काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूको तीव्र अवरोध, नाराबाजी र मर्यादापालकहरूसँगको चर्को धक्कामुक्कीका बीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित भएको छ।
आइतबार राति ढिलोसम्म चलेको तनावग्रस्त बैठकमा सभामुख डीपी अर्यालले हुटिङ र लफडाकै बीच उक्त प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन्। प्रतिवेदन पारित गरेलगत्तै सभामुख अर्यालले संसद बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।
बैठकमा मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रतिवेदनलाई निर्णयार्थ प्रस्तुत गरिरहँदा विपक्षी दलका सांसदहरू आक्रोशित हुँदै रोष्ट्रमतर्फ झम्टिएका थिए। सो क्रममा एमाले सांसद ऐन महर अन्य सांसदहरूको जिउमा चढेर रोष्ट्रमतर्फ अघि बढेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो। मर्यादापालकहरूले उनलाई रोकेका थिए।
विपक्षी सांसदहरूले नियमावलीलाई संसद्को पूर्ण बैठकबाट सिधै पारित नगरी दफावार छलफलका लागि संसदीय समितिमा पठाइनुपर्ने माग राख्दै आएका थिए। तर, सो मागको सुनुवाइ नभएको भन्दै उनीहरूले वेल घेराउ गरी कुर्सीसमेत तोडफोड गरेका थिए।
संसद्भित्र सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच ठूलो लफडा र धकेलाधकेल भए पनि सभामुखले बलियो सुरक्षा घेराबीच कार्यसूचीलाई अगाडि बढाएर प्रतिवेदन पारित गराएका हुन्।


