No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अदालतका कर्मचारीले सेवाग्राहीलाई गेटमै पाइन्ट खोल्न लगाएपछि…

0

दिनेशराज सत्याल ।
काठमाडौं । ललितपुर जिल्ला अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले मेरो साथमा गएका सेवाग्राहीलाई अदालत प्रवेशमा रोक लगाए । उनीहरुको तर्क थियो, च्यातिएको पाइन्ट लगाएर अदालतभित्र प्रवेश गर्न पाइँदैन । यो सूचना हेर्नुहोस् । मैले अनुरोध गरेँ, उहाँ भित्र जान जरुरी छ, उहाँको प्रतिउत्तर फिराउने म्याद सकिनै लागेको छ । हामी आदेशको पालक हौँ, हामी प्रवेश दिन सक्दैनौँ । मैले अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई भेटेँ । मेरो तर्फबाट दुई हात जोडेर नमस्कार गरेँ, म एउटा अनुरोध गर्न आएको सर, मेरो पक्ष प्रतिउत्तर फिराउन धरानदेखि काठमाण्डु आउनु भएको छ । प्रतिउत्तर फिराउने समय पनि लगभग अन्तिम भइसकेको छ । सुरक्षाकर्मीले भित्रको निर्देशन नभई भित्र पठाउन मिल्दैन भन्नुभएको छ । सर बाटो फुकाइदिनु पर्यो बरु तपाई दोस्रोपटक यस्तो पोशाकमा अदालत प्रवेश गर्नेछैन भन्ने कागज गराउनुहोस् ।

उनी मेरो कुरा सुन्दै थिए वा उनको ध्यान अन्यत्रै थियो मलाई थाहा छैन, उनले घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए । मैले भनें, ‘श्रीमान् घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन त सम्भव नै छैन । त्यहाँ सोफाहरु पनि थिए, शायद हामी सेवाग्राहीकै लागि थिए । तर उनले बसौँ भनेनन् ।’ बरु उल्टै उनले अपमान गर्दै भने, ‘तपाईं नेपाली पोशाक यति राम्रो लगाएर आउनु भएको छ । उहाँले चैं मर्यादित पोशाक लगाउनु पर्दैन ?’ कपडा छैन भने के गर्ने मैले प्रति प्रश्न गरेँ – एकजोर मात्र लुगामा धरानदेखि काठमाण्डु कोही आउँदैन‘. मलाई यो टिप्पणीले अदालतका कर्मचारीहरु वकिललाई शब्दबाट विद्वान भने पनि व्यवहारमा अपमान गर्छन् भन्ने यथार्थताको तुरुन्तै बोध गरायो । मेरो पोशाकसँग सेवाग्राहीको पोशाक किन दाँज्नु परेको ? दुर्गाप्रसाद भट्टराईले आफ्नु न्यायसेवाको अनुभवमा के सिके होलान् ? उनले अदालतका फाइल भन्दा बाहिरको जीवन चिनेका छन् ? कि उनीजस्तै लोकसेवाको भारी नबोकेकाहरु सेवामा प्रवेश नगरेकाहरुलाई हामीले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ सिकेका छन् ।

हेर्नुस् भिडियो

अन्ततः मेरो अनुरोधको केही काम लागेन, जसरी बगरेको अगाडि कुनै पशुको रोदन !!! मैले सेवाग्राहीलाई सोधें, ‘अर्को पाइन्ट किन्न सकिन्छ अहिले ?’ अहिले त किन्न सकिँदैन सेवाग्राहीको उत्तर थियो । म किंकर्तव्य विमुढ थिएँ । भित्र ट्राउजर छ प्रहरी कर्मचारीको प्रश्न थियो । हजुर भित्र ट्राउजर छ पाइन्ट खोल्नुहोस् अनि ट्राउजर लगाएर भित्र जानुहोस् । हे भगवान् अन्तिममा त्यही भयो । भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन । के यो सही हो ??? मेरो प्रश्न कानुन व्यवसायीको हकहितको कुरा गरेर नथाक्ने नेपाल वार एशोसिएसन केन्द्रीय कार्यालय, उच्च अदालत वार एशोसिएसन पाटन, जिल्ला अदालत वार एशोसिएसन, काठमाडौं, ललितपुर, भक्तपुर । सर्वोच्च अदालत प्रशासन, उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासन सबैसँग छ ।

कम्तिमा कानुनको पालना गर्ने नाउँमा वनमा दाउर खोज्न जाँदा भालुले कान खाइदिएको नेपाली छोराले दुवै कान देखिने फोटो नभएका कारण नेपाली नागरिकता नपाएको जस्तो कागजी घोडा नबन्नुहोस् ।सम्भव छ भने दुर्गाप्रसाद भट्टराई जस्ता राष्टसेवक कर्मचारीलाई यथोचित पारितोषिक दिनुहोस् । उहाँजस्तो अधिकारी मेरो वकालत जीवनको करिव १८ वर्षमा मैले पहिलो पटक भेटेको छु ।

हामी हाम्रो अदालत मर्यादित भएको हेर्न चाहन्छौँ । हाम्रा तर्फबाट अदालतको मर्यादामा आँच आउन पनि दिँदैनौँ । अदालत मर्यादित संस्था हो, मर्यादित रहनुपर्छ । अदालतले गल्ती गर्दैन तर अदालत आफैँ काम गर्दैन, अदालतको तर्फबाट हुने कामहरु मानिसद्वारानै सम्पन्न गरिने हुँदा मानवीय त्रुटी हुनु र मानवीय त्रुटीका कारण अदालतमाथि प्रश्न उठ्नु जायज हुन्छ । अदालत प्रशासनको ध्यान अदालतका मुखियाहरुतर्फ जानु आवाश्यक मात्र होइन अत्यावश्यक भइसकेको छ । यदि हामी संवेदनशील हुँदैनौँ भने स्थिति हाम्रो नियन्त्रणमै रहला वा नरहला यसै भन्न सकिन्न ।
सत्याल अधिवक्ता हुन् ।
(भिडियो मनिष श्रेष्ठबाट ।)

 

प्रकाशित: २२ माघ २०८०, सोमबार १४:३०

Leave a Reply