।
नोबल शान्ति पुरस्कार पाएकी आङसाङ सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीको वैधता पनि खारेज भएको छ । अमेरिकाले सैन्य शासकको यस्तो गतिविधिको विरोध जनाएको छ ।
सेना नियन्त्रित निर्वाचन आयोगकका अनुसार सूचीको पार्टी र अन्य पार्टीहरूले सैन्य शासनअनुसार पार्टी पुनः दर्ता नगरेका कारण उनीहरूको वैधता खारेज गर्नु परेको हो ।
सन् २०२१ फेब्रुअरीमा सूचीको पार्टीको सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएको थियो । यतिबेला सेनाले चुनावको आह्वान त गरेको छ तर त्यहाँ चुनाव लड्ने पार्टीहरू खारेज भएपछि यस कार्यलाई सेनाको सत्तामै बस्ने चाहनाको रूपमा हेरिएको छ ।
केही दिनअगाडि मात्र सैन्य सरकारका प्रमुख जनरल मिन अङ लाइङले सैनिक शासनको विरोध गर्नेहरू आतंकवादी भएको बताएका थिए ।