काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्तिले नेपालको पक्षलाई अझ बलियो बनाएको टिप्पणी गरेको छ।
मंगलबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन्।
नेपालको दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको कुरा आएको भन्दै उनले त्यसले सीमासम्बन्धी विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरे। महामन्त्री बुर्लाकोटीले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा रास्वपा स्पष्ट रहेको समेत बताए। प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने स्पष्ट पार्दै उनले विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध पार्न नहुने धारणा राखे।
महामन्त्री बुर्लाकोटीले भने, ‘अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको छ। त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो। र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नुभएको छ। त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ। कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ। कूटनीतिक तवरबाट पहल गर्नुपर्छ भन्ने छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ।’
उनले थपे, ‘अब अर्कोलाई यो रिभर्स कूटनीति पनि हो। अर्कोतर्फ पार्टीले त यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्दछ। र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ। त्यो कारणले गर्दा पार्टीको धारणा स्पष्ट नै छ। र, यो विषय थप छलफलहरू अगाडि बढछ। यो तत् ठाउँहरूमा नै छलफल भएर अगाडि बढ्ला। यो विषयमा मैले थप धारणा राख्नु भन्दा पनि पार्टीको धारणा स्पष्ट छ। हाम्रो भूमिहरू मिचिन दिनु हुँदैन। ती भूमिहरू फिर्ता ल्याउनका लागि कूटनीतिक पहलहरू गर्नुपर्छ भन्ने पार्टीको धारणा स्पष्ट छ। यही विषयमा हामी छलफल गरिराखेका छौ। प्रतिपक्ष दलहरूसँग हामीले यो विषयमा पनि छलफल गरिराखेका छौ। यो सदन सुचारु गरौँ। त्यो विषयमा तत् अवस्थामा सरकारको तर्फबाट त्यसको कुराहरू आई नै हाल्छ भनेर हामीले यसरी राख्यौ। उहाँहरू यो विषय आएपछि मात्रै सदन अगाडि जान्छ भन्नु हुन्छ। त्यो उहाँहरूले राख्ने कुरा चाहिँ कस्तो छ भने त्यो आउँछ भनेपछि त्यसलाई अगाडि पनि बढाउनु पर्यो नि।’
बजेट पारित गर्न ढिलाइ हुने भएकाले पनि विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्न नहुने महामन्त्री बुर्लाकोटीको भनाइ छ। सरकारका तर्फबाट जवाफ आउने निश्चित भएकाले संसद्लाई बन्धक बनाउनुको साटो सुचारु गरेर लैजानुपर्नेमा उनले जोड दिए।


