+

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

४ जेष्ठ २०८३, सोमबार १३:२०

काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध परेका सबै रिट निवेदनहरू तत्काल दर्ता गर्न आदेश दिएकी छन्।

सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेपछि त्यसविरुद्ध परेका निवेदनहरू लामो समयदेखि होल्ड गरेर राखिएका थिए। कामु प्रधानन्यायाधीश मल्लले सर्वोच्चका मुख्य रजिस्ट्रारका नाममा आदेश जारी गर्दै ती निवेदनहरू सोमबार दिउँसो १ बजेभित्र दर्ता गरी आफूलाई जानकारी गराउन निर्देशन दिएकी हुन्।

अधिवक्ता दिनेश त्रिपाठीलगायतले संवैधानिक परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा शर्मालाई गरेको सिफारिस बदर गर्न माग गर्दै रिट दायर गर्न खोजेका थिए। तर, प्रस्तावित प्रधानन्यायाधीश शर्माकै दबाबमा अदालत प्रशासनले ती निवेदनहरूलाई न्यायिक प्रक्रियामा अगाडि नबढाई रोकेर राखेको आरोप लाग्दै आएको थियो।

निवेदनहरू सुनुवाइ प्रक्रियामै नलगी रोकिएको भन्दै नेपाल बार एसोसिएसन र नागरिक समाजले समेत गम्भीर आपत्ति जनाउँदै आएका थिए।