काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरेको छ।
बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, संसदीय दलका नेता तथा सांसद, मधेस प्रदेश र सुनसरी–मोरङलगायत सम्बन्धित जिल्लाका नेता सहभागी भएका थिए। मधेस प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष तथा प्रदेश र स्थानीय तहका नेता भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
बैठकले कप्तानगञ्ज घटनापछि सरकारको गैरजिम्मेवार, असंवेदनशील व्यवहार तथा नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ।
कांग्रेसले घाइतेको निःशुल्क उपचार, उचित व्यवस्थापन तथा तोडफोड र आगजनीबाट क्षति पुगेका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निरन्तर दबाब दिने निर्णय पनि गरेको छ।
पार्टीले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिने जनाएको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न, घाइते परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ।
यस्तै, पार्टीका सबै तहका समितिलाई वडा तहसम्म सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा संवाद तथा सहकार्यको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई युवासँग नियमित छलफल तथा संवाद गर्न पनि भनिएको छ।
सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी तथा नेताहरूलाई सम्भव भएसम्म आफ्ना जिल्लामा पुगेर समुदाय, घाइते र पीडित परिवारसँग भेटघाट गर्दै सामाजिक सद्भाव कायम गर्न पहल गर्न निर्देशन दिइएको छ।
कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई घटनासम्बन्धी संवेदनशील विषयमा तथ्य नबुझी सार्वजनिक प्रतिक्रिया नदिन, अफवाह र भ्रामक सूचनाको पछि नलाग्न तथा हिंसा र उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।
साथै, पार्टीका कुनै पनि तहका जिम्मेवार व्यक्ति वा सदस्य हिंसात्मक गतिविधिमा संलग्न भएको वा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोल्ने कार्यमा सहभागी भएको पाइए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ।


