No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब नेपालको राजनीतिलाई बदल्न लाग्ने बेला भएन र ?

0

डा. युवराज संग्रौला ।

१. के तपाईंलाई थाहा छ ? संबिधानको धारा ११८ मा संविधानद्वारा संघीय संचित कोषको व्यवस्था गरेर राष्ट्रपति, प्रधानमन्त्री र मालीकहरु पाल्ने प्रवन्ध गरिएको छ । तर जनताको सामाजिक सुरक्षाको प्रत्याभूति संविधानमा कतै छैन । यो व्यवस्था नेतातन्त्र जन्माउने कुलीनतन्त्र हो। जुत्ताको साँचो जस्तो छ, जुत्ताको आकार त्यस्तै हुन्छ। आफ्ना नेतालाई सोध्ने आँट गर्नुहोस् । साठी किलोको माला किन लगाउनु भयो ? तपाई चढ्ने हेलिकप्टरको पैसा कसले दिन्छ? तपाईले चुनावमा गर्ने खर्च कसले दिन्छ ? एउटा अर्को कुरा पनि सोध्नुहोस् ‘मैले झन्डा बोकेको तपाइँ नेता भएको पार्टीको बिचारधारा के हो ?’

२. के तपाईंलाई थाहँ छ ? यो देशमा त्यस्ता व्यापारी छन् जो बैंकका संचालक समितिमा आफैं छन्, एकअर्काका बैंकबाट आफैंलाई ऋण दिन्छन्, उद्योग आफैं चलाउँछन् र सांसद पनि उनै हुन्छन् । उनीहरु नेतालाई पैसा दिन्छन् र नेताले उनलाई सांसद्को पद दिन्छन् । त्यसरी शक्ति र धनको विवाह हुन्छ र भ्रष्टाचार नामको सन्तान जन्मिन्छ।

३. के तपाइँलाई थाहा छ ? निर्यात होइन आयत बढाएर भान्सार र मूल्य अभिबृद्धि कर लगाएर राज्य धनी बनाइन्छ र त्यो धन संभ्रान्तले मोज गर्छन् । उनीहरु कागजमा धनीका पैसा गरीबलाई बाँडेर गरिबी घटेको बिवरण छाप्छन् । यो व्यवस्थालाई कुलीनतन्त्र भनिन्छ।

४. जब निर्वाचन हुन्छ, पैसाको झोला बोकेको नेता गाउँ जान्छ र भन्छ, म बाटो बनाउँछु तपाईंहरु भोट दिनुहोस् । जनता र नेताका बीचमा मोलतोल हुन्छ। यस्तो व्यवस्थाले ‘इन्ड्युस्ड डिभलपमेन्ट’ (राजनीति व्यापार निर्देशित विकास) लाई प्रेरित गर्छ। राष्ट्रिय विकासलाई खण्डित गर्छ। राजनीतिक व्यापार प्रवद्र्धन गर्ने राजनीतिक व्यवस्थाले जनतन्त्र होइन नेतातन्त्र निर्माण गर्छ। यस्तो व्यवस्थामा इन्द्रलाई नेता बनाएनि भ्रष्ट हुन्छ। लोकतन्त्र भित्र जनतालाई मालिक बनाउने हो नेतालाई मालिक बनाउने होइन। तपाई तपाईका नेतालाई सोध्नुहोस् ‘२०४८ साल देखि आजसम्म किन तपाईले मात्र सांसद हुने हो ? के तपाईं मालिक हो?’

अब नेपालको राजनीतिलाई बदल्न लाग्ने बेला भएन र ? राजनीति बदल्न जनतालाई मालिक बनाउने राजनीति बिचारधारा, राजनीति नैतिकता र समृद्धिका लागि आर्थिक विकासको रणनीति चाहिन्छ। अब नेतालाई प्रश्न सोध्न सक्ने क्षमाता जनतामा निर्माण गरौँ । बिचार बिनाको सांसद हुनु भनेको सत्ताकै पुजा हो। सत्ताको पुजा गर्ने कथित नंयाँबाट पनि देश बन्दैन ।

 

प्रकाशित: २८ मंसिर २०७९, बुधबार ०३:२०

Leave a Reply