काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा धवलशमशेर राणा र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी राजनीतिक दल निर्माणको तयारी तीव्र रूपमा अघि बढाइएको छ।
हाल पार्टीको संगठन विस्तार, नीति तथा कार्यक्रमको प्रारम्भिक मस्यौदा तयार पार्ने, विभिन्न विषयगत समिति गठन गर्ने र देशभरका प्रतिनिधिहरूसँग समन्वय गर्ने कार्य भइरहेको जनाइएको छ। पार्टी निर्माणसँग सम्बन्धित बैठकमा नेताहरू, युवा अभियन्ता तथा प्राविधिक टोली कागजात अध्ययन, अभिलेखीकरण र संगठनात्मक तयारीमा व्यस्त देखिन्छन्।
यसअघि डा राणा र प्रसाईंबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि लिखित सहमति भएको थियो। उक्त सहमतिमा राष्ट्रवाद, सनातन हिन्दु राज्यको एजेण्डा, राष्ट्रिय एकता, सुशासन, भ्रष्टाचार नियन्त्रण, उत्पादनमुखी अर्थतन्त्र, युवाको नेतृत्व र महिलाको उल्लेखनीय सहभागितालाई प्राथमिकतामा राख्ने विषय समेटिएको घोषणा हुन लागेको राष्ट्रवादी दलको सचिवालय प्रमुख सगुनसुन्दर लावती बताउनु हुन्छ ।
यसैबीच, पार्टी निर्माणलाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको र देशभर संगठन विस्तार अभियान सञ्चालन भइरहेको जनाइएको छ। विभिन्न जिल्लाबाट प्रतिनिधिहरूलाई समेट्दै औपचारिक पार्टी घोषणा गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्।
डा राणाले राजसंस्था, सनातन हिन्दु राष्ट्र र राष्ट्रवादी शक्तिहरूलाई एउटै राजनीतिक मञ्चमा एकीकृत गर्ने उद्देश्यले नयाँ दल गठन गर्न लागिएको बताएका छन्। उनले समान विचार भएका राजनीतिक दल, अभियान र स्वतन्त्र व्यक्तित्वहरूलाई पनि नयाँ अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
पार्टीको औपचारिक नाम, चुनाव चिह्न, नेतृत्वको अन्तिम संरचना तथा घोषणा मिति भने सम्बन्धित समितिको सिफारिस र आगामी निर्णयपछि सार्वजनिक गरिने तयारी रहेको जनाइएको छ।


