No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

समकालीन साथीहरु कसैलाई अवसरै अवसर दिँदा हामीलाई देख्दै नदेख्नु दुःखद हो !

0

मेनका पछाई ।
ठुलो उद्देश्य बोकेर लामो गतव्यको यात्रा तय गरेर राजनीतिमा १४ बर्षको स्कुले जीवनदेखि लागेको मान्छे हुँ, यो पटक पनि माननीय नहुँदा निरास छैन । यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अवसरै अवसर दिँदा हामीलाई देख्दै नदेख्नु दुःखद हो !

राजनीतिक पृष्ठभूमिको कुरा गर्दा मेरो बुवा नेकपा एमाले जुम्लाको संस्थापक नेतामध्ये एक हो जसको प्रत्यक्ष प्रभाव म मा परेर म राजनीतिमा लागेँ, त्यतिबेला ६,७ कक्षा पढ्दा गाउँ टोल पार्टीका कार्यक्रममा बुवाको आग्रहमा स्वागत भाषण गर्दै हिँड्थे, एमाले भएकै कारण २०५७ तिर हाम्रो परिवार माओवादीबाट लखेटिएर गाउँबाट जुम्ला बजारमा विस्थापित हुनपुग्यौं, २,४ बर्ष हामीले धेरै दुःखका दिन बितायौ, बुवाले सानो व्यबसाय गर्दै राजनीति गर्दै हामीलाई पढाउनुभयो २०६१ मा मैले एसएलसी पास गरेर नेपालगंज कक्षा ११/१२ पढ्दा अनेरास्वियुको क्याम्पस कमिटीको कोषाध्यक्ष भएर क्रियाशील राजनीति सुरु गरेँ र ब्याचलर पढ्न काठमाण्डू गएपछि २०६५मा अखिलको निर्वाचित केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिवालय प्रवास विभाग प्रमुख पनि भएँ ।

त्यसपछि अखिलको २१ औं महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा ३ भोटले पराजित भईयो भन्दा नि हराईयो क. जीवन राईलाई जिताए अहिले उहाँ समाजवादी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

त्यसपछि म अखिलबाट बिदा भएको बेला २०७० को संबिधान सभाको चुनावमा मैले थाहा नपाई केही नेताले मेरो नाम पिछडिएको क्षेत्रका हिसाबले संविधानसभा समानुपातिकमा सिफारिस गरेका रहेछन् । पछि नाम पेपरमा आएपछि मेलै थाहा पाएँ त्यतिबेला म २६ बर्षको थिएँ । पछि मलाई बच्चा भनेर अनेक टिप्पणी गरेर सुचीबाट नाम टीपेक्स लगाएर हटाईयो। त्यसपछी म जिल्ला गएर पार्टी जिल्लाको अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएर लगभग डेढ कार्यकाल जिल्ला पार्टी राजनीतिमा काम गरेँ । त्यसपछि पार्टीको प्रदेश कमिटी सदस्यको रुपमा काम गरेँ ।

२०७४ चुनावमा म कर्णाली प्रदेशको प्रदेससभा समानुपातिक परेँ । त्यतिबेला नी अर्को प्रदेशको रुकुमको देवी वलीलाई ल्याएर माननीय बनाइयो म परिन । अहिले देवी वली समाजवादी पार्टीको नेता हुनुहुन्छ । पछि नेकपा हुँदा म पार्टीको प्रदेश कमिटी सदस्य फेरि भएँ र अहिले पनि त्यही छु । २०७७ मा नेकपा विघठन भई एमाले बिउँतिदा र एमाले पनि विभाजन हुँदा जुम्ला जिल्ला एमाले शून्य अवस्थामा पुग्दा हामी दृढ भएर पार्टी बचाउने अभियानमा लाग्यौं ।

२०७८ मा नेकपा एमालेको ९ औ महाधिवेशनमा म जुम्लाबाट महाधिवेशन प्रतिनिधि भएँ । त्यतिबेला म साढे ८ महिनाको गर्भवती थिएँ । अधिवेशनमा जानका लागि मितिभन्दा २ हप्ता अगाडि डेलिभरी गराएँ । पछि स्वास्थ्य प्रतीकुल भएर अधिवेशनमा जान पाईनँ । त्यो बेला पनि धेरै मेरा समकालीनहरुले केन्द्रीय सदस्य पाउँदा म मनोनित पनि परिनँ ।

यसपालीको चुनावमा पनि दुधे बच्चा बोकेर जुम्लाको चिसोमा बच्चा बिरामी हुँदासम्म लागियो तेस्रो पार्टी पहिलो भयो तर प्राथमिकतामा पर्न सकिएन । म समानुपातिक उम्मेदवार भइरहँदा मलाई हौसला दिने, सरसहयोग गर्ने र पार्टीलाई पहिलो बनाउन मतदान गर्ने सम्पूर्ण जुम्लावासीलाई हार्दिक धन्यवाद, माननीय नभए पनि जनताको सुख दुःखमा अब झन् नजिक भएर काम गर्नेछु । यात्रा जारी छ ! समकालीन कसैलाई अवसरमाथि अवसर दिने कसैलाई भुइँबाट उठ्न नदिने, मलाई तीनपटक सूचीमा राखेर उपकार गर्ने हाम्रा नेतालाई धेरै धन्यवाद यसले गर्दा मलाई झन् परिपक्क बनाएको छ !

 

प्रकाशित: २५ मंसिर २०७९, आईतवार १७:०४

Leave a Reply