No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

0

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ ।

महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए ।

महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्की बताउँछिन् ।

“कुन–कुन रुटमा कति साइज र क्षमताका बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिएका छौँ”, उनले भनिन्, “दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा ल्याउँछौँ ।”

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएको छ । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्कीको भनाइ छ । बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी छ ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । नगर बस सञ्चालनका लागि प्रमुख नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार ०४:१९

Leave a Reply