No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म मन्दिर भन्दा बढी स्कुल बन्नुपर्छ र भाकल होइन, कर्म गर्नुपर्छ भन्ने मान्दछु

0

डा. युवराज संग्रौला ।
२०४३ सालदेखि अध्यापन गर्न थालेको, निकै लामो समय भयो । हरेक मानिसका आफ्ना पेसामा कथा हुन्छन् र ती कथा अमूल्य हुन्छन् । म आजदेखि मलाई जीवनमा पाठ सिकाउने केही अनुभूति बाँड्न यो माध्यमलाई प्रयोग गर्दैछु । सन् १९८५ मा भिजिटिङ्ग स्कलर भएर अमेरिकाको जर्ज्टाउन ल सेन्टर (स्कुल) गएँ । त्यसबेला म उतै बस्न सक्थें, सायद । तर बसिन, चार महिना पछि फर्कें । कारण मलाई मेरै देश मनपर्यो । गाई थोत्रो पानी चुहिने भएपनि आफ्नै गोठमा फर्किन्छ । केही साना तर मेरो सोचनिर्माण गर्ने घटना थिए ।

१. अमेरिकीहरुमा अनुशासनको त्यति अर्थ छैन । जतिबेला पनि उनीहरु स्वतन्त्रताको कुरा गर्छन् । अमेरिकी विद्यार्थीको कक्षामै खाने बानी हुँदोरहेछ । मलाई अष्पट हुन्थ्यो । म केही भन्न सक्दैनंथें । जब सुकेका कुर्मुरे खाना खान्थे पुरै क्लासमा हल्ला हुन्थ्यो। एकदिन संयुक्त कक्षा थियो। एक जना महिला लेक्चरर थिइन् । हाम्रो आधा आधा कोर्स थियो । त्यसदिन त कुरमुरे खानाले यस्तो भयो कि लाग्थ्यो म मेलम्चीको गिटी कुट्ने कारखाना छु ।

२. मेरो साथीले आफ्नो पेटमा हातले हान्दैन भनिन् ,’हल्ला भयो म पढाउन सक्तिन । केही दिनपछि म कक्षामा आउन शक्तिन । तिमेरुलाई थाहा छैन, ‘म प्रेग्नेन्ट छु, अब छुट्टिमा बस्छु।’ कुरमुरे चपाउनेका दाँत बन्द भए। कक्षा सकियो । मलाई लाग्यो उनले गफ हानेको हो, हल्ला रोक्न । कुरा सकियो ।

३. म मेनगेटबाट निक्लदैंथें, घरजान । मैले युनियन स्टेसन गएर बाल्टीमोर जाने एमट्रयाक समात्नु पर्थ्यो । उनी आफ्नो महंगो जीप लिएर फुत्त गेटमा देखिइन् र भनिन्, ‘युवराज, होएर आर यु गोइङ्ग’ ?
‘युनियन स्टेसन।’

‘वेल, आइ विल ड्रप यु, इफ यु डन्ट माइन्ड।’ म अगाडिको सिटमा बसें ।

४. ‘आज मलाई साँच्चिकै रिस उठेर कराएँ । माइन्ड नगर है । प्रेग्नेन्सिमा अलि चाँडो रिस उठ्दो रहेछ।’ तर तिमीले त अविवाहित भनेको होइन र ? हो, तर म र मेरो ब्वाइफ्रेण्ड सँगै बस्छौं । आजभन्दा २९ वर्ष अगाडिको म । मेरालागि यो पत्यार लाग्ने कुरा थिएन । उता घरमा अहिले पनि ‘श्रीमतीले पिरियड बार्ने चलन छ। यता छेउमा बसेर अविवाहित महिला गर्भवती भएको कुरा सुन्नुपरिरहेको छ । न उता घरको कुरा अचम्म मान्न मिल्छ, नत यता अविवाहित महिला गर्भवती भएको कुरा।’

५. ‘तर मेरी आमा एकदम डराएकी छन् ।’
‘किन।’ ‘म मेरो कुकुरलाई एकदम माया गर्छु। मेरो बच्चा भएपछि, बच्चालाई माया गर्दा कुकुरले ईर्ष्या गरेर बच्चालाई केही गर्लाकी भनेर!’
मेरो स्टेसन आयो म ओर्लीएँ । रेलमा सोचें “मेरो समाजमा बाबुआमा छोराछोरी सबै एकै घरमा, अझ परे एकै कोठामा सुतेको दिन मझै अर्को । हामीलाई दुःख सुख दुवै बाँड्ने चाहना हुन्छ । घरमा आउँदा श्रीमतीलाई पहिला देख्न मन लाग्छ। घर आइपुग्ने बितिकै छोरीहरु जिस्क्याउँछन् , ‘गीता खोइ’?

६. घर आएपछि परिवारसँग बस्ता काल पनि आउंँदैन जस्तो लाग्छ । कोभिडको सन्त्रास। सबैलाई कोभिड । आफूलाई गाह्रो हुँदा पनि अर्कोलाई सान्त्वना र ढाडस । तेरो मेरो पैसा पनि कसैले भनेन । बाबुआमा छोराछोरीका बीमा भए र छोराछोरी बाबुआमाका बीमा । ज्वाइँ र बुहारी पनि घरकै सदस्य । यो जीवन पाउनुनै भाग्य हो जस्तो लाग्छ।

७. सुत्केरी हुँदा उनी आमाकोमा किन बस्न चाहन्नन् ? मैले रेलमा पटक पटक सोचें । हाम्रोमा त कुकुर पनि थुन्चेमा सुताको नानीको छेउमा सुथ्त्यो । किन होला ? हाम्रा कुकुरलाई किन ईर्ष्या नभएको होला ? सायद हाम्रो कुकुरलाई पनि धेरै जनाको परिवारमा बस्ने आदत भएर होला !
मानिसका संस्कृति र संस्कार आफना आफना हुन्छन् । न राम्रा न नराम्रा । मलाई पश्चिमी संस्कृति र संस्कारप्रति कुनै आलोचना छैन । तर त्यो मेरो होइन, मेरो संस्कृति अफिसबाट आएपछि बुढीआमाका काखमा टाउको राखेर तनाव बिर्सने हो। त्यसैले मलाई मेरो देशनै मनपर्यो । तर संस्कारका नाममा म आडम्बरी छैन । म मन्दिर भन्दा बढी स्कुल बन्नुपर्छ र भाकल होइन कर्म गर्नुपर्छ भन्ने मान्दछु। म नेपालमा खुसी छु । भरीपुगेर होइन, टाउको दुख्दा सोध्ने र जाँच्न लाने सन्तान साथमा छन् भनेर । मर्दा छेउमा उनीहरुलाई देख्न पाइन्छ । देश यतिकै लागि चाहिने रहेछ ।

प्रकाशित: १७ चैत्र २०८०, शनिबार ०४:०६

Leave a Reply