No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आइसीसी विश्वकप लिग-२ मा नेपाल आठ विकेटले पराजित

0

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्डले ३७.५ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको हो ।

नेदरल्याण्डका लागि विक्रमजित सिंहले अविजित ५८ रन तथा साइब्रान्ड इंग्लब्रेचले अविजित ४६ रनको पारी खेले । उनीहरुले १०२ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई जित दिलाए । त्यस्तै मिकेल लेभिटले ३९ र माक्सो ओडोउडले २८ रनको योगदान गरे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा १७२ रनमा अलआउट भयो । नेपालका लागि कुशल भुर्तेलले सर्वार्धिक ६६ रनको योगदान गरे ।

उनले ९३ बलमा ८ चौकाको मद्दतले ६६ रनको अर्धशतकीय पारी खेले । यो उनको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको आठौं अर्धशतक रहेको छ । त्यस्तै नेपालका लागि करण केसीले २६ रन बनाउँदै आउट भए ।

आरिफ शेखले २२ रनको योगदान गर्दा आशिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । नेदरल्याण्डका लागि भिभियन किंग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बस डि लिडे दुई विकेट लिँदा रोइलफ भान डेर मेर्वाको नाममा एक विकेट रह्यो ।

नेपालले घरेलु मैदानमा खेलेको चार खेलमा एकमा जित निकाल्दा तीन खेलमा पराजित भएको छ । पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्याण्डमाथि ९ विकेटको जित निकालेको थियो ।

तेस्रो खेलमा नामिबियासँग दुई विकेटले पराजित भएको छ । नामिबियाको ६ अंक रहेको छ भने नेदरल्याण्डले चार अंक जोडेको छ । त्यस्तै नेपालले घरेलु मैदानमा दुई अंक मात्र जोड्न सफल भयो ।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार १०:४४

Leave a Reply