No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘उड्ने चरो’ को ‘हाइजम्प’ मा उत्कृष्ट प्रदर्शन

0

बझाङ । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहे । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुगेका हुन् ।

खप्तडछान्ना गाउँपालिका स्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्प तर्फ स्वर्ण पदक जिते । पाँच दशमलव ६ फिट उचाइ जम्प गर्दै उनले स्वर्णपदक हात पारेका हुन् । अहिले उनलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “ओएमजी ! खप्तड (खप्तडछान्ना गाउँपालिका)को उड्ने चरो रहेछ त । प्वाख फिटिङ गरेको छ कि क्या हो ।” त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेखेका छन्, “यो भाइ त चरो हो । चरोको जस्तै उड्छ । म त यिनको फ्यान भइसकेँ”, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइरहेका छन् ।

सागर खप्तड माविमा कक्षा ९मा पढ्छन् । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहेका उनी विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्छन् । उनी भन्छन्, “मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।”

उनका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उनी एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्थे । “यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम गर्यो ।” सागरले भने ।

को हुन् सागर ?

चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँ दिल्ली गए । पछि आमासहित दाइ दिदीहरू गएपछि उनीहरूको बाल्यकालको समय भारतमै बित्यो ।

किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घुमाउँथे । सागर जन्मपछि भने उनीहरूको बसाइ भारतमै भयो । घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उनीहरू दिल्लीमा बस्न थाले ।

सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत गएकी थिइन् । भारतमा पनि उनीहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन । “भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे”, विपनाले भनिन् ।

“मैले दुःखसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ”, उनले भनिन्, “त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो । बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराएँ ।”

विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिन्छन् । उनलेभनिन्, “भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ ।” पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उनले बताइन् ।

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार ०४:२९

Leave a Reply