+

कालीकोटमा कालाजारसहित लामखुट्टेबाट सर्ने रोगका बिरामी बढ्दै

२५ असार २०८३, बिहीबार १०:३६

मान्म (कालीकोट) । हिमाली जिल्ला कालीकोटमा पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगका बिरामी देखिन थालेका छन्। केही वर्षअघिसम्म तराई र पहाडी जिल्लामा सीमित मानिने डेङ्गी, औलो र कालाजार अहिले हिमाली क्षेत्रमा समेत फैलिन थालेका हुन्।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर डेङ्गीका १०, कालाजारका आठ र औलोका एक गरी कुल १९ जना बिरामी पुष्टि भएका छन्।

जिल्लाका नौ स्थानीय तहमध्ये छ वटा पालिकामा यी रोगका बिरामी भेटिएका छन्। डेङ्गीका बिरामीमध्ये खाँडाचक्र नगरपालिकामा आठ, पलाँता गाउँपालिकामा एक र नरहरिनाथ गाउँपालिकामा एक जना रहेका छन्।

कालाजारका बिरामी खाँडाचक्र नगरपालिकामा दुई, पचालझरना गाउँपालिकामा दुई तथा रास्कोट नगरपालिका, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा एक/एक जना भेटिएका छन्। औलोको एक मात्र बिरामी खाँडाचक्र–२ मा भेटिएको र उनी बाहिरबाट आएको (आयातित) केस रहेको महतले जानकारी दिए।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारका अनुसार जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने क्षेत्रमा पनि लामखुट्टे बाँच्न र प्रजनन गर्न थालेका छन्। साथै, जिल्लाबाट तराईका जिल्लामा हुने आवतजावत, सडक विस्तार, बजार विकास तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने स्थान बढ्दा लामखुट्टे फैलिन अनुकूल वातावरण बनेको उनको भनाइ छ।

उनले विशेषगरी कर्णाली र तिला नदी आसपासका तल्लो भेगमा लामखुट्टेबाट सर्ने रोगका बिरामी बढी भेटिएको बताए।

रोगको संक्रमण फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ। महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमका अनुसार जोखिमयुक्त क्षेत्रमा घरभित्र र बाहिर पानी जम्न नदिने, सरसफाइ गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्न सर्वसाधारणलाई सचेत गराउने अभियान समेत सञ्चालन भइरहेको छ।