+

कांग्रेस उपसभापतिको प्रश्नः प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको धारणा के हो ?

१७ जेष्ठ २०८३, आईतवार २१:३६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको प्रधानमन्त्रीले कुनै पनि अभिव्यक्ति दिनुअघि धेरै पटक सोच्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उपसभापति शर्माले कूटनीतिका विषयमा संयम हुनुपर्ने बताएका हुन् ।

शर्माले भनेका छन्, ‘देशको प्रधानमन्त्रीले कुनै पनि अभिव्यक्ति दिनुअघि धेरै पटक सोच्नुपर्ने हुन्छ । संवेदनशील कूटनीतिक विषयमा झन् संयम, परिपक्वता र जिम्मेवारी आवश्यक मानिन्छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा रास्वपालाई आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘सरकार बालेनको मत प्रधान कि ’व्यक्ति बालेन’ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौं ?’