No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

0

 

इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै अन्तर्राष्ट्रिय आक्रोशका बावजुद आफ्नो योजनाबद्ध अभियानलाई ‘अगाडि बढाइरहेको’ बताएको छ ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलनमा भने, “इजरायलले रफाहमा हमासलाई निशाना बनाउने हाम्रो अभियान अघि बढाइरहेको छ ।” उनले भने,“रफाहमा रहेका चार सैन्य बटालियन इज्रायलबाट जोगिने छैनन् । तिनीहरूमाथि आक्रमण हुनेछ ।”

प्यालेस्टिनी इस्लामिक आन्दोलनविरुद्ध गाजामा रक्षात्मक र सामरिक मिसनका लागि ‘दुई थप ब्रिगेड’ परिचालन गरिएको मेन्सरले बताए ।

गत अक्टोबर २७ मा गाजामा इजरायलले स्थलआक्रमण सुरु गरेयता हमासका २४ बटालियनमध्ये कम्तीमा १८ वा १९ बटालियन ध्वस्त भइसकेको उनले बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र रफाहमा इजरायली स्थल सेना प्रवेश गर्न बाँकी रहेको रयसलाई इजरायलले छिट्टै अघि बढाउने बारम्बार बताउँदै आएका छन् ।

गाजामा इस्लामिक समूहलाई नष्ट गर्ने आफ्नो सरकारको युद्ध उद्देश्यका लागि रफाहमा हमासका बाँकी रहेका चार बटालियनको अन्त्य हुनु महत्वपूर्ण रहेको उनले बताए ।

गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांशले रफाहमा शरण लिएका छन् र धेरैले अस्थायी शिविरमा आश्रय लिएका छन् ।

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकासहितका देशहरूले ठूलो सङ्ख्यामा नागरिक हताहत हुने डरले रफाहमा सेना नपठाउन इजरायलसँग आग्रह गर्दै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यसै महिनाको सुरुमा भनेका थिए, “रफाहमा पूर्ण सैन्य आक्रमणले त्यहाँ फसेका सर्वसाधारणमा निकै हानिकारक प्रभाव पार्नेछ र यसले अन्ततः इजरायलको सुरक्षामा असर पार्नेछ ।”

रेडक्रसका अधिकारी फाब्रिजियो कार्बोनीले आक्रमण हुनुअघि रफाहका बासिन्दालाई शहरबाट अन्यत्र सार्ने योजनाबारे मानवीय समूहलाई कुनै जानकारी नभएको बताए ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ०२:३४

Leave a Reply