No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

 ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ ले कस्तो गरे व्यापार ?

0

 

काठमाडौँ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुवै चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उनले भने । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक झरना थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाँङ्कन, मित्र डी गुरुङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्र ‘नाङ्गो गाउँ’मा समाजलाई परिवर्तन गर्न राजनीतिको आवश्यकता र गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ ।

“हामीले नेतामात्र नभइ नेता छान्ने जनतालाई पनि प्रश्न गर्ने बेला भएको छ, त्यसको सुरुआत यस चलचित्रमा गरिएको छ”, निर्देशक लामाले भने, “यसमा सामाजिक र राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक ज्ञान र त्यसको प्रभाव, समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने यसमा देखाइएको छ ।” उनले पहिलो सातामा चलचित्रले राम्रो व्यापार गरेको जानकारी दिए  ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । यसको कथा स्वयं निर्देशक लामाले लेखेका हुन् ।

प्रकाशित: १० आश्विन २०८०, बुधबार ०६:३९

Leave a Reply