No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चिवाभञ्ज्याङ पुगेर एमाले नेतृत्वले गरेको संकल्प

0

ईश्वर पोखरेल ।

मंसिर १४ देखि शुरू गरिएको समृद्धिका लागि झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्प यात्रा’आइतबार दिउंसो (पुस १ गते) १२ बजे चिवाभञ्ज्याङमा नेकपाएमालेका अध्यक्ष केपी ओलीले नेपालको राष्ट्रिय झण्डा फहराएपछि अत्यन्त सफलताका साथ विधिवत सम्पन्न भएको छ । अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुंगिएको हो । तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको संकल्प र योजना भने जारी रहनेछ । हामी जनताका बीचमा पुगिरहनेछौं, जनतासितको सम्बन्धलाई गाढा बनाइरहनेछौं, प्रचूर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयाँस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेलिरहनेछौं । यात्रा अवधिमा र चिवाभञ्ज्याङमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।

एमालेले संविधानसम्मत, शान्तिपूर्ण तरिकाले, सिंगो मुलुक र आम जनताले भोगिरहेका, अनुभूत गरिरहेका बिषयमा केन्द्रित रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको छ । सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका बीचमा द्वेष भाव फैलाउन चाहने, मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने विचार र गतिविधिहरूलाई पनि यस बीचमा नियाल्ने मौका पाएका छौं । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ । कुनै पनि विषाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ ।

यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची, माया, सद्भाव र समर्थनप्रति आभार । लाखौं जनता स्वतः परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनु भएको छ त्यसले सिंगो एमाले पंक्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ । सम्पूर्ण देशभक्त नागरिकहरूबाट जुन साथ समर्थन तथा ऐक्यवद्धता प्रदर्शन भएको छ त्यसप्रति उच्च सम्मान छ । नेकपा निरन्तर देश र जनताको पक्षमा समर्पणभावका साथ जुटिरहनेछ, जुटिरहनेछ !!

प्रकाशित: २ पुष २०८०, सोमबार ०५:१२

Leave a Reply