नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाजपाका अध्यक्ष नेता नितिन नवीनसँग भेटवार्ता गरेका छन्।
नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा मंगलबार भएको उक्त भेटवार्तामा दुई देशका राजनीतिक दलहरूबीचको अनुभव आदानप्रदान र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहेर छलफल भएको हो।
रास्वपा सभापति लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा दुई देशका लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य, दलगत अनुभव र राजनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उपायहरूका बारेमा विस्तृत कुराकानी भएको थियो।
भाजपा मुख्यालय पुग्दा लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको थियो। सो क्रममा सभापति लामिछानेले भाजपा केन्द्रीय कार्यालयको विशेष अवलोकन समेत गरेका थिए।
मुख्यलयमा भएको औपचारिक छलफलका अतिरिक्त लामिछानेले भाजपाका अन्य वरिष्ठ नेताहरूसँग पनि भेटघाट र अनौपचारिक संवाद गरेका छन्। रास्वपा प्रतिनिधिमण्डल राजनीतिक सम्बन्ध विस्तार र अनुभव साझेदारीका लागि यतिबेला भारत भ्रमणमा रहेको छ।


