No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेताको ‘यू–टर्न’मा आमनागरिकको आक्रोश

0

नारायण गाउँले ।
विवाहको विरोध भएकै होइन । विवाह हिन्दू धर्मका १६ संस्कारमध्ये आफैंमा ठूलो र महत्वपूर्ण संस्कार हो । जीवनमा प्रायः एकपल्ट हुने र जीवन नै परिवर्तन गर्ने घटना भएकाले यसलाई आफूखुसी रङ्गीन र उत्सवमय बनाउन पाउनु सबैको अधिकार हो । हामीले ऋण लिएरै भए पनि, घरघडेरी बेचेरै पनि या एक छाक खाएरै भए पनि चाडपर्व र संस्कारहरूलाई ‘भव्य’ बनाउँदै आएका छौं । पर्दा जन्ती र मर्दा मलामी भन्ने त हाम्रो उखान नै छ ।

विवाहमा हुने सजावट, बाजागाजा, जन्ती, भोजभतेर र रमझम विकृति होइन, संस्कृति हो । एकदम सादा पाना जस्तो जीवन त कवितामा भव्य भएपनि व्यवहारमा ‘बोरिङ’ नै हुन्छ । सबै धर्म र संस्कृतिका प्रायः सबै उत्सव र चाडमा खानपान र उपहार जोडि़एकै हुन्छ । बिहेमा पनि हुन्छ । हाम्रो संस्कृतिमा कन्याको गोडा धोएर निम्तालुले नगद या जिन्सी उपहार दिने चलन थियो, त्यस्तो ‘गोडधुवा’ या ’गर्दुवा’लाई हामीले अपराधीकरण नै गर्यौं । नगद या ‘गिफ्ट–कार्ड’वाला पश्चिमी संस्कारचाहिँ मान्य भयो, सभ्य भयो । घरतिरकाले पनि बुहारीको मुख हेर्दा उपहार दिने चलन थियो ।

प्रचण्डकी नातिनी हामी जत्तिकै नागरिक हुन् र हामीले आफ्नो बिहेलाई जस्तो बनाउन चाहन्छौं, त्यस्तै उनले पनि चाहनु उनको पूरा हक हो । हाम्रो समाजमा वरबधूको मात्रै नभई आमाबुबाले चाहेजस्तो विवाह हुँदै आएको छ, त्यो फरक कुरो भयो । देखिएको विरोध या असन्तुष्टि निरपराध नातिनीसँग होइन, प्रचण्डप्रतिको हो । माओवादीप्रति हो । यस्तै विवाह र उत्सवलाई ‘असामाजिक’ भन्दै अपराधीकरण गर्दै आएको ‘सिद्धान्त’ र राजनीतिप्रति हो । आमजनता र कार्यकर्तालाई सामन्तवाद, साम्राज्यवाद, बुर्जुवा, अग्रगामी छलाङ् जस्ता शब्दजालमा पारेर आफ्नो मन र संस्कृति मार्दै मुड्की उठाएर विवाह गर्न लगाएका घटनाप्रति हो । किरिया बस्न पनि नदिने सांस्कृतिक छलाङप्रति हो । आमजनतालाई जन्तीको सङ्ख्यासमेत तोक्ने, दशैंमा दक्षिणा तोक्ने, यति बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भनेर तोक्नेजस्ता सांस्कृतिक हस्तक्षेपप्रति हो । यो विवाह त एउटा प्रसङ्ग मात्रै हो ।

कसैको ‘निजी घटना’प्रतिको टिप्पणी या असन्तुष्टि पनि होइन यो । आफ्नो सर्वश्व र जीवन नै पार्टी र देशलाई बुझाएको भनिएको व्यक्ति ‘निजी’ रहन्न । उसले प्रश्न झेल्नुपर्छ र उत्तर या आत्मालोचना गर्नपर्छ ।माओवादी हिंसाअघि विवाह भनेको सिङ्गो गाउँका लागि उत्सव हुन्थ्यो । दुई हप्तादेखि दुनाटपरीका लागि पात टिप्ने र खुट्नेको चहल–पहल हुन्थ्यो । मण्डप र सजावटका लागि मान्छे जम्मा हुन्थे ।

अघिल्लो दिन बेलुकी जन्ती आउँथ्यो, रातभर नाचगान, अन्ताक्षरी, तास या अन्य मनोरञ्जन र भेटघाट हुन्थ्यो । गीत नै यस्तो हुन्थ्यो, ‘नरोऊ नरोऊ ए दुलही नानी, आज होइन भोलि हो लैजानी’ ! गाउँको ‘अर्ग्यानिक नाइट–लाइफ’ थियो यो । रातभर भजनकीर्तन र जागरण चल्थे । देउसीभैलो रात परेपछि नै सुरु हुन्थ्यो । गाउँमा डर थिएन, शान्ति थियो । शङ्का–सन्देह र सुराकी भन्ने थिएन, छिमेकी र गाउँले हुन्थे । दश वर्षमा यो चित्र फेरियो । घाम डुबेपछि बाहिर निस्किन नसकिने भयो । नातिनीजत्तिकै रमाइलो बिहे गर्नेहरू ‘सामन्त’ भए र तिनको घरमा बम खस्यो, जग्गामा झण्डा गाडियो र ती गाउँबाट विस्थापित भए । आपत् विपत् पर्दा दुई चार पैसा सरसापट दिन सक्नेहरू ‘सामन्त’ भनेर मारिएपछि या गाउँबाट लखेटिएपछि गाउँको अर्थतन्त्र नै धराशायी भयो । क्रमशः गाउँहरू रित्तिँदै गए । आज बाँकी बचेका घरहरू बाँदरले लखेटिरहेछन् !
जुन आदर्श, जुन सिद्धान्त, जुन गन्तव्य र जुन नाराका लागि हजारौं निर्दोष नागरिकको ज्यान गयो, लाखौं मान्छे विस्थापित भए, अर्बौंका पूर्वाधार ध्वस्त भए र लाखौंको शैक्षिक जीवन बर्बाद भयो, त्यही आदर्शबाट नेताहरू यू–टर्न भएपछि आमनागरिकमा उत्पन्न हुने आक्रोशलाई सामान्य मान्नुपर्छ । कम्तिमा यो आक्रोश मण्डप नै भत्काइदिने, गर्दुवाको सामान नै लुटिदिने या किरिया बसेको व्यक्तिलाई नै थुतेर लगिदिने खालको हिंसात्मक छैन भन्नेमा खुसी हुनुपर्छ । युग र क्रान्ति बदलिएको छ भन्ने व्याख्या छ भने त्यो आमजनतालाई बुझाउनु पर्यो ।

जवाफदेहिता र आफ्नो आदर्शमा अडिग जीवन नेताको गुण होइन, कर्तव्य हो । आमजनताले असन्तुष्टि पोख्न र प्रश्न गर्न पाउनु दया होइन, हक हो । स्मरण रहोस्, कोभीडकालमा देशमा आमजनतालाई भेटघाट गर्न प्रतिबन्ध रहेको बेला बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको आफ्नै करेसाबारीमा चार–पाँच जना मन्त्री र सहयोगी जम्मा भएको फोटो बाहिर आउँदा उनीमाथि प्रश्न मात्रै उठेन, जागि नै गयो । अर्का प्रधानमन्त्री ऋषि सुनकले कारको सिटमा बसेर सार्वजनिक महत्त्वको सानो भिडियो खिच्दा नागरिकको ध्यान उनले सिट–बेल्ट नबाँधेकोतिर गएपछि प्रश्न मात्रै उठेन, आर्थिक जरीवाना नै तिर्नुपर्यो । यस्तो हुन्छ, र हुनुपर्छ । कुरो यत्ति हो !

प्रकाशित: २ पुष २०८०, सोमबार ०३:२४

Leave a Reply