पूर्वराजालाई एउटा नागरिकको हैसियतले सम्मान गर्छु : सुवास नेम्वाङ(अन्तरवार्ता)

काठमाडौं । तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाले । उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्काे सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरे । संविधासभाबाट संविधान जारी भएसगैँ उनले त्यसमा सफलता प्राप्त गरे ।

पूर्वसभामुख नेम्वाङ अहिले पनि सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आएका छन् । प्रस्तुत छ, १६ औँ गणतन्त्र दिवसका अवसरमा डेढ दशकदेखि मुलुकमा भइरहेका राजनीतिक र शासकीय प्रणालीसम्बन्धी अभ्यासबारे उनीसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्ने अवसर र प्रक्रियाबारे कसरी जुट्यो ?

मुलुकमा ७० वर्षअघिदेखि संविधानसभाद्वारा संविधान जारी गर्नुपर्छ भन्ने प्रसङ्ग उठेको थियो । विसं २०६२/६३ को संयुक्त जनआन्दोलन उत्कर्षमा पुगेसँगै जनताको त्यो चाहना र भावनाले मूर्तता प्राप्त गर्‍याे । संविधानसभाको दुई पटक निर्वाचन भई संविधान जारी भयो । जनताको यसअघि कहिल्यै नभएको पर्याप्त दबाबले मूर्तता प्राप्त गर्न सफल भएको हो । संविधानसभाबाट समयमा संविधान बन्नुपर्छ भनेर निरन्तर लागेकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको समाजवाद उन्मुख संविधान प्राप्त भयो । यो जनताले आफ्ना लागि बनाएको संविधान हो । यसअघि जारी संविधानका स्रोत शासक थिए । यो त्यस्तो संविधान हो जसको अधिकारको स्रोत जनता हुन् । त्यसैले संविधानको प्रस्तावनामै सार्वभौम सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक संस्था संविधानसभाले यो संविधान बनाएर जारी गरेका छौँ भनेर घोषणा गरिएको हो ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशपछि पनि भइरहेका अभ्यासप्रति अनेक टिक्का टिप्पणी सुनिएको छ, यसप्रति यहाँको धारणा के छ ?

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त संविधान र हाल अभ्यासमा रहेको शासन व्यवस्थाको कुनै विकल्प छैन । जनताको यो तहबाट संविधान बन्ने जुन यथार्थ छ, यो भन्दामाथि अब यो देशमा अर्काे संविधान बनाउने कुनै पनि ठाउँ छैन । अब फेरी पनि अर्काे परिवर्तनका कुरा गर्नुको कुनै अर्थ छैन । यही संविधानअन्र्तगत रही जुनसुकै परिवर्तन गर्दै अघि बढन सकिन्छ ।

मुलुक संङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि डेढ दशकमा भएका अभ्यास र उपलब्धिलाई कसरी हेर्नुभएको छ ?

अहिले हामीले अभ्यास गरेको संविधान जनताले–जनताका लागि बनाएको संविधान हो । जसको अधिकारको स्रोत नेपाली जनता हुन् । जसले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख देशलाई प्रदान गर्‍याे । यो संविधान अन्तर्गत सही प्राप्त उपलब्धि कार्यान्वयन गर्दै लैजानुपर्छ । राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिलाको सहभागिताको व्यवस्था गरेका छाैँ । समावेशी समाजको कल्पना गरेका छौँ । यसबीचमा नेपाल र नेपाली जनताको हितका लागि थुप्रै काम हामीले सम्पन्न गरेका छौँ । राजनीतिक रुपमा यति धेरै परिवर्तन गरेका छौँ । जनतलाई पहिलो पटक सार्वभौम सम्पन्न तुल्याएका छौँ । जनता यति अधिकार सम्पन्न भएका छन् कि जनताको आर्शिवाद र समर्थन जितेर संसदमा पुग्नुस् जुनसुकै परिर्तन गर्न सकिन्छ । जहाँसम्म आफना प्रतिनिधिका कुरा छ, व्यक्ति र दल मन परेन भने परिवर्तन र छान्न सकिन्छ । त्यसका लागि निर्वाचन र संसदमार्फत जुनसुकै परिवर्तन गर्न सकिन्छ । परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन ।

राजनीतिक दलहरुले विगतको सशस्त्र द्वन्द्वको घाउलाई सम्बोधन गर्ने शान्ति प्रकृयालाई निकै लामो समयसम्म टुङ्गोमा पुर्‍याउन सकेन भन्ने आरोप छ नि ?

हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेका छौँ । शान्ति प्रकृयाका बाँकी काम लगभग टुङ्गोमा पुर्‍याएका छौँ । सेना समायोजन गरेर एउटा ठूलो सफलता प्राप्त गरेका छौँ । त्यही प्रकृयाको सन्दर्भमा यति राम्रो संविधान बनाउन सफल भएका हौँ । अब शान्ति प्रकृयासँग सम्बन्धित थोरै काम मात्रै बाँकी छ । जुन अब दुई/तीन वर्षभित्र सम्पन्न गर्ने गरी हामी काम अघि बढाइरहेका छौँ । यो शान्ति प्रकृयासँग सम्वन्धित जे काम गरिएको छ, विश्वकै शान्ति प्रकृयाका उदाहरणीय छ । म भरखरै कोलम्बिया पुगेर आएँ, त्यहाँको समेत अनुभव हेर्दा दाबीका साथ भन्न सकिन्छ कि नेपालको शान्ति प्रकृयाको जुन प्रसङ्ग छ, त्यो हाम्रो मोडेल हो, विश्वमै उत्कृष्ट छ ।

मुलुकका प्रमुख राजनीतिक शक्तिले समयमै पूरा गर्न पर्ने समाजका जल्दाबल्दा विषयमा पनि त्यति ध्यान पुर्‍याएनन् भन्ने आरोप छ नि ?

हो, जनताको चाहना र भावना अनुरुप कतिपय महत्वपूर्ण काम भने अझै पनि गर्न सकेका छैनाैँ । त्यसतर्फ केही कमी कमजोरी रहेकै हुन् । देशमा ठूलो राजनीतिक परिवर्तनका साथ केही महत्वपूर्ण उपलब्धि हासिल भएकोछ । तर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भने कमी कमजोरी रहन गए । गणतन्त्र दिवसका अवसरमा म प्रष्ट र ढुक्कसँग भन्न सक्छु कि समाजमा विद्यमान त्यस्ता कमी कमजोरीलाई सच्चाएर अब हामी अघि बढनुपर्छ ।

देश गणतन्त्रको अभ्यासमा छ, देशको आर्थिक सङ्कटसँग जोडेर सङ्घीयता खर्चिलो भयो भन्ने पाटोबाट कुरा उठाइएको छ, यसमा यहाँको धारणा के ?

हामीले स्थापना गरेको लोकतन्त्र भनेको समाजमा व्यक्ति भएका सबैखाले विचार सन्न सक्ने सुन्दर पक्ष हो । समाजमा आउने सबै विचारका बारेमा छलफल हुन्छ । छलफल हुनु राम्रो कुरा हो । विगतमा हामी कुन व्यवस्थाबाट गुज्रदै यहाँ आइपुगियो भन्ने हामीलाई राम्ररी थाहा छ । समाजमा विकृति र विसङ्गति छन्, त्यसलाई सच्याऔँ, सुधारौँ भन्दा सुरक्षा कानुन भोग्नु परेका हामी धेरै ज्यूँदैछौँ । प्रधानमन्त्री भारतमा जाँदा त्यहा बोलेका कुराका लागि काठमाडौमा पर्चा छर्दा राजकाज मुद्धा लागेर सात महिना कैद सजाय भोग्ने मानिस मै हुँ । अहिले हामीले त्यो प्रणाली परिवर्तन गरियो । पूर्ण लोकतन्त्रको आधार तयार गरिएको छ । अहिले यस्तो हुनुपर्छ भनेर आएको विषयलाई अचम्म मान्न हुन्न । त्यो छलफल र आएका विचार स्वस्थ्य र स्वच्छ भने हुनुपर्छ । त्यसले एउटा निष्कर्षमा पुर्‍याउँछ । सविधान बनाउने क्रममा सबैभन्दा बढी सङ्घीयताको विषयमा छलफल भएको हो । सङ्घीयता निर्विवाद होइन । व्यापक छलफलपछि टुङ्गोमा पुगिएको हो । त्यसैले छलफल हुनुलाई अन्यथा मान्न हुन्न । छलफल चल्छ । एउटा लोकतान्त्रिक विधि र प्रकृयाबाट टुङ्गोमा पुग्न पर्छ ।

१६ औँ गणतन्त्र दिवस मनाइरहँदा पश्चिम नेपालमा अभिनन्दनको घटनालाई कसरी हेर्नुभएको छ ?

एकदमै सामान्य टिप्पणी गर्न नपर्ने विषयका रुपमा लिन्छु । पूर्वराजालाई एउटा नागरिकको हैसियतले सम्मान नै गर्छु । अन्यथा टिप्पणी छैन । उहाँले बोल्न सक्नुहुन्छ । शान्तिपूर्ण ढङ्गले हिड्न सक्नुहुन्छ । संविधानबमोजिमका क्रियाकलाप त लोकतन्त्रको सुन्दर पक्ष नै हो । हामी निरङ्कुश परिस्थितिबाट अहिले फरक ठाँउमा आइसकेका छौँ । अहिले शान्तिपूर्ण ढङ्गले गणतन्त्र चाहिन्न पनि भन्न पाइन्छ । तर हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ । कार्यान्वयन गर्दै यहाँ आइपुगेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा पटकपटक निर्वाचनमा गएका छौँ । सबैखाले विचार बोकेका दल निर्वाचनमा गएका र प्राप्त परिणामलाई स्वभाविक रुपले लिइएको छ ।

गणतन्त्र दिवसका अवसरमा आम जनसमुदायलाई यहाँको केही सुझाव वा सन्देश छ कि ?

वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर हामीले अघि बढनुपर्छ । पुराना दलप्रति विभिन्न प्रश्न उठेका छन् । अहिलेको अवसर हाम्रा लागि अवसर हो । उठेका विषयलाई हामीले हेर्नुपर्छ, गम्भीरतापूर्वक लिनुपर्छ । गरिएका राम्रा विषय जनतामा लैजानुपर्छ । देखिएका कमी कमजोरीलाई हार्दिकतापूर्वक स्वीकार्न पर्छ । त्यसलाई सच्याउँदै अघि बढने प्रतिबद्धता व्यक्त गरेर व्यवहारमा उतार्दै अघि बढनुपर्छ । लोकतन्त्रमा यो हाम्रा लागि अवसर हो । अवसरलाई सदुपयोग गरियो, कमी कमजोरीलाई समयमै सच्याएमा अघि बढने प्रशस्त आधार हुन्छ । लोकतन्त्रमा व्यक्ति र दल परिवर्तन गर्न सकिन्छ । यो हामी र सवैका लागि राम्रो अवसर हो ।

सबैको कामको परिणामको जस अपजस राष्ट्रपति संस्थालाई जानु अन्यथा होइनः पूर्वराष्ट्रपति भण्डारी (अन्तरवार्ता)

काठमाडौं । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन् । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वाेच्च पदमा पुगेकी पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिन्छिन् ।

गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आयोजना गरिएको फोटो प्रदर्शनीपछि पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रका विशेषता, संविधानको कार्यान्वयन र यसमा देखिएका चुनौतीका बारेमा अन्तर्वार्ता दिएकी छन् । राष्ट्रपतिबाट अवकाशपछि सम्भवतः पहिलोपटक उनले यस प्रकारको अन्तर्वार्ता दिएकी छन् । प्रस्तुत छ, पूर्वराष्ट्रपति भण्डारीसँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारी, उपप्रमुख समाचारदाता नारायण न्यौपाने र वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित विवरणः

मुलुकको सर्वाेच्च पद राष्ट्रपतिको कार्यकाल पूरा गरी अवकाशको जीवनमा रहनुभएको छ । आजभोलि यहाँको दिनचर्या कसरी बितिरहेको छ ?

राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि सर्वप्रथमतः राष्ट्रिय समाचार समितिको कार्यालयमै आएर संवादमा रहेको यो मेरो पहिलो अवसर हो । करिब सात वर्ष लामो अवधि देशको राष्ट्रपतिको जिम्मेवारीमा रही काम र कर्तव्य पूरा गर्ने अवसर पाएँ । मैले आफ्नो देश, जनता र आफ्नो जिम्मेवारीलाई बोध गर्दै काम गरेँ र मेरो कार्यकाल त्यस अर्थमा सफल भयो भन्ने लाग्छ । सफलतालाई समय सान्दर्भिकताका आधारमा हेर्नुपर्छ । राष्ट्रपति केबल व्यक्ति नभएर एउटा संस्था हो ।

काम गर्ने क्षेत्राधिकारका हिसाबले राष्ट्रपतिको कार्यकालमा समय व्यस्तता थियो । राष्ट्रको त्यो जिम्मेवारी पूरा गरेर पुरानै नागरिक जीवनमा फर्केको छु । फर्किएको पनि करिब तीन महिना भयो । यस बीचमा मैले अग्रसरता लिएर विशेष केही काम गरेको छैन । कार्यकाल सकेर बाहिर आउँदा औपचारिकतामा बाहेक अरु खासै फरक महसुस भएको छैन । देशका लागि जिम्मेवारीमा गर्नुपर्ने काममा कमी आएको जस्तो लाग्दैन । अझ जिम्मेवारी बढेको जस्तो लाग्छ । योजनाबद्ध ढङ्गले सार्वजनिक क्रियाकलापमा भाग लिइसकेको छैन । अब विस्तारै नागरिक समाजका तर्फबाट राष्ट्रिय मुद्दामा अहिलेसम्मका अनुभवलाई लिएर अघि बढ्नुपर्छ भन्ने सोचेको छु । अहिले म त्यस्तो धेरै व्यस्त छैन तर फुर्सदमा पनि छैन । म बेरोजगार भएँ भन्ने जस्तो पनि लागेको छैन ।

मुलुकमा अहिले भइरहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई कसरी हेर्नुहुन्छ ?

देश हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीमा प्रवेश गरेको करिब १५ वर्ष भयो । यो अवधिलाई हेर्दा राष्ट्रपतिले गर्नुपर्ने जिम्मेवारी निर्वाहका विषय ठीक गतिमै रहेको अनुभव मेरो छ । नयाँ प्रणालीमा प्रवेशपछि जुन गतिमा परिवर्तन र विकासका काम अघि बढ्नुपर्ने हो, त्यो भने धिमा भएको हो कि भन्ने छ । यसबीचमा जनताका इच्छा र आकाङ्क्षालाई पूरा गर्न तीव्रता दिनुपथ्र्याे, त्यो नभएको हुनसक्छ । हामी बहुदलीयता र बहुलवादसहितको खुला समाजमा छौँ । यसमा एउटा पार्टी र संस्थाले चाहेर मात्र गति तय नहुने भएकाले सबैको सहयोग आवश्यक पर्छ । समग्रमा भन्नुपर्दा मैले बिताएको राष्ट्रपतिको कार्यकाल र गणतन्त्र कार्यान्वयनको अवस्था ठीक दिशातर्फ नै उन्मुख छ भन्ने मेरो अनुभव छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली सुदृढीकरणका लागि क–कस्को कस्तो भूमिका आवश्यक पर्छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापम विश्वमै एक उत्कृष्ट राजनीतिक प्रणाली हो । यसलाई सुदृढ तुल्याउन खासगरी मूलधारका राजनीतक दलको सुझबुझ र सहकार्य आवश्यक रहन्छ । उनीहरूले नै राष्ट्रिय एकता र जनताको आकाङ्क्षा पूरा गर्ने सन्दर्भमा जिम्मेवारी निर्वाह गर्न सक्छन् ।

मुलुक हालको शासन प्रणालीमा प्रवेश गर्नुअघि र पछिको स्थितिलाई तुलनात्मकरूपमा कसरी मूल्याङ्कन गर्न सकिन्छ ?

गणतन्त्र भनेको पूर्ण लोकतान्त्रिक पद्धतिको एउटा प्रतीक हो । आवधिक निर्वाचनमा जनताबाट निर्वाचित भई शासन संरचनामा जाने व्यक्ति र व्यक्तित्वहरूको चयन हुने भएकाले हिजो र आजमा धेरै फरक छ । हामी पूर्ण लोकतान्त्रिक परिपाटीमा प्रवेश गरिसकेका छौँ । यो परिवेशलाई देशको आवश्यकता र जनताको आकाङ्क्षाअनुसार अहिलेको विश्व समुदाय र विश्वको विकासको गतिअनुसार हामी अघि बढ्नु सक्नुपर्छ ।

अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा नेपालमा गणतन्त्रपछि जनताले प्रयोग गरेका विभिन्न क्षेत्रका हक अधिकारको उपयोग कस्तो अवस्थामा पाउनुहुनछ ?

हरेक चिज परिपक्क र विकास हुन समय लाग्छ नै । हामी गणतन्त्रात्मक पद्धतिमा प्रवेश गरेको छौँ । यो प्रणालीमा प्रवेश गर्नासाथ जनताका सबै इच्छा, आकाङ्क्षा एउटै आवधिक निर्वाचनमा पूरा भइहाल्छ भन्न पनि सकिन्न । औपचारिकरुपमा २०७२ सालमा संविधान जारी भएपछि मात्र अहिलेको प्रणाली सुरु भएको हो । त्यसअघि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रनुपरेको थियो । राज्यका आधिकारिक संरचनाले यसको लक्ष्य प्राप्तिका लागि पहल गर्नुपर्छ । त्यो भनेको सरकार नै हो । यहाँ राज्यका विभिन्न अङ्ग छन् । उनीहरूले जिम्मेवारीसाथ त्यो काम गर्नुपर्छ । कोरोना महामारीभन्दा अघिको विकासको गतिलाई हेर्ने हो भने झण्डै सात प्रतिशत विकासको दर पुगेको थियो । त्यो भनेको निकै राम्रो नतिजा हो । महामारीले त्यसमा गतिरोध ल्यायो । त्यसमा राजनीतिक अस्थिरताले पनि प्रभाव पार्यो । त्यसकारण त्यही गतिमा जाने स्थिति रहेन । लामो समयदेखिको इतिहासलाई फर्केर हेर्ने हो भने आधुनिक नेपाल निर्माण गर्न पनि केही समय लाग्यो । निर्माणपछि जोगाउन पनि केही समय लाग्यो । लामो समयसम्म भौगोलिक सार्वभौमिकता र राष्ट्रिय अखण्डताको प्रतिरक्षाकै लागि लाग्नुपर्यो ।

त्यही क्रममा निरङ्कुश जहानियाँ शासन ब्यहोर्नपर्यो, त्यो व्यवस्था मनपरी ढङ्गबाट चल्थ्यो । जनताले दुःख पाए । जनताकै सङ्घर्षको प्रतिफलबाट २००७ सालपछि मात्र राज्य र व्यवस्था के हुन्, शासन प्रशासन कसरी चल्नुपर्छ भन्ने कुरा रेखाङ्कन हुँदै आज हामी यो ठाउँमा आइपुगेका हौँ । वास्तवमा राज्य, राज्यव्यवस्था, शासन प्रणाली र सुशासन कसरी गर्ने भन्ने सन्दर्भमा अब मानिसको दृष्टिकोण स्पष्ट भइसकेको छ । निरङ्कुशताको ‘लिगेसी’ र हिजोको सोच बोक्नेले परिवर्तनलाई अझै आत्मसाथ नगरेको अवस्था पनि छ । संसदीय मान्यताअनुसारको राज्य प्रणालीका सबै संरचना अघि बढिसकेका छन् तर पनि पुरानो सोचलाई परिवर्तन हुन त समय लाग्छ । परिवर्तनलाई हामीले समृद्ध राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्छ । राजनीतिक अस्थिरतका कारण विकासको गति ढिलो हुँदा जनताको आकाङ्क्षालाई पूरा गर्न समय लागेको हो ।

अहिले पनि लोकतान्त्रिक गणतन्त्रको अहिले कुनै विकल्प छैन । मुलुकका ठूलो रानीतिक दलले यसलाई नेतृत्व गरेर जानुपर्छ । समाजमा अनुशासनहीनता र प्रतिगमनकारी सोचलाई लोकतान्त्रिक पद्धति र जनमतबाटै निस्तेज गर्दै जानुपर्ने आवश्यकता छ । यो माध्यमबाटै समृद्धि हासिल गर्न सकिन्छ । यसका लागि आधिकारिक संरचनाहरू छन् । ती निकायले जिम्मेवारीपूर्वक सहकार्यका साथ काम गर्नुपर्छ ।

यहाँले भनेजस्तै गणतन्त्रको यात्रा एउटा गतिमा छ तर सुशासनको पाटो कमजोर छ । यसकारण कतै यो प्रणालीकै कमजोरी त होइन भन्ने टिप्पणी सुनिएको छ । प्रणालीलाई बलियो बनाउन सुशासन कायम गर्न के गर्नुपर्ला ?

प्रणाली आफैँमा गलत नभए पनि कहिलेकाहीँ काम गर्ने व्यक्तिहरूका कारण जानेर वा नजानेर नकारात्मक कुराहरू भएका हुन सक्छन् । परिवर्तन हुुनुभन्दा पहिला लामो समयदेखि मुलुक एक प्रकारले थङ्थिलो अवस्थामा थियो । हाम्रो शिक्षा प्रणाली कस्तो थियो र छ ? मानिसहरू शिक्षा र रोजगारीका कारण किन विदेश पलायन भए ? स्वदेशमा रोजगारी र उत्पादनको अवस्था कस्तो छ ? ती सबैलाई मूल्याङ्कन गरेर हेर्नुपर्छ । त्यसैले हामी कुनै एक व्यक्तिले कामका सन्दर्भमा गल्ती गरे भन्दैमा प्रणाली नै खत्तम हो भन्ने निचोडमा जानु हुँदैन। एक जना आमाका १२ जना छोराछोरी होलान्, कुनै एकले केही गल्ती गरे भन्दैमा आमा नै गलत भन्ने सोचमा पुग्नुहुन्छ र ?

अहिले युवाहरूमा नयाँ सोच देखिएको छ । नयाँ नयाँ राजनीतिक दल पनि उदाएका छन् । कतै हामीले गणतन्त्रको प्रतिफल युवाहरूलाई दिन सकेनौैँ कि ?

यो त यस्तो हुन्छ नि, मैले सुन्तलाको बोट रोपेको थिएँ । अहिले फल्न थालेको छ, अनि दानाचाहिँ मैलेमात्रै खानुपर्छ भन्ने सोच कसैले पनि राख्नु हुँदैन । हिजो २००७ सालको आन्दोलनमा आजका युवा थिएनन् । २०३६ साल र २०४६ सालको आन्दोलनमा म थिएँ होला, २००७ सालमा म पनि थिइनँ । अनि अगाडिका कोही होइन भनेर मैले भन्न मिल्छ र ? पुर्खाको इतिहासलाई भुल्न हुँदैन ।

लोकतान्त्रिक गणतन्त्रमा सबैले आफ्ना आवाज बुलन्द गर्न पाउँछन् । राजनीतिमा आजका पुस्ता आउन पाउँछ । आउँछ । तर अग्रज कोही होइनन्, हामी नै विकल्प हो भन्ने सोच राख्नु हुन्न । कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने पनि सोच्नु हुँदैन । राजनीतिमा विभिन्न खालका तरेलीहरू आउँछन् । नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन् । लोकतन्त्र भनेकै यहाँ सबैको उपस्थिति हुनु हो ।

लोकतान्त्रिक प्रणालीमाथि कुनै कमजोरी र गुनासो देखिए यही प्रणालीका माध्यमबाट परिमार्जन गर्दै जान सकिन्छ । मुख्य कुरा हामीले समृद्ध नेपाल बनाउनुपर्छ । आधुनिक नेपाल बनाउनुपर्छ । गणतन्त्रको सार यसमै छ । विगतको जस्तो भाइभाइमा देश अंश लाउने प्रणालीमा त हामी छैनौँ नि ।

सङ्घीयता खर्चिलो भयो भन्ने छ । विकास र समाजिक सेवाका क्षेत्रमा राज्यले ध्यान दिन नसकेको हो कि ?

हामीले राज्य प्रणालीको सञ्चालनका क्रममा कसरी नीति कार्यक्रम र बजेट विनियोजन गरेका छौँ भन्ने हेर्नुपर्छ । राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने गरी शिक्षाको विकास र आधुनिक प्रविधिको उपयोग गर्न सकेका छौँ कि छैनौँ ? कर्मचारी संयन्त्रमा भएका जनशक्तिलाई उचित व्यवस्थापन गरी कार्यसञ्चालनमा प्रविधिको प्रयोग गरी कामका नयाँ क्षेत्रमा कर्मचारीलाई लगाउनुपर्ने हुन्छ । त्यसमा हाम्रो ध्यान जानुपर्छ ।

हामीले भौगोलिक अवस्थितिअनुसार उचित नीति निर्माण गरेर उत्पादनमा जोड दिनुपर्छ । हामी भूपरिवेष्टित र भूजडित देशको अवस्थामा छौँ । यस स्थितिमा आत्मनिर्भतरता र स्वावलम्बी हुने वातावरण सिर्जना गर्नुपर्छ । हामीले उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ । हाम्रो उत्पादन महँगो भएको छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने समस्या हो । त्यसैले मेरो विचारमा प्रदेश वा प्रणाली नै खर्चिलो भयो भन्ने लाग्दैन । उत्पादन वृद्धि र जनताका आकाङ्क्षालाई सम्बोधन गरेर जान सक्नुपर्छ ।

प्रदेश संरचना अनावश्यक भन्ने टिप्पणी त छ नि ?

करिब तीन करोड जनसङ्ख्या भएको मुलुकका हरेकका आफ्ना सोच भएका हुन सक्छन् । सञ्चारमाध्यमबाट ती कुराहरू आएका हुन सक्छन् । उत्पादनमा लाग्ने र काम गर्ने गर्ने हो भने त्यस्ता गुनासा आउँदैनन् । हामी हाम्रो कृषिप्रधान देश अनुकूलको उत्पादनमा जान सक्नुपर्छ । नेपालको धन हरियो वन भन्ने पनि छ । कृषि र वन क्षेत्रबाट हामी गुणस्तरीय उत्पादन गरेर विश्व समुदायलाई सेवा दिन सक्ने अवस्थामा पुग्नुपर्छ । वास्तवमा हाम्रो कृषि र वनमै व्यापार घाटा चुलिँदो छ । त्यसलाई कम गर्न सक्नुपर्छ ।

जलस्रोतका सन्दर्भमा कुरा गर्दा, अहिले विश्वमा जलवायु परिवर्तनको जोखिमको जुन स्थिति छ, हामीले त्यसको असरलाई सन्तुलनमा ल्याउन कोसिस गर्नुपर्ने हुन्छ । हामीसँग त आराध्यादेव पशुपतिनाथको अनुकम्प भनौँ, यस्ता जलधाराहरू छन्, हामीलाई त्यो खानेपानी, कृषि, बिजुली उत्पादन अनेक काममा उपयोग गर्न सकिन्छ । त्यसअनुसार हामीले उपयोग गर्नुपर्ने हुन्छ । त्यसको हामीले उपयोग नगर्ने अनि प्रणालीलाई दोष दिएर हुन्छ र ?

यसबीचमा देश विकासका लागि कसले के–के योगदान गरे ? त्यो हेर्नुपर्छ । आज कोही फुत्त राजनीतिमा निस्किएर प्रणालीलाई गाली गरेर मात्रै हुँदैन । देशमा सशस्त्र द्वन्द्वको अवस्था हुँदा को–को कहाँ थिए, त्यसको आत्ममूल्याङ्कन गर्नुपर्छ । कसले गल्ती गरे ? कसले राम्रो गरे ? त्यसको मूल्याङ्कन हुनुपर्छ । म पद बहालमा हुँदा मैले भेटघाट गर्ने क्रममा राज्यका महत्वपूर्ण पदाधिकारीलाई अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र भौगोलिक अवस्थितिअनुसारको नीति योजना बनाएर काम गर्न सधैं भनिरहन्थेँ । हामीले प्रणालीलाई बलियो र जनतालाई प्रतिफल दिन सबैले पहल गर्नुपर्ने हुन्छ ।

गणतन्त्रको संस्थागत विकास गर्दै आर्थिक समृद्धिका लागि जोड दिने गर्नुहुन्थ्यो तर राष्ट्रपति पद संवैधानिक हैसियतमा हुने भएकाले कामको परिणामबारे राज्यका निकाय जिम्मेवार हुने गर्छ । यस अर्थमा गणतन्त्रको सुदृढीकरणमा राष्ट्रपति संस्थाको भूमिका कस्तो हुन्छ ?

महत्वपूर्ण हुन्छ । राष्ट्रपति संस्था भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको उच्च रुप हो । ती सबैको कामको परिणामको जस अपजस राष्ट्रपति संस्थालाई पनि जान्छ । जो घरको मुली छ, उसलाई जस अपजस जानु अन्यथा होइन । हामी सबैले आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ ।

अन्त्यमा, सोहौँ गणतन्त्र दिवसका अवसरमा आम नेपालीलाई के सन्देश दिन चाहनुहुन्छ ?

म गणतन्त्र दिवसका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र लोकतन्त्रको उच्चतम् रुप हो । आजको देशको आवश्यकता समृद्व राष्ट्र, सुखी राष्ट्र र अनुशासित राष्ट्र निर्माणका लागि सबैको साथ, सहयोग र सहकार्यको आवश्यकता छ । म सबैलाई एकजुट भएर अघि बढ्न शुभकामना दिन चाहन्छु ।

सरकारको नेतृत्वले आफ्नो मान्छे छान्ने प्रवृत्तिलाई हटाउनुपर्छः पूर्वराष्ट्रपति यादव(अन्तरवार्ता)

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गरेका छन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल र जनता सजग रहेकाले गणतन्त्रमा आउनसक्ने जस्तोसुकै चुनौतीलाई सहजरुपमा पार लगाउने विश्वास व्यक्त गरे ।

प्रथम राष्ट्रपति डा यादवले भने, “हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूल बाटो हो । हामी सबै लोकतन्त्रवादी यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।”

मुलुकमा १० वर्षे लामो सशस्त्र विद्रोह अन्त्य गर्न तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्तिसम्झौता भएको थियो । शान्ति सम्झौताअनुरुप संविधानसभाको निर्वाचन र तत्कालका लागि अन्तरिम संविधान जारी गर्दै द्वन्द्व व्यवस्थापन गर्न दुवै पक्ष सहमत भए ।

उक्त सहमतिअनुसार, विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो भने विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाह वंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो ।

राजतन्त्र अन्त्यको घोषणापछि भएको राष्ट्रपति निर्वाचनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएका तराई–मधेसमा मध्यमवर्गीय परिवारमा जन्मिएका डा रामवरण यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए ।

उनले मुलुकको अभिभावक र नागरिक समाजको अगुवाको भूमिकामा रही संविधान र सङ्घीयता कार्यान्वयनलगायत देशमा भइरहेका घटना तथा परिघटनालाई नजिकबाट नियाल्दै आएका छन् ।

मुुलुकका जल्दाबल्दा विषयवस्तु र घटनाक्रममा केन्द्रित रही गणतन्त्र दिवसका अवसरमा उनीसँग राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाताद्वय नारायण न्यौपाने र भीष्मराज ओझाले लिएको अन्तरवार्ताको सम्पादित अंशः

-अहिले यहाँको दिनचर्या कसरी अघि बढिरहेको छ ?

उम्मेरका कारण हुने रोग र समस्याले चुनौती खडा गर्छ । राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएको केही महिनामै बिरामी परे । त्यसको उपचार भयो । त्यो अहिले ठीक छ । दिनचर्याको रुटिन छ । तापनि पेटको रोग, मधुमेह, उच्च रक्तचाप छ । बिहान उठेर ५ बजेदेखि हिँड्छु, शारीरिक व्यायाम गर्छु । खाना खान्छु । औषधि खान्छु । समाजका विभिन्न क्षेत्रका मानिससँग भेटघाट हुन्छ । देशको समसामयिक विषयमा कुराकानी हुन्छ । समय पाएँ भने किताब पढ्छु । यसरी नै बितिरहेको छ, जीवन ।

-मुुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भएपछि डेढ दशकको अवधिमा भएको अभ्यासलाई कसरी हेर्नुभएको छ ?

जनताका हकअधिकारको लडाईंको इतिहास लामो छ । विसं २००७, २०४६ र ०६२/६३ को परिवर्तनपछि र लामो सङ्क्रमणपछि संविधानसभाबाट संविधान बनाएर अहिले अघि बढिरहेका छाैँ, यो सुखद पक्ष हो । सकारात्मक पक्ष भनेको सङ्घ, प्रदेश र स्थानीय तहको दुई पटक चुनाव भए । नियम, कानुनअनुसार शक्तिको बाँडफाँट क्रमशः संस्थागत भइरहेको छ । संविधानको मर्म र भावनाअनुसार स्थानीय तहलगायत तीन तहमै समानुपातिक र समावेशी सिद्धान्तअनुरुप प्रतिनिधित्व भएको छ । देशमा हिमाल, पहाड र तराई भएजस्तो धर्म, जातजाति र समुदायको विविधता छ, लोकतन्त्रमा सबैलाई समेटेर जाने सकारात्मक पक्ष हो । तथापी केही कुरा व्यवस्थित भएको छैन, आर्थिक अनुशासन कायम हुन सकेको छैन ।

जनतालाई लोकतन्त्रमा खेल्न दिनुपर्छ, अहिले हामीले बनाएको संविधान लोकतन्त्रको मूल बाटो हो । जनताको आर्शिवादले राजनीतिक दलले बुद्धि पुर्याए एउटा संविधान बनाए यो सुखद पक्ष हो । अहिलेको अभ्यासमा सबैखाले शक्तिले आत्मसात गरिसकेको छ । जनता शिक्षित भइसकेका छन्, सजग छन् । संसद्बाट कानुन तथा केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी दिनुपर्छ ।

मुख्य राजनीतिक दलले संविधान पूर्ण लागू गर्ने विषयमा विशेष ध्यान पुर्याउनुपर्छ । चुनावमा विकृति छ धेरै खर्च भइरहेको छ । अभ्यास गर्दै देखिएका कमीकमजोरलाई सच्याउँदै अघि जानुपर्छ । कुनै पनि संविधानको सफलता कार्यान्वयन गर्ने व्यक्तिमा भरपर्छ । नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र समानुपातिक भएकाले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलको हो भने त्यसको अभ्यासबारे नागरिक समाजले खबरदारी गर्नुपर्छ ।

-गणतन्त्रलाई थप सुदृढ तुल्याउन समाजका क–कसको थप मुख्य भूमिका आवश्यक पर्छ ?

संसदीय प्रणालीमा कार्यपालिका, न्यायपालिका र विधायिका शक्ति पृथकीकरणका आधारमा हुन्छ । सरकार कानुन विधि प्रक्रियाअनुरुप काम गर्दै संसद्प्रति उत्तरदायी हुनुपर्छ । बेलायतमा हेर्नुभयो भने जति समस्या पर्छ त्यो सबै संसद्ले हल गर्छ । नेपालमा पार्लियामेन्टलाई जहिले पनि अवरोध गर्ने प्रयास गरिन्छ । संसदीय प्रणालीमा जनता सार्वभौम हुन्छन् । जनप्रतिनिधिले नै मुलुकको समस्या समाधान गर्नुपर्छ भन्ने मान्यता हो । सरकार जहिले पनि संसद्प्रति उत्तरदायी हुनुपर्छ । अहिले नयाँ संसद् छ, पहिलेभन्दा भाइब्रेन्ट छलफल भइरहेको छ । त्यहाँको छलफल र बहसले जनता शिक्षित हुन्छन्, सुधारको ठाउँ पनि रहन्छ । छलफल र बादविवादले नै विषयवस्तुलाई निष्कर्षमा पुर्याउँछ । साथै अदालतलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न दिनुपर्छ । तीनवटै निकायको आ–आफ्नो कार्यक्षेत्र र परिधि छ । सबैले सीमाभित्र बसेर कार्यजिम्मेवारी पूरा गर्नुपर्छ । राज्यलाई क्षमता बाहन व्यक्ति छनोट गरिनुपर्नेमा भागबण्डमा छान्ने प्रवृत्ति विकृति हो । यस्ता गतिविधि संसदीय व्यवस्थामा जनताको दबाबले सुधार हुँदै जान्छ ।

-मुलुकमा गणतन्त्र स्थापना अघि र पछिको समयलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

गणतन्त्र स्थापनापछि समाजका विभिन्न जातजाति समुदाय र क्षेत्रबाट हुने प्रतिनिधित्वमा तुलनात्मक सुधार भएको छ । सङ्घीयतालाई खर्चिलो भयोभन्दा पनि व्यवस्थित र राम्रो बनाएर लैजानुपर्छ भन्ने जिम्मेवारी सरकार र राजनीतिक दलको छ । चुनाव खर्चिलो छ, यसले योगदान पुर्याएका असल मान्छे आउन सकेका छैनन् । त्यस्ता विकृति हटाउनुपर्छ । अहिले अर्थतन्त्र कमजोर छ, देश सुन्दर भए पनि हामीले कृषिलाई प्राथमिकता, पर्यटन र औद्योगिक क्षेत्रको विकास र विस्तार गर्न सकेनौँ । अर्थतन्त्र रेमिटेन्सबाट मात्र धान्ने अवस्था हुनु भनेको कहीँ गल्ती भएको छ भन्ने हो । यस्ता विषयमा समाजका विभिन्न क्षेत्रका विज्ञसँग बहस गरी समाधानका उपाय खोज्नुपर्छ । देशको एकता र अखण्डतालाई कायम गर्दै छिमेकीसँगको सम्बन्धलाई विस्तार गर्नुपर्छ ।

-गणतन्त्र स्थापनापछि सामान्य जनताका सेवासुविधा र हकअधिकारको पाटोलाई कसरी नियाल्नुभएको छ ?

गणतन्त्र स्थापना र नेपालको संविधान जारीपछिलगत्तै मुलुकमा विभिन्न चुनौती आइपरे । यसबीचमा कोभिड महामारी, महाभूकम्पजस्ता विपत्ति झेल्नुप¥यो । अन्तर्राष्ट्रियरुपमा पनि देशदेशबीच लडाईं, महँगी भइरहेको छ । त्यसले संसारमै गरिबी बढेको छ । यस्तो अवस्थामा सामान्य जीवनयापनमा कठिनाइ छ । तथापी, सडक, प्रविधि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारका क्षेत्रमा ठूलो परिवर्तन भएको छ । लोकतान्त्रिक व्यवस्थामा जनताको बोल्न पाउने अधिकार हो । अहिले पनि दलीत र पछि परेको वर्ग समुदायलाई सबै क्षेत्रमा समेट्न नसके पनि सबैका आवाज सम्बोधान गर्न कानुन भने निर्माण भएका छन् । तीन तहको सरकारको मुख्य जिम्मेवारी भनेको जनताका समस्या र मागलाई सम्बोधन गर्नु नै हो । आशा गरेअनुरुप नभए पनि केही काम अघि बढेको छ । लोकतान्त्रिक प्रणाली र पद्धतिमा विस्तारै परिणाम प्राप्त हुन्छ ।

-मुलुकको जिम्मेवार पदमा रहेका व्यक्ति नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका र उनीहरुको अनुसन्धान जारी भइरहेकै बेला मुलुकको पश्चिमी क्षेत्रमा अभिनन्दन कार्यक्रम भएको घटनालाई कसरी हेर्नुहुन्छ ?

देशका कानुन निर्माण र लागू गर्ने ठाउँमा बस्नेबाटै विकृति देखियो, यसले मुलुकका अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रियो । गलत मान्छेका कारण राज्य पद्धतिमा यस्ता घटना कहिलेकाहीँ हुन्छन् । त्यसलाई विधानअनुसार कारबाही गरिनुपर्छ । जनप्रतिनिधिले इमान्दारपूर्वक काम गरे÷नगरेको जनताले खबरदारी गरिरहेको हुन्छ, यही हो नै लोकतन्त्र हो । देशभर र काठमाडाैँका सडक विरोध अनि मिडियामा हेर्नुस् त त्यसबारे कति लेखिएको छ । त्यस्ता घटना भएपछि जो कोही भए पनि अनुसन्धान गर्न बाधा पुर्याउन हुन्न । बाधा पुर्याउन खोजियो भने जनताले गर्ने खबरदारीले त्यसमा दबाब पर्छ, छिटो अनि शतप्रतिशत कारबाहीमा परुन् भन्ने जनताको चाहना हुन्छ तर ९० प्रतिशत भयो भने पनि हामीले त्यसलाई सकारात्मकरुपमा लिनुपर्छ । बाँकीको त त्यसै सातो गइहाल्छ नि । विस्तारै नतिजा हासिल हुने लोकतन्त्रको पद्दती नै हो ।

अब रह्यो अभिनन्दनको कुरा संसारमा परम्परावादी शक्ति अहिले पनि छन् । उदाहरणका लागि जर्मनीमा हिटलरका कार्यकर्ता अझै पनि सलमलाएकै देखिन्छ । अमेरिकामै पनि लोकतन्त्रको ठूलो इतिहास अर्थात् भाइब्रेन्ट डेमोक्रेसी छ, तर पनि कहिलेकाहीँ कस्ताकस्ता मान्छे चुनिन्छन् देखिरहेकै छौँ । कुनै मुलुकमा कहिले धार्मिक कुरा उठाएर त्यस्ता शक्तिले जनतालाई दिग्भ्रमित तुल्याउन खोज्छन् । यस्ता कुरा आए, भए भनेर आत्तिन हुन्न घरबराउनु हुन्न । हतियार उठाएर देशै विभाजन गर्छु भन्ने शक्तिसमेत लोकतन्त्रको अभ्यासमा आइसकेको अवस्थामा केही कतै पुराना अतिवादी शक्तिलाई धेरै महत्व दिएर चर्चामा ल्याउनुको कुनै औचित्य छैन । जनता धेरै शिक्षित भइसकेका छन् । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले इमान्दारीकासाथ काम गर्नुपर्छ । अरु विषयमा धेरै चिन्ता लिनुपर्दैन ।

-पछिल्ला समय सङ्घीयता अर्थात् प्रदेशसँग जोडेर अलि खर्चिलो भयो, मुलुकले धान्न सक्दैन कि भन्ने पाटोबाट प्रश्न उठाइएको छ, यसलाई यहाँले कसरी र्हेनुभएको छ ?

हाम्रो विविधतालाई समेटेर एकता कायम गर्न सङ्घीयता ल्याइएको हो । अभ्यास गरेको भर्खर आठ वर्ष भएकाले सङ्घीयताबारे अहिले नै सफल असफल भनेर मूल्याङ्कन गर्ने बेला भएको छैन । सफलतातर्फ लैजान नै हामी सबैको प्रयास हुनुपर्छ । तीन तहका लागि चाहिने आवश्यक कानुन निर्माण गर्नुपर्यो । समाञ्जस्यता हुनुपर्यो । विकृतिलाई कम तुल्याउँदै गइयो भने खर्चिलो भए पनि जनताको हितमा रहेकाले उनीहरुले ग्रहण गरेकै छन् । हिमाल, पहाड, तराई र दूरदराजमा जहाँ गए पनि जनताले सङ्घीयताको अभ्यासलाई कही कतै प्रश्न उठाएको देखिन्न । कार्यान्वयन गर्न संविधानअनुरुप के–कस्ता कानुन बनाउनपर्ने हो, त्यसतर्फ बढी ध्यान दिनुपर्छ ।

-गणतन्त्र, लोकतन्त्र र सङ्घीयताको अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा भइरहेको अभ्यासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

संसारका हरेक विषयमा सकारात्मक र नकारात्मक पाटो दुबै हुन्छ । २१औँ शताब्दीमा संसारका घटना र परिघटनाको अनुभव लिएर हामी अघि बढिरहेका छौँ । यो व्यवस्थाको विकल्प छैन । लोकतन्त्रपछि कुन शासन पद्धति ल्याउने त ! विगतका आन्दोलन सफल भएर नै लोकतन्त्र र गणतन्त्र ल्याएका छाैँ । संसारका सभ्य समाज र देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणालीमा हामी छौँ । लोकतन्त्रको विकल्प भनेको सुधारसहितको लोकतन्त्र मात्रै हो । अझै समावेशी भने गर्न सकिन्छ । हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्था हो, यो समावेशी र समानुपातिक छ, यसमा सबै धर्म, समुदाय र वर्ग समेटिको छ । यो ठूलो कुरा हो, यो उन्नत पनि छ । मुलुक चलाउने मुख्य जिम्मेवारीमा रहने कार्यकारी प्रमुख प्रधानमन्त्रीले यो व्यवस्थालाई बलियो तुल्याउने र अभ्यासमा लैजान अत्यन्त जरुरी छ, त्यो प्रभावकारी भइरहेको महसुस भएन । सरकारको नेतृत्वले इमान्दारीपूर्वक सही व्यक्तिको छनोट गर्नुको सट्टा शिक्षा, स्वास्थ्य, प्रशासनमा राम्रोभन्दा आफ्नो मान्छे छान्ने प्रवृत्ति छ, त्यस्तो विकृतिलाई हटाउनुपर्छ ।

-यो राजनीतिक प्रणालीलाई स्थापित गर्ने तथा लोकतन्त्रलाई सुदृढ तुल्याउने सन्दर्भमा राष्ट्रपतिको भूमिका कस्तो रहन्छ ?

संविधानको रक्षक, पालक, एकताको प्रतिक र देशको अभिभावककारुपमा राष्ट्रपतिलाई लिइएको छ । राष्ट्रपतिको जिम्मेवारी यसअघि दुई जनालाई सम्हाल्ने अवसर प्राप्त भयो । सङ्क्रमणकाल रहेकाले संविधानको परिधिभित्र रही मैले आफ्नो क्षमताअनुसार काम गरे । तत्कालीन अवस्थामा रहेको शान्ति प्रक्रिया र सङ्क्रमणकालको अवस्थामा लोकतन्त्रलाई जोगाउन भूमिका निर्वाह गरे भन्ने लाग्छ । त्यसपछि राजनीति दलले एउटा साझा प्रधानमन्त्री दिन नसक्ने अनि अदालतले संविधानसभाको समयसीमा तोक्ने जस्ता काम भए । दलले पनि संविधान बनाएर दिन नसक्ने अवस्था भयो । राजनीतिक दलको त्यो कमजोरी राष्ट्रपति संस्थामा ठोकियो । त्यसपछि प्रधानन्यायाधीशलाई चुनाव गराउने जिम्मेवारी दिनुपर्यो । साधन नराम्रो भए पनि साध्य अर्थात् गन्तव्य ठीक हुन्छ भनी जोखिम लिएर अप्ठ्यारो परिस्थितिमा प्रधानन्यायाधीशलाई जिम्मेवारी दिएर चुनाव गराइयो । जनसहभागिता राम्रो रह्यो । त्यसपछि सबै शक्ति एकै ठाँउमा उभिएर संविधान जारी गर्ने वातावरण बन्यो, के त्यो सुखद पक्ष होइन र ! अर्काे राष्ट्रपतिको समयसम्म आइपुग्दा समय बेग्लै र जनता धेरै शिक्षित र जानकार भइरहेको अवस्था रह्यो । अहिले रामचन्द्रजी भर्खर राष्ट्रपति हुनुभएको छ, उहाँको लामो राजनीतिक सङ्घर्षको इतिहास छ, सविधानको रक्षाका लागि चनाखो भएर बस्नुपर्छ, त्यो सजगता गर्नुहुने विश्वास छ ।

-पूर्व राष्ट्रपति मुलुकको प्रतिष्ठित चिकित्सक भएकाले सरकारी अस्पतालमा गएर स्वास्थ्यको पाटोबाट जनतालाई सेवा गर्नु उपयुक्त हुन्छ कि भन्ने जनताको सुझाव छ, यसमा यहाँको दृष्टिकोण के छ ?

मप्रतिको सुझाव, जनताको सही चाहना हो । वास्तविकरुपमा भन्नुपर्दा राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि बिरामी परेँ । शल्यक्रिया गर्न पर्यो, लामो नियमित उपचारमा रहनु पर्यो । केही वर्ष त्यसैमा बित्यो । अहिले पेटको रोग छ, समयमा खाने, सुत्ने, ढाड र गोडाको व्यायाम गर्नेजस्ता नियमित गर्नुपर्छ । शरीरले काम गर्न दिइरहेको छैन, इच्छा भएर पनि यो अवस्थामा मैले बिरामीलाई न्याय गर्न सक्दिन । बिरामीप्रति न्याय गर्न सकिने भने त्यो देखावटी मात्र हुन्छ । स्वास्थ्य ठीक रहेका बेला १२ घन्टासम्म नियमित काम गरेको कुरा जो कोही जनकपुरवासीलाई सोधे हुन्छ । जनताको चाहनालाई सम्मान गर्छु ।

-गणतन्त्र दिवसका अवसरमा नेपाली जनतालाई यहाँको केही सुझाव वा सन्देश छ ?

हामी जुन लोकतन्त्रमा छौँ, त्यसमा मिडिया भाइब्रेन्ट छ, जनता सचेत छन्, कहाँ अनियमिता र गलत छ भन्नेमा पनि सामान्य जनता भइरहेको अभ्यासलाई राम्रोसँग बुझिरहेका छन् । लोकतन्त्रलाई सुदृढ तुल्याउन जनता सजग भइरहनुपर्छ । समावेशी सिद्धान्तलाई आत्मसात गरेपछि महिला, दलित, मधेसी, आदिवासी जनजातिलगायत विभिन्न समुदायका हजारौँहजार व्यक्ति स्थानीय तहमा निर्वाचित भएको अवस्था छ । सबैलाई लिएर हिँड्ने लोकतन्त्रको जहाज अलिअली ढलमल गरे पनि सहीरुपमा समयमै सुरक्षित साथ गन्तव्यमा पुग्नेछ । अहिले जनता सजग छन् जस्तोसुकै चुनौतीलाई पनि पार गर्छन् । हामीले अभ्यास गरिरहेको लोकन्त्र सुन्दर र सही छ, संविधान लोकतन्त्रको मूल बाटो हो । यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।

उत्तर कोरियाद्वारा पुनः दुई वटा क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले मंगलबार पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो ।

उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी वासिङ्टन र सोलबीचको रक्षा सहयोग घनीभूत भएको छ । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा हतियारको होडबाजनी र परीक्षणको शृङ्खला तीव्र भएको छ ।

दक्षिण कोरियाका एक जना वरिष्ठ सैनिक अधिकारीका अनुसार मंगलबार प्रक्षेपण गरिएका क्षेप्यासत्र ६ सय २० किलोमिटरसम्म उडेका थिए । उनले आफ्नो सैनिक दस्ताले निगरानी र सतर्कतालाई सुदृढ बनाएको बताएका छन् ।

जापान सकारका प्रवक्ता हिरोकाजु मात्सुनोले क्षेप्यास्त्र आफ्नो देशको जलक्षेत्रमा नखसेका बताएका छन् । यद्यपि उनले उत्तर कोरियाबाट थप उत्तेजक कारबाही हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नाउँको अमेरिका–कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहने छ ।

अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ । उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ । प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ ।

साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ ।

आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषिकर्ममा जोड दिएका थिए ।

उनले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका थिए ।

जनतालाई अर्थतन्त्र थप बिग्रन नदिने विश्वास दिलाएका छौँः अर्थमन्त्री(अन्तरवार्ता)

काठमाडौं । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ ।

कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण हुने गरेको छ । चालू आर्थिक वर्षका लागि राखिएको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नहुने सरकार आफैँले बताइसकेको छ भने मूल्यवृद्धिको सात प्रतिशतको बाञ्छित सीमा नाघेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ । चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीदेखि आम नागरिकले ऋण तिर्न सक्ने अवस्था छैन । वर्तमान सरकारले अर्थतन्त्रको सुधारका लागि केही प्रयास सुरु गरेसँगै त्यसको परिणाम पनि केही हदसम्म देखिन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारको विषयलाई ‘जीवन मरणको लडाइँ’का रुपमा चित्रण गरेका छन् ।

मुलुकको अर्थतन्त्रको यस्तो अवस्था सुधारका लागि सरकारले चालिरहेको कदमबारे उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र हेमन्त जोशीले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

मानिस बिरामी हुँदा परीक्षण गर्ने विशेषज्ञ छन्, तर मुलुकको अर्थतन्त्र बिरामी हुँदा त्यसबारेमा हेरिदिने र परीक्षण गर्ने विशेषज्ञ नै भएनन् भन्ने कोणबाट टिप्पणी भइरहेको छ । यसलाई अर्थमन्त्रीका रुपमा यहाँले कसरी लिनुभएको छ ?

–विशेषज्ञ नभएको होइन, हुनुहुन्छ । विशेषज्ञको सल्लाह लिने हो । आवश्यकताअनुसार सल्लाह लिइरहेकै पनि छौँ । विशेषज्ञ निर्णायक ठाउँमा रहनुपर्छ । उनीहरु नीति निर्माण गर्ने तहमा र मन्त्रालयको नेतृत्व गर्नुपर्छ भन्ने कोणबाट पनि यो विषयको चर्चा भएको हुनसक्छ । विशेषज्ञका लागि पनि ठाउँ खुला छ नि । जनप्रतिनिधिभन्दा बाहिरबाट मन्त्री हुन नपाउने हाम्रो संवैधानिक व्यवस्था छ । यदि बनाउने नै हो भने छ महिनाभित्र जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आउनुपर्छ । विशेषज्ञहरु मन्त्रालयको नेतृत्व गर्ने हो भने उहाँहरु जनताको प्रतिनिधि भएर आउनुपर्छ । धेरैभन्दा धेरै जनप्रतिनिधि विशेषज्ञ भएर आउनुहोस् भन्ने पनि हाम्रो अपेक्षा छ । त्यसका निम्ति उहाँहरुले इच्छा व्यक्त गर्नुपर्‍यो, राजनीतिक अभ्यासमा सरिक हुनुपर्‍यो, चुनाव लड्नु पर्‍यो ।

सरकारले विशेषज्ञसँग परामर्श गर्छ । उहाँहरुका सुझाव लिन्छ । दुनियाँभरको अभ्यास यही हो । नेपालमा अर्थ मन्त्रालयको नेतृत्व विषय विशेषज्ञले कहिल्यै सम्हालेनन् भन्ने होइन । विभिन्न कालखण्डमा अर्थशास्त्रका अगुवाहरुले पनि अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ । अर्थतन्त्रभन्दा बाहिर नितान्त राजनीतिक पृष्ठभूमिबाट आउनुभएका व्यक्तिले पनि सम्हाल्नुभएको छ । अर्थमन्त्रीका रुपमा जुन–जुन व्यक्तिले काम गर्नुभयो, उहाँहरुको वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । हालसम्म अर्थ मन्त्रालय सम्हाल्नुभएका सबैप्रति मेरो आदर भाव र सम्मान छ । तर सबैले आ–आफ्नो कालखण्डको जिम्मा त लिनैपर्छ । म अहिले तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारीमा छु । मैले अघिल्ला दुई कार्यकालमा गरेका कामको जिम्मा लिन्छु । मेरो कार्यकालका यदि केही कमीकमजोरी रहेछन् भने सच्याउन तयार छु । आलोचनालाई सकारात्मक ढङ्गले नै लिन्छु ।

म पहिलोपटक अर्थमन्त्री हुँदा भूकम्पपछिका पुनर्निर्माणको अभिभारा हामीसँग थियो । भारतको नाकाबन्दीको सामना मुलुकले गरिरहेको थियो । त्यो बेला अर्थतन्त्रले ठूलो सङ्कट भोगिरहेको थियो । त्यो सङ्कटको सामना गर्दै र अर्थतन्त्रका समस्यालाई समाधान गर्दै लयमा फर्काउन र सकारात्मक प्रगति गर्न सम्भव भएको थियो । म पहिलोपटक अर्थमन्त्री हुँदा जुन अवस्थामा अर्थतन्त्र थियो र मैले छोड्ने बेलाको अवस्थाका सूचकहरु हेर्दा मलाई त्यसमा सन्तोष छ । दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा विश्वव्यापी कोभिड महामारीको प्रभाव थियो । समग्र जनजीवन र अर्थतन्त्र गम्भीर रुपमा प्रभावित थियो । जिम्मेवारीबाट मुक्त हुँदा पनि एकाधबाहेक अधिकांश सूचक सकारात्मक नै थिए । दोस्रो कालखण्डको आफ्नो कामसँग पनि म सन्तुष्ट छु ।

प्रधानमन्त्रीले आइतबार एक कार्यक्रममा अर्थतन्त्र सुधारको विषय यो सरकारको सफलता र असफलतासँग जोडिएको मात्रै नभई जीवन मरणको विषय हो भन्नुभयो । हाम्रो अर्थतन्त्र त्यति भयावह अवस्थामा पुगेको हो ?

–वर्तमान सरकारले जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि नै हामी अर्थतन्त्रका समस्या चिन्न, चिर्न र समाधान खोज्नमा ध्यान केन्द्रित गरेका छौँ । पछिल्ला दिनमा अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सकारात्मक सुधार पनि देखिन थालेका छन् । परिसूचकले त्यही कुरा बताइरहेका छन् । तर कतिपय सूचकमा हामी अहिले पनि समस्यामै छौँ । त्यो तथ्य सार्वजनिक नै छ । खासगरी अहिले हामी उत्पादन, रोजगारी, राजस्व परिचालन, पुँजीगत खर्च, सरकारी कोष सन्तुलन, तरलता, ब्याजदरलगायत विषयमा समस्यामा छौँ । यो कुनै लुकेको कुरा होइन । प्रधानमन्त्रीले यो विषय कुन कोणबाट राख्नुभएको हो भने हामी अर्थतन्त्रका समस्यालाई समाधान गर्दै अर्थतन्त्रलाई लयमा फर्काएर गतिशील ढङ्गले अगाडि बढ्न सक्नुपर्ने हाम्रो मुख्य अभिभारा हो भन्ने दृष्टिकोणबाट उहाँले यो कुरा बोल्नुभएको हो । जुन स्वाभाविक नै हो ।

तपाईंले अर्थमन्त्रालय सम्हाल्नुभएको करिब दुई महिना हुन लाग्यो । सरकारले आइतबार मात्रै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । यो अवधिभर तपाईंले अर्थमन्त्रीका रुपमा बुझ्नुभएको नेपालको अर्थतन्त्रको हालको अवस्था कस्तो छ ?

–अहिले खासगरी राजस्व परिचालनमा हामी पछाडि छौँ । पछाडि पनि कुन अर्थमा भने करिब ५५ वर्षअगाडि यसप्रकारको समस्या देखिएको थियो । चालु आर्थिक वर्षको राजस्व लक्ष्य मात्रै होइन, गत वर्ष समीक्षा अवधिमा जति राजस्व परिचालन गरिएको थियो, त्यसको तुलनामा पनि हामी निकै पछाडि छौँ । यस्तो अवस्था हाम्रो देशमा साढे पाँच दशकपछि देखिएको हो । त्यसकारणले मेरो विचारमा यो निकै गम्भीर समस्या हो । आन्तरिक राजस्वले चालु खर्च नै धान्न नसक्ने र गत वर्षको भन्दा पनि कम राजस्व उठ्नु भनेको निकै गम्भीर हो । अर्को कुरा, अहिले हाम्रो सञ्चित कोष पनि चिन्ताकै तहमा छ ।  एक खर्ब ३९ अर्ब ऋणात्मक छ । यो अवस्थालाई हामी कसरी दुरुस्त गर्छौं भन्ने मुख्य प्रश्न छ ।

पुँजीगत खर्च हुन सकिरहेको छैन । यसको प्रभाव समस्त आर्थिक क्रियाकलापमा परेको छ । तरलता व्यवस्थापन र राजस्वमा पनि परेको छ । पुँजीगत खर्चमा रहेको न्यूनतालाई हामी कसरी सम्बोधन गर्छौं र कसरी समाधान गर्छौं भन्ने प्रश्न हाम्रोसामू छ । यी र यस्ता केही विषय छन्, जसलाई हामीले निकै गम्भीरताका साथ लिनुपर्नेछ ।

नेपालले चालु आर्थिक वर्षको छ महिनामा गरेको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थामा गरेको खर्च बढी देखियो । वित्तीय व्यवस्थापन शीर्षकको बजेट सामान्यतः सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि प्रयोग हुने बजेट हो । यसको अर्थ हामीले गरिरहेको विकास खर्चभन्दा तिरिरहेको ऋण साँवा ब्याज बढी रहेछ । पुँजीगत खर्च बढाउनका लागि संविधानमै जेठ १५ मै बजेट ल्याउनैपर्ने व्यवस्था गरियो तर पनि पुँजीगत खर्च बढ्न सकेन । वास्तविक समस्या कहाँ रहेछ ?

–जेठ १५ गते बजेट ल्याउँदा त्यसको कार्यान्वयनमा सहज हुन्छ र खर्चको प्रभावकारिता बढ्छ भन्ने हिसाबले हामीले सोच्यौँ । त्यो आफँैमा नराम्रो कुरा थिएन । तर तोकिएको समयमा बजेट ल्याएर मात्र पुग्दैन भन्ने कुरा यसबीचको अनुभवले हामीलाई बताएको छ । सार्वजनिक खरिद ऐनलगायतका हाम्रा कानुनी प्रबन्धहरुमा एक खालको पुनरावलोकन, परिमार्जन र परिष्कृत गर्न आवश्यक छ । हाम्रा संरचनागत प्रबन्धमा पनि पुनरावलोकन गर्नुपर्ने मैले देखेको छु । खर्च व्यवस्थापनका दृष्टिकोणले सम्बन्धित मन्त्रालयको लेखाउत्तरदायी अधिकारीलाई जवाफदेही बनाउनेलगायतका विषयमा पनि समस्या छन् ।

अहिले हाम्रासामू पुँजीगत खर्चको विषय मात्र होइन, योसँगै जोडिएको अर्को महत्वपूर्ण कुरा के हो भने जुनसुकै आयोजनामा पनि मुख्यगरी तीनवटा चुनौतीको सामना गर्नुपरेको छ । पहिलो समस्या भनेको सम्बन्धित आयोजना प्रक्षेपित लागतमा सम्पन्न हुँदैन । दोस्रो समस्या आयोजना निर्धारित समयमा सम्पन्न हुन सक्दैनन् । र, तेस्रो समस्या भनेको त्यो आयोजना गुणस्तर रुपमा सम्पन्न हुँदैनन् । पूर्वाधार निर्माणका क्षेत्रमा हामीले हामीले भोगेका मुख्य तीन समस्या हुन् । तोकिएको समय लागत र गुणस्तरमा हामीले आयोजना सम्पन्न गर्न सकेका
छैनौं । समय आफैंमा मूल्य हो। समयमा आयोजना सम्पन्न हुन नसक्दा हामीले त्यसबाट लिनुपर्ने लाभ गुमाउँदै । गुणस्तरीय रुपमा आयोजना सम्पन्न हुन नसकेपछि त्यसले स्वाभाविक रुपमा मर्मतसम्भारलगायत खर्च बढाउँछ । यस्ता जटिलता हाम्रासामू छन् । यी समस्यालाई सम्बोधन गर्न अब हामीले हाम्रा कानुनी प्रावधानमा, संरचनागत व्यवस्थाहरुमा जिम्मेवारी र जवाफदेहिताको प्रश्नमा प्रवेश गरेर पुँजीगत खर्चमा देखिएको न्यूनताको समस्यालाई स्थायी रुपमा समाधान गर्ने प्रयास गर्नुपर्नेछ ।

 राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई अघि बढाउनका लागि छुट्टै कानुन चाहिन्छ भनेर पटक–पटक कुरा उठ्ने गरेको छ । तपाईंले सङ्केत गर्नुभएको सरकारको तयारी भनेको के हो ? के सरकारले त्यस्तो कानुन ल्याउँदैछ ?

–राष्ट्रिय गौरव र अन्य महत्वका आयोजनाका लागि छुट्टै कानुन चाहिन्छ भन्ने कुरा आफैँमा एउटा विषय हो । त्यसबाहेक सबै खालका पूर्वाधार आयोजनाको काममा तीव्रता दिनका लागि पनि विभिन्न कानुनी र संरचनागत सुधार आवश्यक छ । कुनै पनि आयोजनाको लागत र समय बढ्नु भएन । त्यसको गुणस्तर कमजोर हुन भएन । त्यस हिसाबको कानुनी प्रबन्ध हामीले गर्नुपर्नेछ । त्यसको तयारीमा सरकार लागिसकेको छ । सार्वजनिक खरिद ऐनमा सान्दर्भिक संशोधनदेखि लिएर अन्य आवश्यक निर्णय सरकारले गर्छ । यो झन्झट, समस्या र जटिलताको हामी निराकरण गर्छौं ।

 राजस्व सङ्कलनमा देखिएका समस्या हामीले अवलम्बन गरेको नीतिगत र कानुनी प्रबन्धका कारणले हो वा राजस्व छली र अवैध क्रियाकलाप बढ्दा यस्तो भएको हो ?

–सरकारी राजस्व न्यून हुनुका पछाडि मैले मुख्यगरी तीनवटा कारण देखेको छु । पहिलो भन्सार छली, अवैध आयात र चोरी पैठारी हो । हाम्रो राजस्व प्रशासन र सुरक्षा निकायको भूमिकामा पनि समस्या छन् । त्यसकारण मैले मन्त्रालयको कार्यभार सम्हालेको पहिलो दिनदेखि नै राजस्व प्रशासनसँग जोडिएका कर्मचारीलाई कुनै पनि प्रकारको कमजोरी मान्य र स्वीकार्य हुने छैन भनेर स्पष्ट निर्देशन गरेको छु । त्यस्तो अवस्था कहीँ कतै देखिएमा सख्त कारबाही हुनेछ भनेर भनेको छु । सबैले निष्ठापूर्वक कानुनी व्यवस्थाबमोजिम राजस्व सङ्कलनको काममा लाग्नुहोस् भनेको छु । राम्रो काम गर्ने कर्मचारीलाई राज्यले संरक्षण गर्ने, उनीहरुको वृत्ति विकासमा सघाउने काम सरकारले गर्छ । त्रुटि र गल्ती कमजोरी भेटिएमा त्यसको प्रकृति हेरेर कारबाहीको प्रक्रिया चालिनेछ भनेर स्पष्ट निर्देशन दिइएको छ । राजस्व चुहावट नियन्त्रणका लागि यस विषयमा हामीले गम्भीर भएर नै काम गर्नुपर्नेछ । चुहावट नियन्त्रणमा विभिन्न प्रवृत्ति देखिएका छन् । त्यसलाई नियन्त्रण गर्ने खास मिसनमा सरकार लागेको छ ।

दोस्रो विषय भनेको, हाम्रो विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई व्यवस्थापन गर्ने सन्दर्भमा केही वस्तुको आयातमा प्रतिबन्ध लगाइयो । आयात प्रतिबन्ध लगाइएपछि केही वस्तुको आयात रोकियो र त्यसले पनि राजस्व सङ्कलनमा केही असर गरेको हो ।

तेस्रो, आमरुपमा बजारको मागमा पनि सङ्कुचन आएका कारण पनि राजस्वमा त्यसको प्रभाव देखियो । खासगरी उत्पादनमूलक उद्योगले जुन अनुपातमा उत्पादन गरिरहेका थिए, पछिल्लो समय उनीहरुको उत्पादन निकै घटेको छ । उद्योगले उत्पादनमा उल्लेख्य कटौती गरेका छन् ।

वैदेशिक मुद्रा सञ्चितिमा परेको चाप व्यवस्थापनका लागि भन्दै सरकारले केही वस्तुको आयातमा बन्देज लगायो । तर आयात प्रतिबन्ध लगाइएका वस्तु बजारमा अभाव भएन । जस्तो कि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाइए पनि बजारमा त्यसको कुनै कमी भएन । यसको अर्थ आयात प्रतिबन्ध लगाइएको भए पनि ती वस्तु अवैध रुपमा नेपाल भित्रिरहेकै रहेछन् । त्यसबाट एकातिर सरकारले राजस्व पनि गुमाउने र अर्कोतर्फ अवैध बजार पनि फस्टाउँदै जाने भएको रहेछ ?

–हो, सवारीसाधनबाहेक आयात प्रतिबन्ध लगाइएका अरू वस्तुको अभाव बजारमा देखिएन । अहिले आयात प्रतिबन्ध हटिसकेको छ । तर यो बीचमा प्रतिबन्ध लगाइएका वस्तुको अवैध आयात भएको हुनसक्छ भन्ने आशङ्का गर्न सकिन्छ । त्यसका लागि बलियो आधार पनि छ ।

आयात प्रतिबन्धको अवस्थामा ती वस्तुको बजारमा अभाव देखिएन । त्यसले के कुरा पुष्टि गर्छ भने ती वस्तु अनियमित तरिकाले भित्रिए । त्यसमा अनियमित र गैरकानुनी धन्दा भयो भन्ने कुरा पुष्टि गर्न धेरै विश्लेषण गर्नुपर्ने आवश्यका नै छैन । स्वाभाविक रुपमा देखिन्छ, केही वस्तु आयात प्रतिबन्धका बाबजुद अवैध रुपमा भित्रिए । त्यसले हाम्रो राजस्व प्रशासनको कार्य सम्पादन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । तर राजस्व प्रशासनका सबै कर्मचारी खराब छन् म भन्दिनँ । अधिकांश इमान्दार नै छन् । जहाँ जहाँ समस्या देखिए, जुन ठाउँ, घटना र पात्रमा यो समस्या देखियो त्यसबारे सरकारले उपयुक्त निर्णय लिइसकेको छ ।

राजस्व प्रशासनलाई अनुशासनमा फर्काउन, कर्मचारीलाई कर्तव्यनिष्ठ बनाउन र कुनै पनि प्रकारका चुहावट हुन नदिन सरकार लागिपरेको छ । राम्रो काम गर्नेलाई पुरस्कृत र सम्मानित गर्ने, गल्ती गर्नेलाई कानुनको दायरामा ल्याउने यी दुवै काममा हामी सँगसँगै लागेका छौँ । म मन्त्रालयमा आइसकेपछि कैयौँ त्यस्ता घटनामा संलग्न कर्मचारीलाई कारबाही भएको छ ।

यसको अर्थ राजस्व प्रशासनसँग जोडिएका संयन्त्र र कर्मचारीको नियमन हुन नसकेको भन्ने हो ? यसमा सरकार चुकेको हो ?

–प्रभावकारी राजस्व प्रशासन र त्यससँग जोडिएका निकायहरुको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छ । किनभने आयातमा रोक लगाइएका वस्तु बजारमा सजिलै उपलब्ध हुनु र ती वस्तु अभावको कुनै गुञ्जायस नहुनु भनेको अवैध रुपमा भित्रिएका रहेछन् भन्ने तथ्य आफैँ स्थापित हुन्छ । आयात प्रतिबन्ध छ तर सामानको अभाव छैन भनेपछि त्यसले के बताउँछ भने कहीँ न कहीँ चुक भएको छ भन्ने त स्पष्टसँगै बताएको छ ।

आन्तरिक राजस्व परिचालन मात्र नभई वैदेशिक सहायतातर्फ पनि सरकारले उल्लेख्य उपलब्धि हासिल गर्न सकेको देखिएन । वैदेशिक ऋण र अनुदान निकै न्यून छ । किन यस्तो भएको ?

–वैदेशिक सहायतामा आधारित आयोजनाको कार्यान्वयनमा मेहनत गर्नुपर्छ । त्यसका सर्तका र तयारीका कुरा हुन्छन् । पर्याप्त तयारी गरेका आयोजनामा मात्रै वैदेशिक अनुदान वा ऋण स्वीकृत भएर प्राप्त हुन्छ । सँगसँगै समयमा शोधभर्ना गर्नुपर्ने विषय पनि जोडिएर आउँछ । शोधभर्ना लिनका लागि पनि निश्चित मापदण्ड पूरा गरिसकेको हुनुपर्छ । ती काम गर्नका लागि अलिकति मेहनत नै लाग्छ । कतिपय कर्मचारीले वैदेशिक ऋण वा अनुदानको शोधभर्ना लिन झन्झट मान्ने गरेको प्रवृत्ति पनि देखियो । नेपाल सरकारको स्रोतबाटै रकमान्तर, स्रोतान्तरलगायत स्रोत सुनिश्चितता गरेर खर्च गर्ने गरेको देखियो । यसकारण वैदेशिक सहायताका आयोजनामा हामीले अलिकति मेहनत गर्नैपर्छ । त्यस्ता आयोजनाको कार्यान्वनयमा तयारी राम्रो हुनुपर्ने, सर्तहरु पूर्ण रुपमा पालना गर्नुपर्नेलगायत विषयमा सम्बन्धित निकाय र पदाधिकारीको ध्यान आकृष्ट गर्न आवस्यक छ ।

 पाँचदेखि छ प्रतिशतसम्मको आर्थिक वृद्धि तथा वाञ्छित सीमाभित्र मुद्रास्फीति कायम राख्न पनि थप १३ प्रतिशत बराबरको राजस्व सङ्कलन हुनुपर्ने अवस्था छ, तर तथ्याङ्कहरुले त यो उपलब्धि हासिल हुने देखिँदैन, यसलाई कसरी लिनुभएको छ ?

–वर्तमान सरकार गठन भएको दुई महिना हुँदैछ । यो अवधिमा सरकारसँग कुनै जादुको छडी थिएन । यद्यपि हामीले समस्या बुझ्यौ र त्यसलाई समाधानको प्रयास गरेका छौँ । समस्या समाधानका लागि चालिएका प्रयासको नतिजा क्रमशः देखिन थालेको छ । यो स्पष्ट कुरा हो । छोटो अवधिमा सकारात्मक अवस्था देखिएको छ । अर्थतन्त्र बिग्रन दिँदैनाैँ भन्ने विश्वास दिलाएका छौँ । सरकारले आफ्नो सोच इम्पोज गर्नेभन्दा पनि सम्बद्ध निकायसँग बसेर छलफल गर्ने त्यसको प्रभाव के हो र कसरी समाधान गर्ने हो भन्ने बारेमा तथ्य पत्ता लगाउने प्रयास गरेका छौँ । सम्बद्ध पक्षको सुझाव लिएर परिपक्क निर्णय गर्न लागेका छौँ । मुलुकको अवस्था सामान्य अवस्थामा राज्य वा सरकारका तर्फबाट जुन भूमिका हुन्थ्यो, नागरिकका तवरबाट हुन्थ्यो करदाता, व्यवसायीबाट हुन्थ्यो । तर अहिले अवस्था सामान्य छैन । यो अवस्थामा सबैले हाम्रो अर्थतन्त्रमा देखिएका समस्याका बारेमा सोच्नुपर्ने अवस्था आएको छ । यो बेला हामीले भनिरहेका छौ कि समस्या हामीले देखेका र चिनेका छौ । समाधानका लागि एकपछि अर्को गर्दै कदम चालिरहेका छौ । समस्या चिन्नु पनि आधा समाधान हो । समस्या समाधानका लागि अग्रसर छौँ । म सबैलाई आग्रह गर्न चाहन्छु बिग्रेको अर्थतन्त्रलाई सम्हाल्छाैँ र लयमा फर्काउँछाैँ ।

 पछिल्ला दिनमा व्यवसायीले ऋण तिर्न सक्ने अवस्था छैन भनिरहेका छन् । त्यो अवस्था नागरिकको तहमा पनि आइपुगेको छ । नागरिकले आत्महत्या गरेका घटनाले सबैतिर निराशा छ भन्ने बुझ्न सकिन्छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ, यो अवस्थामा आम मानिसलाई विश्वास दिलाउने सरकारसँग के आधार छ ?

–व्यवसायीले भेटेर आफ्ना कुरा सविस्तार बताउने गर्नुभएको छ । हामीले ध्यानपूर्वक सुन्ने पनि गरेका छौ । मैले त भन्ने गरेको छु जाडोको समयमा छोटो सिरक ओढ्दा जस्तो हुन्छ नि त्यही कठिनाइको अवस्थामा हामी छौँ । टाउकोतिर सिरक तान्दा खुट्टा खाली हुने, खुट्टातिर तान्दा टाउको खाली हुने अवस्था छ । खुट्टा खुम्च्याएर सुत्नुपर्ने अवस्था छ । यो कठिन अवस्थामा हामी छौँ । असहज अवस्था छ । यो अवस्थामा हामी सबै मिलेर अगाडि बढ्न चाहेका छौँ । सरकार एक्लै बढ्ने होइन । सरकार, उद्योगी व्यवसायी, आम नागरिकसँग मिलेर नै अगाडि जान चाहेको छ । एक अर्काका समस्या सुन्दै समाधान गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । निराशा कुनै पनि समस्याको समाधान होइन । आशा र निराशा जीवनमा जोडिएर आउँछन् । निराश होइन, समस्या समाधानका लागि अग्रसर होऔँ । समस्या काबुबाहिर पुगिसक्यो भन्ने लाग्दैन । हामी सबैको समस्या समाधान गर्न सक्छौँ । व्यवसायी, उत्पादक, करदाता, आम उपभोक्ताको समस्या क्रमशः समाधान गर्दै अगाडि जान सक्छौ । गुमाउनुपर्ने तहको समस्या होइन । लयमा फर्काउन सक्छौ भन्ने लाग्छ ।

कतिपय अव्यावहारिक नीति, कार्यान्वयन गर्ने निकायबीचको असन्तुलनका कारण समाजमा ऋण नै तिर्न नसक्दा मानिसहरुले आत्महत्या नै गर्न पर्ने अवस्थाको सिर्जना भएको छ ।

 यस्तो प्रवृत्ति मौलाउन नदिनेतर्फ सरकार के कसरी लागिपरेको छ ?

– यो दुःख र चिन्ताको कुरा हो । आम मानिसमा आशा, विश्वास र भरोसा जगाउने हिसाबले सरकारले काम सुरु गरेको छ । व्यक्तिको प्रसङ्ग छ कसैले पनि जीवनमा समस्या आउँछन् । त्यसको समाधानको विकल्प खोज्ने हो । कोही कसैले पनि नकारात्मक समाधान खोज्ने होइन । अन्तिम क्षणसँग पनि समाधान खोज्ने हो । नकारात्मक समाधान खोज्नु हुँदैन ।

विश्व बैंक, आईएमएफलगायत बहुपक्षीय दातृ निकायले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ मा विश्वव्यापी रुपमा नै चरम आर्थिक मन्दी र सङ्कट देखापर्ने प्रक्षेपण गरेका छन् । त्यसको असर हाम्रो देशको अर्थतन्त्रमा कस्तो पर्ला भन्ने अनुमान सरकारले गरेको छ ?

–विश्वव्यापी रुपमा देखिने नकारात्मक असरको प्रभाव हाम्रोमा नपर्ने भन्ने होइन । प्रतिकूल परिस्थितिको प्रभाव हाम्रोमा धेरै पर्न नपाओस् र नसकोस् भनेर हामीले समयमै सावधानी अपनाउनुपर्छ । त्यसका लागि पूर्वतयारी गर्नुपर्छ । हामीले त्यसैगरी सोचिरहेका छौ । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखापरेको प्रवृत्तिको असर हाम्रोमा नपरोस् भनेर सोच्नुपर्छ ।

 मुलकको अर्थतन्त्रमा एकातिर रोक्दा अर्कोतर्फ भ्वाङ पर्ने, अर्कोतर्फ रोक्दा पुनः अर्को समस्या देखापर्ने अवस्था देखिएको छ । सरकारले यसमा सन्तुलन गर्न सकेन र समस्या देखापर्‍यो भन्ने आम बुझाइ छ । अर्थमन्त्रीका रुपमा यहाँलाई त्यस्तो लाग्छ कि लाग्दैन ?

–सन्तुलन कायम गर्नुपर्छ भन्ने हो मेरो भनाइ । हामीले सन्तुलन गुम्न दिनु हुँदैन । एउटा पक्षमा जोड दिँदा अर्को पक्षमा समस्या नपरोस् ।

अर्थमन्त्रालयले हालै खर्च कटौतीको निर्णय गर्‍यो । मानिसहरुले आर्थिक वृद्धिका लागि त खर्च बढाउनुपर्छ भनिरहेका छन् । खासमा सरकारले कटौती गर्न खोजेको खर्चको प्रकृति कस्तो हो ?

–मलाई अचम्म के लाग्यो भने सरकारले खर्च कटौतीको निर्णय कुन सन्दर्भमा कसरी गरेको छ भन्ने कुरा हामीले ठीक ढङ्गले सम्प्रेषण गर्न सकेन छौ कि भन्ने लाग्छ । मैले दोहोर्‍याएर हेरे । हाम्रो निर्णय त ठीक र सही छ । समायानुकूल र उपयुक्त पनि छ । हामीले खर्च कटौती गर्ने भनेको फजुल खर्च कटौती गर्ने हो, नगरे पनि हुने खर्च नगर्ने भन्ने हो । साधनतर्फको खर्च कटौती गर्ने भनेको हो । यहाँ त पुँजीगत खर्च पनि सरकारले कटौती गर्न लाग्यो भने जस्तो प्रचार गरियो ।

विकास निर्माणको खर्च पनि नगरेर सरकार चुपचाप हात बाँधेर बस्न खोज्यो भने जस्तोे देखियो । कुरा त्यसो होइन । पुँजीगत खर्च बढाउने हो, कटौती होइन । पुँजीगत खर्च बढाउनका लागि पुँजी होल्ड गरेर बस्ने होइन । कार्यक्रमको शीर्षक छ, तर त्यसको कुनै तयारी छैन । नियम निर्देशिका आदि बनेको छैन । कार्यक्रम छ, बजेट छ तर तयारी छैन । त्यस्ता आयोजना अगाडि नबढाउने भन्ने हो । तर, हाम्रो तयारी भनेको फजुल खर्च घटाउने भन्ने नै हो । नगरे पनि हुने खर्च कटौती गर्ने हो । पुँजीगत खर्चमा जोड दिने हो । पुँजीगत खर्च भएन भन्ने सन्दर्भमा पनि खर्च गर्नका लागि असीमित स्रोत छ भन्ने कोणमा पनि बुझनु हुँदैन । राजस्व परिचालन र स्रोतको व्यवस्थापनमा ध्यान दिएका छौ ।

 सरकारको सञ्चित कोष घाटामा छ । तथ्यमा भन्दा झन्डै एक खर्ब ४० अर्ब बराबरको घाटा देखिएको छ । यो समस्याको समाधानका लागि के कस्ता प्रयास थाल्नुभएको छ ?

–सञ्चित कोषमा जुन खालको ऋणात्मक अवस्था देखापरेको छ । मूल्याङ्कन अवधिको विवरणले त्यही भन्छ । यो समस्या समाधानका लागि राजस्व सङ्कलनमा ध्यान दिनुपर्ने हुन्छ । सहयोगका सन्दर्भमा आएका प्रतिबद्धतालाई व्यवहारमा नै कार्यान्वयन गर्नुपर्छ । राजस्व चुहावट रोक्नुपर्छ । पुँजीगत खर्च बढाउनुपर्छ । सञ्चित कोषमा भइरहेको नकारात्मक अवस्थाकोे समाधानका लागि प्रभावकाारी रुपमा कदम चाल्नुपर्छ ।

नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हो । तर अर्थतन्त्र चलाउने सन्दर्भमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक एक आपसमा सन्तुलन कायम गरेर नै अगाडि बढ्नुपर्छ । अर्थनीति र वित्त नीतिका बीचमा सन्तुलन कायम हुनुपर्छ । यसो हुन नसक्दा मुलुकको अर्थतन्त्रमा बढी समस्या देखा परेको हो ?

–म विगतको घाउ कोट्याउनेतर्फ जान चाहन्नँ । के कस्तो भयोभन्दा पनि आफूले जिम्मेवारी सम्हालेपछि त्यसलाई सन्तुलनमा राखेर जानुपर्छ भन्ने हो । केन्द्रीय बैंक स्वायत्त निकाय हो । कानुनी आधारमा अगाडि बढ्छ । दुईवटा संस्थाका बीचमा जीवन्त सम्बन्ध रहनुपर्छ । ती निकायका आफ्ना भूमिका छन् । अर्थ मन्त्रालय केन्द्रीय बैंकप्रति र केन्द्रीय बैंक अर्थ मन्त्रालयप्रति आ–आफ्ना कानुनी सीमाभित्र रहेर परस्परमा सहयोगी र समन्वयकारी भूमिकामा रहन्छन् र रहनुपर्छ ।

आगामी आर्थिक वर्षको बजेटको तयारी कसरी चलिरहेको छ ? त्यसको पनि समयसीमा तोकिएको छ ?

–हामी आगामी आवको बजेट निर्माणको तयारीमा प्रवेश गरिसकेका छाैँ । समय क्रममा हामीले त्यसबारेमा जानकारी दिँदै जाने नै छाैँ ।

सार्वजनिक ऋणको मात्रामा वृद्धि भयो र ऋण कति भन्ने प्रश्न बेलाबेलामा आइराख्छ, खासमा हामीले ऋण के कति मात्रामा लिने हो ?

–सार्वजनिक ऋण वाञ्छित सीमाभन्दा बाहिर नजाओस् भन्नेमा हामी स्पष्ट छौ । बहुपक्षीय निकायले पनि हामीले गरेको प्रयासको सराहना नै गरेका छन् ।

आर्थिक उत्तरदायित्वसम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार सम्बद्ध अधिकारीले मातहतका अधिकारीसँग गर्ने कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने उल्लेख गरेको छ । यद्यपि पछिल्ला दिनमा यसको अभ्यास हुन छाडेको जस्तो देखिन्छ, यसलाई यहाँले कसरी लिनुहुन्छ ?

–सबैलाई कानुनले नै जवाफदेही बनाउँछ । प्रधानमन्त्री, मन्त्री सचिव र सम्बद्ध अधिकारीको जिम्मेवारी कानुनले नै परिभाषित गरेको छ । खासगरी पूर्वाधार आयोजनाका सन्दर्भमा हामीले जोड दिन चाहेको कुरा के हो भने आयोजना ढिला भयो भने समयमा सम्पन्न भएन भने लागत बढ्यो भने गुणस्तर कमजोर भयो भने त्यसको जिम्मा कसले लिने त भन्ने विषय पनि प्रस्ट भयो भनेदेखि कार्यान्वयनका लागि मद्दत गर्छ भन्ने हो । आयोजना आवश्यक हो कि होइन भनेर कसरी यकिन गर्ने भन्ने सवाल छ । आयोजनाको आवश्यकताका सन्दर्भमा पहिले नै प्रस्ट हुनुपर्छ । आवश्यक आयोजना मात्रै अगाडि बढाउनुपर्छ । तोकिएको समयमा सुरु गर्ने र समयमै सम्पन्न गर्ने तरिकाले जानुपर्छ भन्ने हो हाम्रो बुझाइ ।

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

काठमाडौं । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन् ।

विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ ।

मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै हालै उहाँलाई अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टू ह्युमानिटी’ संस्थाले उहाँलाई ‘इशा अबार्ड’बाट सम्मानित गरेको छ । पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ ।

आफू पुरस्कृत भएको खबर पाउँदा उहाँ बिरामीको उपचारमा व्यस्त रहेका थिए । सुरुमा उनको मोबाइलमा एसएमएस आएको थियो । त्यसपछि पुरस्कारबारे फोनबाट जानकारी भएको थियो । उनले अवार्डले प्राप्तले आफू ३५ वर्ष काम गरेको प्रतिफल पाएको बताए ।

पुरस्कारले नेपालीलाई संसारको मानचित्रमा नेपालले राम्रो काम गर्दा रहेछ भन्ने देखाएको उनको भनाइ रहेको छ । आफ्नो क्षेत्रबाट नेपालीको आत्मसम्मान, प्रतिष्ठालाई बढाउन पाएकामा उनी आफ्नो जीवनलाई सार्थक ठान्छन् ।

उनले सुरुमा पुरस्कार पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको बताए । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । पुरस्कारका लागि उनले कुनै पनि मनोनयन दर्ता गराएका थिएनन् ।

जुरी कमिटी (निर्णायक)ले नै उनले आँखा उपचारमा पुर्याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा छ व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराइएको थियो । प्रस्तुत छ उनीसँग राससका समाचारदाता शरद शर्माले गरेको कुराकानीको अंश:

तपाइँले हालै अन्तरराष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ, ठूलो राशिको पुरस्कार पाउँदा कस्तो महसुस गर्नुभएको छ ?

– मलाई यो अवार्ड पहिलो चोटि पाएको खबर सुन्दा विश्वास पनि लागेन । पुरस्कारका लागि मैले नाम दर्ता पनि गरेको थिइनँ । पछि निर्णायक टोलीले नै नाम राखेछ । नेपालमा बसेर काम गरिरहेको मान्छेले यत्रो ठूलो अन्तरराष्ट्रिय पुरस्कार पाउनु मुरा लागिभन्दा पनि देशकै गौरवको कुरा हो । पुरस्कारले मेरो जीवनभरिको लामो तपस्याको (३५ वर्ष) गरेको कामको संसारमा कुनै संस्थाले सम्झेकामा गौरवको अनुभव भएको छ ।

पुरस्कारको प्राप्तिको श्रेय कसलाई दिनुहुन्छ ?

–तिलगङ्गा आँखा अस्पतालका मेरा सहपाठीलाई यसको पहिलो श्रेय दिन्छु । त्यसपछि मेरो परिवार र यतिका वर्षदेखि मलाई विश्वास गरेका बिरामीहरुलाई श्रेय दिन चाहन्छु । केही मात्रामा मेरा अन्तरराष्ट्रिय साथीहरुलाई यसको श्रेय जान्छ ।

आफ्नो कुन कामका लागि यो पुरस्कार दिइएको हो भन्ने लाग्दछ ?

–मलाई के लाग्छ भने अन्धोपन निवारणमा मैले खेलेको भूमिकाको कारणले पुरस्कार प्रदान गरिएको हो । नेपालजस्तो ठाउँबाट सङ्घर्ष गरेर आँखाको इन्ट्राअकुलर लेन्सको प्रणालीको विकास गरेबापत प्रदान गरिएको हो । अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ । यो पुरस्कार अन्तरराष्ट्रिय योगदान नगरीकन दिइँदैन । पुरस्कारमा नै अन्तरराष्ट्रिय रुपमा प्रभाव पारेको हुनुपर्दछ भन्ने लेखिएको थियो । पछाडि परेका समुदायमा पनि पहुँच, सर्वसुलभ तरिकाले पुगोस् भन्ने हिसाबले पनि हेर्ने गरिन्छ । यी विभिन्न मापदण्डहरु पूरा भएका कारण नै मलाई पुरस्कृत गरिएको हो ।

अन्धोपन निवारणमा तपाइँले कस्तो खालको लेन्स बनाउनु भएको थियो नि ?

– हामीले आधुनिक मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गर्यौं । मोतियाबिन्दुको शल्यक्रियालाई सरलीकरण गरेर देशबाहिर हामीले पुर्याएका छौँ । त्यस्तै हामीले ‘इन्ट्राअकुलर लेन्स’ को विकास पनि गरेका छौँ । तिलगङ्गामा आँखामा हाल्ने लेन्स अन्तरराष्ट्रियस्तरको ‘इन्ट्राअकुलर लेन्स’ हो । त्यो लेन्स सुरु गर्दा सन् १९९० सुरुमा अमेरिकालगायत विदेशबाट बनेर आउने गर्दथ्यो । यसको मूल्य एक युनिटकै दुई सय डलर जति पर्ने गर्दथ्यो । त्यसैले यो सर्वसाधारणको पहुँचमा थिएन । हामीले यहाँ छ/सात वर्षमा धेरै मिहेनत गरेर उत्पादन गर्न थाल्यौँ । त्यो लेन्सको दामलाई हामीले पाँच डलरभन्दा कममा झार्न सक्यौँ । त्यो झार्ने बित्तिकै धेरै आँखाका बिरामीले सेवा पाएका छन् । लेन्स एकदमै विशेष खालको प्लास्टिकको सामग्री हो । यो आँखामा राखिसकेपछि (इनप्लान्ट गरेपछि) मोतियाबिन्दुको शल्यक्रियापछि मोटो चस्मा लगाउनु पर्दैन । यसले आँखाको नजरलाई मोतियाबिन्दुको शल्यक्रियापछि राम्रो देख्नमा मद्दत गर्दछ । यसरी हामीले तिलगङ्गामा नै लेन्स उत्पादन गर्दछौं । बाहिर पनि उत्पादन हुन्छ ।

तपाइँले अन्धोपन हटाउनका लागि चलाउनु भएको अभियान कहाँ पुग्यो ?

– हो हामीले विश्वमा नै अन्धोपनबाट हटाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ । आज अफ्रिका, एसियाका विकासोन्मुख देशहरुमा नेपालमा विकास गरेको मोतिबिन्दुका शल्यक्रियाको प्रणाली निकै प्रयोगमा आएको छ । हामीले त्यहाँका चिकित्सकलाई पनि तालिम गराएका छौँ । विश्वमा नै अन्धोपनबाट हटाउने अभियानअन्तर्गत वर्षमा ७० हजारदेखि एक लाख मानिसलाई आँखा देख्नसक्ने बनाएका छौँ । हामीले धाना, इथोपियालगायत देशमा अभियान सञ्चालन गरिसकेको छौँ भने इन्डोनेसिय र लाओस देशमा गर्ने तयारीमा छौँ । ती देशमा हामीले अन्धोपन हटाउन गरेको प्रणालीका बारेमा अवगत गराएका छौँ । नेपालमा पनि ग्रामीण भेगमा गएर अन्धोपन निवारणका लागि विभिन्न शिविरहरु सञ्चालन गरिएका छ ।

नेपालमा अन्धोपनको समस्या खासगरी कुन क्षेत्रमा धेरै रहेको छ ?

– खासगरी ग्रामीण र विपन्न समुदायमा अन्धोपनको समस्या बढी रहेको छ । अज्ञानता र गरिबीले गर्दा आँखाको ज्योति फर्काउन सकिन्छ भन्ने थाहा नपाउने धेरै मानिस छन् । खासगरी कर्णाली प्रदेशमा यो समस्या अझ धेरै रहेको छ । त्यसैले हामीले सुर्खेत आँखा अस्पतालसँग मिलेर कर्णालीका विभिन्न ठाउँमा शिविर सञ्चालन गरेर वर्षौंदेखि मोतिबिन्दुका कारण अन्धोपनमा रहेका धेरैलाई पुनः देख्न सक्ने बनाएका छौँ ।

नेपालबाट अन्धोपन हटाउनका लागि अभियानलाई सफल तुल्याउन राज्यले के गरिदिओस् भन्ने लाग्दछ ?

– देशबाटै अन्धोपन निवारण गर्ने कुरा एउटा व्यक्ति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने हुँदा यसमा सरकारको सहयोग आवश्यक हुन्छ । हामीसँग ज्ञान र प्रविधि भएकाले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ । हामीले यहाँ बनाएको लेन्सलाई नेपालमा प्रयोग गर्नका लागि सहज वातावरण बनाइदिन सरकारसँग हाम्रो आग्रह हो । प्रमाणीकरण नगरीकन बाहिरका लेन्स गैरकानुन तरिकाले गरेर यहाँ आइरहेका छन् । त्यसले एकातिर विदेशी मुद्रा बाहिर गएको छ भने अर्कोतिर गुणस्तरहीन सामग्रीको प्रयोगले आँखाजस्तो संवेदनशील अङ्गमा जथाभावी प्रयोग हुनु गम्भीर कुरा पनि हो ।

अझै पनि विपन्न र पछाडि परेका समुदायका मानिसमा अन्धोपनको समस्या धेरै छ । उनीहरुलाई आँखा देख्न सक्षम बनाउनु चुनौतीपूर्ण छ । सरकारले लेन्सको उत्पादन बढाउनका लागि अलिकति आर्थिक सहयोग (फन्ड) गरेमा ती विपन्न वर्गका मानिसलाई सेवा दिन सकिन्थ्यो । लेन्सलाई देशको नमुना बनाएर नै हामी उत्पादन गर्दछौँ । लेन्सका लागि कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । लेन्सका हामीले धेरै नै उत्पादन गर्न सक्छौँ । अहिले वर्षको तीन लाख उत्पादन गरिरहेका छौँ भने सरकारले सहयोग गर्यो भने १५ लाख उत्पादन गर्न सकिन्छ । नेपाल मात्र नभएर बाहिर पनि पठाउन सक्छौँ । त्यतिबेला लेन्स निर्यातयोग्य वस्तु बनाउन सकिन्छ ।

आँखाको उपचारको क्षेत्रमा नेपाल विश्वका कति औँ स्थानमा रहेको छ ?

– अहिले त्यो भन्न गाह्रो हुन्छ । नेपालमा आँखाको सेवा पहिलेभन्दा धेरै नै विकसित भएको छ । तैपनि अझै ठूलो सङ्ख्यामा मानिसहरु मोतिबिन्दुलगायत आँँखाको सामान्य रोगबाट पनि अन्धकारमय जीवन व्यतित गर्न विवश छन् । आँखा उपचारको सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सकेका छैनौँ । हामीकहाँ आँखाको उपचार सेवा सरल र सुलभ रहेको छ । अनि यसको गुणस्तर पनि राम्रो छ । गुणस्तर राम्रो भएकाले नै विश्वका विभिन्न देशबाट नेपालमा आँखा उपचारका लागि आउने गर्दछन् । नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य स्थल बनाउन सकिन्छ भन्ने मेरो आत्मविश्वास छ ।

 

 

‘मैले यसलाई चुनौतीको पहाड चढ्दै जनताको सेवा गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको छु’

गण्डकी । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारीलाई संविधानको धारा १६८ (ख) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय उनले पार्टीको विभिन्न तह र देशको मन्त्रीको जिम्मेवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आएका छन् । गण्डकी प्रदेशसभाबाट विश्वासको मतसमेत प्राप्त गरिसकेका मुख्यमन्त्री अधिकारीसँग राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल, समाचारदाताद्वय हरिप्रसाद बास्तोला र कृष्ण दवाडीले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीलाई कसरी लिनुभएको छ ?

मैले यसलाई चुनौतीको पहाड चढ्दै जनताको सेवा गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको छु ।

यहाँका गण्डकी प्रदेशको समृद्धि र विकासका मुख्य एजेन्डा के के छन् ?

हाम्रो मुख्य चुनौती भनेको स्रोतको अभाव हो । स्रोत जनतालाई कर थुपारेरभन्दा पनि जनताबाट सहयोग समर्थन लिएर, उनीहरूको स्वेच्छाले राजस्व वृद्धि गर्ने हो । केन्द्रको अनुदान, समपुरक, विशेष अनुदान पर्याप्त मात्रामा ल्याउने हो । अहिले केन्द्रले बनाएको अनुदानको सूत्र जसले काम गर्यो, मानव विकास सूचकाङ्कमा राम्रो गर्यो त्यसलाई बजेट कम दिनेगरी उल्टो काम भएको छ । यसलाई सुधार्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने अवस्था छ । पछाडि परेको ठाउँमा त विशेष बजेटको व्यवस्था गर्नुपर्यो त्यो केन्द्रीय दायित्व हो । मानव विकास सूचकाङ्कमा तल परेकालाई केन्द्रीय योजनाअनुसार नै माथि ल्याउनु पर्दछ । त्यो विशेष राष्ट्रिय कुरा हो । तर अहिले विशेष बजेट बाँड्ने कुरामा सूत्र बनाउँदा जसले मानव विकास सूचकाङ्कमा राम्रो गर्यो, पुँजीगत खर्च बढी गर्यो या आर्थिक सुशासन कायम गर्न सक्यो त्यसलाई पो दिन पर्यो ।

यसरी त उहाँहरूले बनाएका सूत्र नै बेठीक छन् भन्ने हो मेरो मान्यता । त्यसमा पुनरावलोकन गर्नुपर्छ भन्नेसहित यी र यस्ता स्थानीय तहमा दिएका अधिकारहरू स्थानीयमा, प्रदेशमा दिएका प्रदेशमा र अहिले यी साधन स्रोतहरू सङ्कलन गर्न सकियो भने त्यसका आधारमा हामी हाम्रै प्रदेशबाट कोरलादेखि त्रिवेणीसम्म सहजरुपमा जानसक्ने बाटो स्तरोन्नति एवं नबनेका ठाउँमा बनाएर उत्पादन यहाँ गर्ने र बिक्री बाहिर गर्ने गर्न सक्छौँ । हाम्रो उत्पादन विदेशी पैसा देशमा ल्याउने त्यो बाटो नहिँडी हामी आत्मनिर्भर बन्न सक्दैनौँ । त्यो बाटोमा मेरो प्राथमिकता छ । पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति, यहाँका मानव विकासमा जनशक्ति, जल, जडीबुटी, जङ्गल र खानीजन्य पदार्थ, नदीजन्य पदार्थहरूको सही सदुपयोग गर्ने र तिनलाई भत्कन, बिग्रन नदिइकन बाढीपहिरो नियन्त्रण गर्ने गरी व्यापक सदुपयोग गर्नुपर्छ । विगत सरकारहरूले जुन पहिचान गरेका छन्, तिनका सकारात्मक कुरालाई निरन्तरता दिंदै बाँकी रहेका कुराहरूको पूर्णता गरेर जाने मेरो प्राथमिकता छ ।

सङ्घीय संरचनाअन्तर्गत अघिल्लो कार्यकालमा सङ्घबाट संविधानतः निर्दिष्ट अधिकार पनि प्रदेशमा दिन आनाकानी गरेका विषय निकै उठ्यो । यस सन्दर्भमा प्रदेशको यस कार्यकाललाई कसरी हेर्नुभएको छ ?

अघिल्लो कार्यकालको पछिल्लो अवधि अलिकति प्रदेशलाई बद्नाम गर्नेहरूलाई सहयोग पुग्ने खालको भयो । मन्त्रालय ज्यादै धेरै भए । नीति र प्राथमिकता एकातिर, बजेट विनियोजन अर्कातिर जस्तो भयो । त्यसले जनमानसमा राम्रो प्रभाव परेको छैन । त्यसको वास्तविकता गहिराइमा पुगेर म बुझ्नेछु । आवश्यकता थियो कि थिएन, जनतामा त्यस्तो धारणा प¥यो । मबाट त्यो गल्ती हुँदैन ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । यसमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि कस्तो योजना बनाउनुभएको छ ?

मेरो पहिलो प्राथमिकता त्यसैमा हुन्छ मैले सुरु नै गरिसकेँ । क्यानका पदाधिकारीसँग मेरो कुराकानी भएको छ, हतारो त गर्नै प¥यो । सुविधा सम्पन्न विमानस्थल छ । आन्तरिक उडानमा पनि हामी ३ बजे पछि जान नसक्ने अवस्थामा थियौँ । अब हामी रात्रिकालीन उडान पनि गर्न सक्छौँ । विमानस्थल तयार छ हामी उडान नभर्ने कुरा त गलत हो । जतिसक्दो छिटो गर्ने कुरा त्यस हिसाबले ठीकै हो । तर अहिले भारतको कुशीनगरमा हामीभन्दा पहिले विमानस्थल बनेको थियो । त्यहाँ पनि आन्तरिक उडान पनि हप्ताको दुई/तीन वटा मात्र छन् । जुन अन्तर्राष्ट्रिय कारण हो, कोभिडका कारणले आर्थिक गतिविधि ठप्प छन् । आर्थिक गतिविधि विस्तारै पुनःस्थापन हुँदै जाँदा वैकल्पिकरुपमा विभिन्न अन्तर्राष्ट्रिय उडान भर्न सकिन्छ । हाम्रो विमानस्थलमा मध्यम आकारको जेट विमान आउन सक्छ । ठूला विमान आउनलाई जोग्राफिकल लोकेशनसँगै रन वे पनि छोटो छ । मैले त्यो बेलामा अभियान चलाउँदै धावन मार्ग तीन किलोमिटर हुनुपर्ने भनेको थिएँ, जुन २५०० मिटरमा आयो । भौगर्भिक अवस्थाका कारण यहाँका डाँडाको उचाइले पनि आपत्कालीन अवतरणमा अनेक अप्ठेरो हुन सक्छ । प्राविधिक कुरा मैलेभन्दा प्राविधिकले बोल्नु उपयुक्त हुन्छ । चीनले अहिले व्यावसायिक उडान गरेको छैन । भारतसँग पनि हाम्रो केन्द्रीय पर्यटन मन्त्रालयमार्फत कुराकानी भएको मैले सुनेको छु । उडानका लागि भूटान इच्छुक छ । बङ्गलादेशमा हामी त्यसपछि अघि बढाउँछौँ । विस्तारै बैंकक, सिङ्गापुर होला । यसरी हामी विस्तारै जानेछौँ । हाम्रो कार्यकालसम्ममा अन्तर्राष्ट्रिय उडान सामान्य ढङ्गले हुनसक्छ ।

यहाँले यसअघि सङ्घअन्तर्गतका मन्त्रालयका महत्वपूर्ण जिम्मेवारी पनि सम्हाली सक्नुभएको अवस्थामा सङ्घ–प्रदेशबीचको सम्बन्धलाई आगामी दिनमा कसरी बढाउँदै हुनुहुन्छ ?

सङ्घ र प्रदेशबीचको समन्वय बढाउनु मेरो उद्देश्य हुनेछ । सहकार्य, सहअस्तित्व र समन्वय तीन सिद्धान्तका आधारमा हामीले सङ्घीयताको व्यवस्था गरेका हौँ । त्यसैले केन्द्रले सिधै स्थानीय तहसँग समन्वय गर्ने पनि केही विषय हुन सक्छन् । प्रदेशले त स्थानीय तहको कानुन नै बनाइदिनुपर्ने हुन्छ । केन्द्रले सङ्घीय निजामती ऐन अहिलेसम्म नबनाउनु यो दुःखद् पक्ष हो । प्रहरी समायोजनको क्रियाकलाप नै अगाडि बढेको छैन । यी दुई वटा कुरा हुनेबित्तिकै बल्ल सरकार जस्तो हुन्छ । प्रहरी प्रशासन आफूसँग छैन, निजामती ऐन समायोजन नभएर कर्मचारी पनि छैनन् । यस्तो अवस्थामा प्रदेश सरकार भनेर सरकार जस्तो भएन नि । संविधानअनुसारको एउटा गणपूरक त पूरा गर्नै प¥यो हामीले तर कार्यकारी अधिकार यहाँ कानुनको बाधक छ । उसले नबनाइदिए हामीले कानुन बनाउन पाउँदैनौँ । उसँग विरोधाभाष बित्तिकै यो कानुन कार्यान्वयन हुँदैन । संविधानले नै भनेको छ ।

प्रदेशका अघिल्लो कार्याकालमा बनेका अधिकांश कानुनहरू कार्यान्वयन नभएको भन्ने विषय पनि उत्तिकै चर्चामा छन् । बनेका कानुनको कार्यान्वयनका लागि के योजना बनाउनुभएको छ ?

मैले मन्त्रालयमा ‘ब्रिफिङ’ सुरु गरिसकेको छु । म त केन्द्रको मन्त्रालयमा अलिकति काम गरेर आएको । यहाँ त्यहाँको एउटा मन्त्रालय जत्तिको पनि प्रदेशको बजेट छैन । खर्बौं बजेट छ सङ्घअन्तर्गतका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार मन्त्रालयमा । यहाँ त हामी ३२/३३ अर्बको पनि बजेट छैन । जुन मेरो कामको गतिलाई अपुग नै भयो । न बाटा, न पुल, न अस्पताल, न स्कुल बन्छ त्यसले । न मानवीय विकासका लागि तालिम, जनशक्ति उत्पादनका आदि काम गर्न सक्छ त्यसले । स्रोत त असाध्यै सीमित भयो ।

व्यवस्थापिका र कार्यपालिकाबीचको सम्बन्धलाई प्रभावकारी बनाउन के–कस्ता योजना रहेका छन् ?

व्यवस्थापिका ओझेलमा पर्नु हुँदैन । व्यवस्थापिकाले बनाएका नीति नियम कार्यान्वयन कार्यपालिकाले गर्ने हो । नीति नियम बनाउने कुरा र कार्यान्वयन गर्ने कुराको तादात्म्य आवश्यक छ । यसको अनुगमन गर्ने र कार्यकारीलाई यथोचित योगदान पुर्याउनुपर्छ । कार्यपालिका र व्यवस्थापिका सहकार्य गर्ने संस्था हो । धेरैजसो कानुन बनाउने काम कार्यपालिकाबाटै हुन्छ । ती कानुनलाई समुचित ढङ्गले पारित गर्ने, परिष्कृत गर्ने काम व्यवस्थापिकाको हो । आवश्यकताअनुसार कानुन बनाउने, माथि केन्द्रसँग समन्वय गर्ने, केन्द्रले पनि यसलाई सहजीकरण गर्ने गरी बनाइदिने सङ्घीय कानुनहरू बनाइ दिँदै गए । यहाँ व्यवस्थापिकाले पनि काम गर्न पाउँछ ।

व्यवस्थापिकाको मुख्य काम नै विधेयक निर्माण गर्ने हो, विधि निर्माण गर्ने हो । जनताले पाइप, पानी, पुल, पुलेसा माग गर्दछन् । चेतना परिवर्तन हुन अझै केही वर्ष लाग्छ होला । हरेक ठाउँमा पाँच–दश लाखका योजना दिने गरिएको छ । यी काम स्थानीय तहमार्फत गर्नुपर्यो । विधायकहरू पनि धारो, पानी उद्घाटन गर्न तल्लीन हुने अवस्था छ । उहाँहरू विधायक हो । विधायकमध्येबाटै सरकारको उत्पत्ति र अवसान हुन्छ । विधायकहरू अत्यन्तै चनाखो, चुस्तदुरुस्त, विधि निर्माणको कार्यमा सकृय हुने काममा प्राथमिकता दिनुपर्छ । प्रदेशसभामा पक्ष/विपक्ष हुन्छ, तर समितिहरू अत्यन्तै अन्तरक्रियात्मक हुन्छन् त्यसले स्तर वृद्धि गर्दछन् । सभामुख र मुख्यमन्त्रीका बीचको समन्वयले सही सहजीकरण गर्न सक्छ ।

गठबन्धनका दल एवम् प्रतिपक्षी दलसँगको सहकार्यलाई कसरी लैजाँदै हुनुहुन्छ ?

हामी निरन्तर संवाद गर्छौं । उहाँहरूले ल्याएका रचनात्मक कुरा सरकारको नीति र नेतृत्व तहमा हामी कार्यान्वयन गर्छौं । उहाँहरूका कुरामा जहाँ सहमत हुन सकिँदैन । हामी बसेर संवाद, छलफल गर्छौं । परिस्थिति जानकारी गराउँछौँ । पुनःएकाकार हुँदै अघि बढ्न सक्छौँ । संसदीय व्यवस्थामा प्रतिपक्षविनाको संसद्को परिकल्पना गर्न सकिदैन । प्रतिपक्ष संसद्कै महत्वपूर्ण अङ्ग हो, प्रतिपक्षप्रति उत्तिकै सम्मान हुन्छ ।

सरकार विस्तार एवं पूरक बजेट सम्बन्धमा केही बताइदिनु हुन्छ कि ?

हामीसँग समय कम छ । छोटो समयमा तीन महिनामा हामीले बजेट निर्माणको प्रक्रिया पूरा अवलम्बन गर्ने या केही पूरक बजेट ल्याउने या केही ऐन संशोधन गरेर अगाडि बढ्ने के गर्दा उपयुक्त हुन्छ हामी छलफल गर्दैछौँ । केही न केही कुरामा सम्बोधन गर्न पर्नेछ । प्रतिपक्षका साथीहरूसँग पनि छलफल एवं सत्ता पक्षका बसेर काम गरौँला । त्यसपछि मात्रै भन्न सकिन्छ । सरकार गठनका सन्दर्भमा काम गर्न त तत्कालका लागि चार जनाको मन्त्रिपरिषद् छँदैछ ।

अन्तिममा प्रदेशवासी जनतालाई केही भन्नुछ कि ?

प्रदेशवासीले हामीलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । तपाइँहरूले हामीलाई एकल नभई संयुक्तरुपमा जानुपर्ने जनादेश दिनुभएको छ । यहाँहरूले दिएको जनादेशअनुसार मितव्ययीता, पारदर्शीता, स्वच्छ प्रशासन र भ्रष्टाचार शून्य प्रदेश बनाउने हाम्रो कोशिस हुन्छ । प्रदेशबाट कार्यसम्पादन गर्ने काममा हामीलाई निरन्तर निगरानी, खबरदारी गर्नुहोला । मुख्यमन्त्रीसँगको सम्बाद पनि निरन्तर राख्ने कोशिस गनेछौँ । सिधै जनताका समस्या समाधान गर्नेतर्फ हाम्रो तत्परता रहनेछ । हामीसँग भएको साधन स्रोतका आधारमा बढ्नेछौँ । सिंहदरबार जनताको घरमा आयो अनुभूति हामी दिलाउने कोशिस गर्नेछौँ । समुन्नत र सुखी गण्डकी प्रदेश बनाउने कुरामा सबै मिलेर लागौँ । सबैको भर विश्वासका साथ अन्य प्रदेशको तुलनामा यस प्रदेशलाई अझ राम्रो र नमुनायोग्य बनाउने कोशिस हामी गर्नेछौं । हामी शासक हैनौँ, सेवक हौँ । जनताको सेवामा निरन्तर तत्पर हुन्छौँ । शासकीय शैली र शासक बन्ने अहंकार हामीमा कहिल्यै देखियो भने प्रदेशवासीले औँला ठड्याइदिनुहोस् विनम्रतापूर्वक सच्चिन्छौँ ।

 

अध्यादेशकाबारेमा नसोध्नुस् हामीलाई पीडा हुन्छः अध्यक्ष ठाकुर(अन्तरवार्ता)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ ।

देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीबाट सात राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।

मुलुकले अपनाएको मिश्रित निर्वाचन प्रणालीअनुरुप मतदाताले पुनःमिलेर सरकार चलाउन राजनीतिक दललाई निर्वाचनमार्फत सन्देश दिएका छन् । यसै सन्दर्भमा निर्वाचनको नतिजा, नयाँ राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विकास र समृद्धिका विषयमा गरिएको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भन्छन्, “मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ ।”

मुलुकमा लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा प्रजातान्त्रिक खेमामा रही छ दशकदेखि निरन्तररुपमा सक्रिय रहँदै आएका महन्थ ठाकुर बौद्धिक एवं परिपक्क राजनीतिज्ञका रुपमा परिचित छन् ।

पछिल्लो दशक मधेस र मधेसीको हकहितमा क्रियाशील लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरसँग प्रतिनिधिसभाको उपसभामुख र ज्येष्ठ सदस्य भएर सम्पूर्ण सांसदलाई शपथ खुवाइ सदन सञ्चालन गरेको अनुभव पनि छ ।

नेपाली कांग्रेसबाट २०१६ सालमा राजनीतिक यात्रा आरम्भ गर्नुभएका ठाकुरले सोही दलको कोषाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे । विसं २०४८ देखि २०५१ सम्म उपसभामुख, २०६३ सालको अन्तरिम सरकारमा वातावरण तथा विज्ञान प्रविधिमन्त्री रहेका ठाकुर यसपटक आफ्नो गृहजिल्ला महोत्तरी–३ बाट १६ हजार तीन सय ७५ मत पाएर प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय बनाउनुभएका अध्यक्ष ठाकुरसँग राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता सिवी अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?

निर्वाचन कठिन सङ्घर्ष थियो । कांग्रेससहितको पाँच दलीय र एमाले सम्बद्ध गठबन्धन प्रतिस्पर्धामा थिए । समग्रमा अधिकांश ठाउँमा शान्तिपूर्ण निर्वाचन भयो । निर्वाचन क्षेत्रमै यसपटक मतगणना पनि सम्पन्न भयो । कतै कुनै गडबडी भएन । परिणामका हिसाबले कतिपय स्थानमा केही नतिजा अप्रत्यासित आउन सक्छ भन्ने हामीलाई सुरुमै लागेकै थियो । एउटा चुनावी नारा पनि थियो “पुराना होइन ” नयाँ भन्ने” । चुनावका क्रममा जातिपातिका आधारमा पनि भोट माग्ने काम हुन्छ तर जनता कस्ता उम्मेदवारलाई मत दिनुपर्छ भन्ने सचेत र जानकार भइसकेका छन् । राम्ररी सोच विचार गरेर मात्र मतदान गर्छन् ।

अध्यक्षज्यू चुनाव प्रचारप्रसारमा जाँदा दलका चुनावी घोषणापत्र र जनताका मागबीच तालमेल पाउनुभयो त ?

तालमेल त भइहाल्छ । सबैको चाहिँ हुन्न । समग्रमा विकास त भएको छ तर हाम्रा लागि के भन्ने मधेसका मतदाताको प्रश्न छ । मधेसमा थुप्रै बस्ती र खेतीयोग्य जमिन नदी किनारमा छ तर सिँचाइको कमी छ । समयमा पानी नपर्दा कतिपय ठाउँमा सुक्खा छ । त्यहाँ प्रभावकारी सिँचाइको आवश्यकता छ । सुरुका दिनका डिप–बोरिङ र हुलाकी सडकको माग रहेकामा अहिले ती काम पूरा हुँदै गएका छन् । विश्वविद्यालय स्थापनाको विषय बजेट भाषणमा आए पनि नक्सामा मात्र सीमित छ । संसदीय विकास कोषबाट मधेसका धेरै बस्तीमा घर बनेको प्रष्ट देखिन्छ । मुस्लिम समुदायबाट मदरसा र मस्जिद तथा दलित समुदायका लागि विद्यालय र सामुदायिक भवनको मुख्य माग छ । गाउँगाउँमा पक्की सडकको विस्तार भएसँगै गाउँको नक्सा बदलिएको छ । तर सरकार पुनःअस्थिर भयो भने अरु केही चुनौती भने पक्कै आउन सक्छ ।

कानुन तर्जुमा र विधि बनाउन चुनिएका जनप्रतिनिधिले विकासे कुरा गर्न मिल्छ र ! यहाँको प्रमुख जिम्मेवारी त कानुन र विधि निर्माण गर्ने हो नि ?

राज्यको कानुन निर्माणसँगै जनताका समस्या, पिरमर्का र आवश्यकताका आवाज सुन्नुु पनि जनप्रतिनिधिको मुख्य दायित्व हुन्छ । घरदैलोमा भोट माग्न जाँदा सडक, खानेपानी, सिँचाइको समस्या छ भन्ने माग जनताको छ । सांसदको काम प्रमुखरुपमा कानुन निर्माणको जिम्मेवारी हो तर आवाजविहीनको आवाज मुखरित गर्ने पनि त जनप्रतिनिधिको मुख्य कर्तव्य हुन्छ । कानुन निर्माण गर्ने भूमिका भए पनि जनताको विकास निर्माणसम्बन्धी चाहनालाई तालमेल गरेर जानुपर्छ । विद्यालय भवन निर्माण, पोखरी सरसफाइ र संरक्षण सरकारले गरिदिए हुन्थ्यो भन्ने उनीहरुको चाहना रहन्छ । सांसद भएपछि जनताका साना–मसिना माग र मुद्दालाई ध्यान दिनैपर्छ, नत्र मत माग्न जाँदा किन आउनुभएको, हाम्रा काम भएनन् भनेर गुनासो गर्छन् । त्यसैले हामी जनप्रतिनिधिले आमजनताका माग र मुद्दा समाधानका लागि पहलक दमी लिनुपर्छ, लिन्छौँ ।

सङ्घीयता अभ्यास भएको पाँच वर्ष पूरा भएको छ, तीन तहका सरकारबीचको समन्वय कस्तो पाउनुभएको छ ?

तीन तहमै निर्वाचित सरकार त भएको छ तर प्रदेश र स्थानीय तहले अधिकार पाएका छैनन् । उसका आफ्ना कर्मचारी छैनन् । आन्तरिक सुरक्षाका रुपमा रहने पुलिस फोर्स केन्द्रकै हातमा छ । त्यसले गर्दा पनि असर भएको छ । हामी कहाँ एउटा संसदीय प्रणाली छ भने अर्काे प्रत्यक्ष जनताबाट निर्वाचित स्थानीय सरकार छ । उसको आफ्नो कर्मचारी हुनुपर्ने हो त्यो छैन । जुन कर्मचारी जहाँबाट आएको छ त्यो उसैप्रति उत्तरदायी हुन्छ । समन्वय हुन्न । यहाँ यस्तै समस्या देखिएको छ ।

मधेस आन्दोलन मुलुकको शासकीयस्वरुप परिवर्तन र सङ्घीयता कार्यान्वयनका लागि ठूलो योगदान छ । निर्वाचनको नतिजाले मधेसवादी दलले उठाउँदै आएका ती एजेण्डलाई ओझेलमा पारेको सङ्केत गरेको छ, यसलाई यहाँले कसरी लिनुभएको छ ?

तपाइँहरुले यसरी कुरा उठाइरहँदा हामीलाई असाध्यै पीडा हुन्छ । हामी जति बिर्सन खोज्छौँ सक्दैनौँ । मुलुकमा धेरै आन्दोलन भए, अहिले पनि सङ्क्रमणकाल चलिरहेको छ । परिवर्तन त हुँदै जाला तर, कतिपयले सबैथोक गुमाइसके । अहिले पनि थरुहट आन्दोलनकारी जेलमा छन्, तारिख खेपिरहेका छन् । त्यो घटना अन्याय मात्रै हैन, अत्याचार थियो । तपाइँले कुरा उठाउनुभयो मेरो आँखा वरिपरि त्यो घटना झल्किरहेको छ । केही पीडितलाई पार्टीकोतर्फबाट राहत दिउँ भनेर गयौँ तर उनीहरु मेरो छोरा ल्याइदेउ, राहत चाहिँदैन भन्छन् । हामीलाई कति पीडा होला भनिसाध्य छैन । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन सकेका छैनन् । राज्यबाट पीडितको जीवनयापनको व्यवस्था भइदिएहुन्थ्यो, धेरैपटक निर्णय भयो तर कार्यान्वनयन भएन ।

पछिल्लो निर्वाचनको परिणामले ती मुद्दा उठाउने पक्षलाई नै मतले अलि साँघुरो बनाएको देखिन्छ, यहाँले कसरी हेर्नुभएको छ ?

हामीले साथीहरुलाई जेलबाट छुटाउन सकेनौं । निर्वाचनको समयमा अरुले त्यो गर्दिन्छु भनेका छन्, अहिले सरकार पनि लागिरहेको छ । साथीहरुलाई जेलबाट जसले पहल गरेर छुटाउन सक्छ । छुटाउनुपर्छ । जसका लागि हामीले पनि पहल गरिरहेकै छौँ ।

तपाइँहरु तराई–मधेसमा आन्दोलनबाट स्थापित शीर्ष नेताहरु हुनुहुन्छ । पछिल्ला निर्वाचनमा तुलनात्मकरुपमा योगदान कम रहेका पक्षतर्फ मतपरिणाम गएजस्तो अनुभूति भएको छैन् ?

मधेस आन्दोलन र मधेसका मुद्दा उठाए पनि यिनीहरुले गर्न सकेनन् भनेर जनमत पार्टीको पक्षमा मत जाहेर गरेको अवस्था छ । उहाँहरुले गर्न सक्नुहुन्छ कि हुन्न त्यो त हेर्न बाँकी छ । हामीले समावेशीताको नारा लियौँ, पहिचानका आधारमा भेदभाव नगर भन्छौँ, उल्टै हामीलाई विखण्डनवादीको आरोप लाग्छ । हाम्रो भाषा, संस्कृति, खानपान रहनसहनमा विविधता छ । विभिन्न छौँ तर हामी एकसाथ छौँ । राज्यशक्तिमा समान पहुँच छैन । न्यायोचित वितरण हुनुप¥यो भन्ने हाम्रो माग छ । त्यसमा अहिलेसम्म राज्यले हाम्रो भावना बुझ्न सकेको छैन । जो प्रधानमन्त्री हुन्छ हामी माग लिएर जान्थ्यौँ । नागरिकताको विषय राष्ट्रपतिजीले बुझ्नुभएन । अहिले पनि संविधानमा महिला र पुरुषको बराबरी अधिकार छैन ।

निर्वाचनमा यहाँको पार्टी जुन खेमामा उभियो, अबको यात्राको निरन्तरता पनि यतैतर्फ रहन्छ ? राजनीतिक स्थिरता र बाह्य शक्तिको चलखेललाई यहाँले कसरी लिनुहुन्छ ?

मुलुक कुनै पनि गठबन्धन वा सरकार सबैमा राजनीतिक स्थिरता देख्न चाहन्छौं । जबसम्म राजनीतिक स्थिरता आउदैन तबसम्म विकास निर्माणले गतिलिन सक्दैन । पूर्वाधारलगायतका काम समयमा हुँदैन । त्यसको मार आमजनता प्रत्यक्ष पर्छ । जनताले चाहेका सडक, सिँचाइ, खानेपानी समयमा सहज ढङ्गबाट काम हुनुपर्छ । अनि मात्र समय र पैसाको बचत हुन्छ । त्यसैले मुलुकमा आर्थिक समृद्धिको गतिलाई द्रुतरुपमा अघि बढाउन गठबन्धनलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि पुलपुलेसा बनेको छैन । सडकको बेहाल छ, जति पनि सरकार बनेका छन् कुनैको बहुमत र स्थिर देखिएन । यसबाट विकासलाई अवरोध सिर्जना गरेको छ । विसं २०४६ पछिका कुनै पनि सरकार स्थिर भएन । हाम्रो राजनीतिक इतिहास पनि अस्थिर छ । शान्तिपूर्ण देखिदैन । धोकाधडी, षड्यन्त्र, आतङ्क आदिबाट प्रताडित भएको छ । भूराजनीतिक प्रभाव पनि उत्तिकै छ । त्यो राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय । देशको प्रधानमन्त्री भएका जिम्मेवार नेतालेसमेत खुल्लमखुला बोलिरहनुभएको छ । बाह्यशक्तिको हात छ भनेर । तर कुन शक्ति हो भन्ने चाहिँ खुलाउन सक्नुभएको छैन । अहिले पश्चिमा शक्ति पनि सशक्त छ, अर्कातिर उत्तर– दक्षिणका शक्ति उत्तिकै छन् ।

सरकारले हालै अघि बढाएको अध्यादेशबारे तपाइँको दृष्टिकोण ?

जुन अध्यादेश अहिले चर्चामा छ, त्यो नसोध्नुस् पीडा हुन्छ हामीलाई ।

मुलुकको राजनीति कता जान्छ, जनतालाई सकारात्मक आशा सन्देश कसरी दिलाउनु हुन्छ ?

देशमा होस् वा विदेशमा नेपालीहरु निकै मेहनती छन् । काम र जिम्मेवारीप्रति पूर्ण इमान्दार छन् । कसैले पनि शङ्का गर्न सक्दैन । इमान्दारिताले गर्दा जहाँ गए पनि सम्मान पाउँछन् । भविष्य खराब छैन, उज्ज्वल नै देखापरेको छ । मुलुकको राजनीति पनि सही दिशामा जान्छ । यसमा कुनै सन्देह छैन ।

सरकारमा सामेल हुने वा नहुने यहाँको पार्टीको आगामी कार्यदिशाबारे केही प्रष्ट पारिदिनु हुन्छ कि ?

प्रधानमन्त्री जो बने पनि हाम्रा माग र मुद्दाबाट पछि हट्दैनौँ । देशको आधाभन्दा बढी जनसङ्ख्या मधेसमा छ, मधेस हाम्रो पहिचान हो । राजनीतिक दलले सत्तामा गएर जनताको सेवा गर्ने हो । हामी गैरसरकारी संस्था (एनजीओ) होइनौँ, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक सङ्गठन हो । यो सधैँ जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।

इतिहास पुनर्लेखनको आवश्यकता- प्रोफेसर रजनीश कुमार शुक्ल कुलपति, महात्मा गांधी हिन्दी विश्वविद्यालय, बर्धा, भारत

भारतमा इतिहासको शिक्षण बर्तमान अवस्था हेरेर यसले भूतकालका विभिन्न घटना वारे जानकारी दिन्छ भन्ने जानकारी प्राप्त हुन्छ | के इतिहासको काम केवल भूतकालका घटनाहरूवारे जानकारी दिनु मात्र हो, के सत्य-असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु होइन र ? यदि इतिहासको काम केवल पुराना घटनाहरूको जानकारी मात्र हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहासको अध्ययनको लक्षनै प्रष्ट छैन | इतिहास शिक्षणको ऊदेश्य नै प्रष्ट नहुँदा राष्ट्रीय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रमाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ |
यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने तेसमा समावेश गरिका पाठ्यक्रमहरू खण्डित हुन्छन् वा विकृत हुन्छन् नै | कुनै पनि देश वा समाजले आफ्नो इतिहासको समग्र अध्ययन होस् भन्ने चाहन्छ | इतिहासमा पढाई हुने विषयवस्तुले हाम्रो र हाम्रो सांस्कृतिक परिवेशआदिको सहिसही प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने अति महत्वपूर्ण हुन्छ | विश्वभरीको इतिहास आफ्नो परिवेशमा लेखिएको हुन्छ र सबैले आफ्नो मौलिकता जोगाएको हुन्छ | असलमा, कक्षा दश भन्दा माथि इतिहास थोरै पढाइन्छ तर तेस भन्दा तलका कक्षाहरूमा लगभग सबैले इतिहास पढ्नुपर्छ | यदि यतिधेरै विद्यार्थीले इतिहास पढिरहेका हुन्छन् भने त्यो सत्य र तर्कसङ्गत हुनुपर्छ |
तर हामीले साना बालबालिकाहरूलाई अन्य केही घटनाहरू बताइरहेका हुन्छौं सत्य होइन | इतिहास चाहे हुन् क्षेत्रको होस्, घटनाहरूको चयन, प्रविधि र तेसको व्याख्या सबैभन्दा महत्वपूर्ण हुन्छ | भारतजस्तो देशमा इत्हस भन्दा पनि पहिलेको इतिहास आज पनि निरन्तर रहेको देख्न सकिन्छ | तर दुर्भाग्यवास इतिहास पूर्वको भारतवर्षीय इतिहासलाई खण्डित दृष्टिकोणले हेर्ने र बुझ्ने प्रयत्न गरिएको छ | यदि इतिहास छ भने त्यो शुअर्य, पराक्रम र मानवजातिको कल्याणको लागि हुन्छ | तर कक्षा दश भन्दा तल्लो कक्षाहरूका बालबालिकाहरू एस्तो शौर्य र मानवकल्याणकारी इतिहासका विषयमा थोरै मात्र जानकारी प्रदान गरिएको छ |
यदि स-साना कक्षाहरूमा ठीकठीक इतिहासको जानकारी दिने हो भने बालबालिकाहरू आफ्ना पूर्वजहरूको सही इतिहास र त्यसको प्रवृत्तिसंग परिचित हुन्थे | ज्ञानको विस्तारको लागि इतिहासको उपयोग हुन्छ र उद्देश्य पानो ज्ञानको विस्तार गर्नुहुन्छ | इतिहास लेखन र इतिहासको ज्ञान दूवै निरन्तर चल्ने प्रक्रिया हुन् | यस्तो चेतना किन आवश्यक छ ? यो किशोरकिशोरीहरूको चेतनालाई उच्च बनाउन हो कि अझैं निम्नस्तरमा झार्न हो ? अंग्रेजहरूले इतिहास लेख्ने क्रममा गरेका अनुचित क्रियाहरू कत्तिपनि लुकाएका छैनन् | उनीहरूले भविष्यमा भारतवर्षको ज्ञान परम्परामा ठीकठीक विकास हुने तत्थ्त बुझेका थिए | उनीहरूले भारतवर्षीय ज्ञान अर्थात् संस्कृतभाषाको उपयोग नै धर्मपरिवर्तनका लागि गरे | यदि यसपछिको घटनाहरूमा चिन्तन गर्ने हो भने इतिहासको स्रोतका रूपमा इन्डिक भने | यो इन्डिक शब्द निकै हानिकारक छ किनभने यसले भरतवर्षीय इतिहासलाई फारसीहरूसंग जोडेर बुझ्ने र भारतवर्ष र फारस बीच अभिन्न सम्बन्ध रहेको काल्पनिक विश्वास स्थापित गर्छ | एस्तो इतिहासले भारतवर्षको बास्तविक इतिहास जान्न सकिन्न | यो इतिहास परम्परामा अनेकौं धर्मांतरण तथा अनेकौं अत्याचार हुँदैहुँदै पनि ११ रौँ शताब्दिदेखि १७ औं शताब्दिका बीचमा ४५ हजार भन्दा बढी मौलिक पुस्तकहरू लेखिएको र भारतवर्षका सबै भाषामा लेखिएको भनेर कहीं उल्लेख गर्दैन |
१२ रौँ शताब्दिमा लेखिएको “लीला चरित्र” बास्तवमा एउटा इतिहास हो | तेहा हामीले भन्न सक्नुपर्छ कि भारतवर्षमा जे-जति ग्रन्थहरू लेखिएका छन् ती सबैले भारतवर्षका भाषाहरूबाट स्रोत प्राप्त गरेका छन्, मौलिक तथा विश्वसनीय छन् | हामीले समीक्षा गर्नुपर्छ कि बास्को डी गामाले जुन तीन बटा पत्रहरू लिएर भारतवर्षमा आएको थियो ती मध्ये एउटा पोर्चुगाली भाषा र दूई अन्य उर्दूमा “भारतवर्षका” सम्राटका नाममा लेखिएका ती | तेस बखत भारतवर्षमा कुनै सम्राट थिएन | तेस बखत गरिएको यात्राको सामान्य घटनाक्रमलाई जोडेर भारतवर्षको इतिहास खोज्ने प्रयत्न गरियो | तेसपछि भारतवर्षको खोजी बास्को डी गामाले गरेका हुन् भन्ने आपत्तिपूर्ण इतिहास लेखन आरम्भ गरियो तर उसले बोकेका तीन बटा पत्रहरूको विषयवस्तु पूर्णतया अनदेखा गरियो | यसरी भारतवर्षको बास्तविक इतिहासमा खलल पारियो र कोलम्बसले अमेरिका खोजेझैं बास्को डी गामालाई भारतवर्षको अन्वेषकका रूपमा बालबालिकामा पस्कियो | जवसम्म यो काल्पनिक इतिहास परिवर्तित हुँदैन किशोरकिशोरीहरूको धारणामा परिवर्तन आउंदैन | उपलब्ध स्रोतहरूबाट १० कथामा पढेको इतिहासलाई एउटा बालकले आजीवन सत्य ठान्छ र अन्य इतिहासलाई असत्य ठान्छ |
यसबाट उसको मनमा आजीवन विरोधाभास उत्पन्न र तेसमा जिउन बाध्य हुन्छ | हो, ठूलो भएर इतिहास पढेपछि कुनै पनि बुद्धिमान व्यक्तिले आर्यआक्रमणको सिद्धान्तलाई मान्न सक्दैन | के यस्तो विरोधाभासको मानसिकता उत्पन्न हुनुभन्दा पहिले नै समाधान गर्नु पर्दैन ? यदि यो कुरा इतिहासको पाठ्यक्रमको निर्माण गर्दा नै उद्देश्य प्रष्ट पार्दिनु पर्दैन र ? इतिहास लेख्दा जे-जस्ता न्यूनताहरू छन्, तिनको समाधान गरिनुपर्छ | देशका १०% जनसंख्या इतिहासको शिक्षाबाट टाढा छ | विद्यालय पाठ्यपुस्तकहरूमा इतिहास सम्बन्धि शिक्षा प्राप्त छैन | खासगरी आदिवासी जनजातिहरू वास्तविक इतिहास जान्नबाट पूरै बन्चित छन् | अनि, यस देशका निवासीहरूलाई विभिन्न वहानामा घुमफिर गर्नबाट र आ-आफ्नो जीवन पद्यतिअनुसार जीवन यापन गर्न प्रतिबन्धित गरियो | यस्तो गर्नु भारतवर्षको सांस्कृतिक तथा सामाजिक आत्मामा प्रहार गर्नुनै थियो किनभने यसो गर्दा नै भारतवर्षको जीवन पद्धति परिवर्तन गर्ने एउटा प्रक्रिया थियो | हामी सबैले जानेका छौँ कि १८ रौँ शताब्दिसम्म भारत एउटा वैश्विक आर्थिक शक्ति थियो |
यस्तो प्रतिबन्धका कारण परम्परागत शिल्प र व्यापारिक पद्धतिउपर धेरै नराम्रो प्रभाव पर्यो र भारतवर्षको मौलिक इतिहास हरायो | कुनै एउटा देश जहाँको १०-१२ प्रतिशत जनसंख्या प्रभावशाली थियो, ती मध्ये हामीले एकदुईलाई मात्र बुझेका छौँ | परिणाम यो हुन्छ कि विद्यालयका बालबालिकाहरूले त्यस बाहेकका अनेकौं जातजातिका विषयमा कत्ति पनि जान्दैनन् | उनीहरूले ती जनजाति वा आदिवासीका विषयमा त्यत्तिनै बुझ्ने गर्छन्, जति तेस विषयमा अंग्रेजहरूले लेखिदिएका छन् | यसरी इतिहासको पुनर्लेखन अत्याबश्यक भएको छ | यस्तो पुनर्लेखन गर्दै गर्दा आफ्नै देशका तथाकथित विद्वानहरू र रेडिमेड इतिहास पढिरहेका विद्यार्थीहरूलाई आफ्नो देशको गौरव र परम्पराहरूको सत्यहरूबाट सुसज्जित गर्नुमा रहन्छ | सही इतिहास बुझ्नुको अर्थ आफ्नो देशको वास्तविकता बुझ्नु हो | भारतलाई कसरी बुझ्ने हो, भारतको कुन स्वरूपलाई बुझ्ने हो र यहाँको युवा पुस्ताले आफ्नो इतिहासलाई कसरी बुझ्ने छ र यस प्रति कसरी आस्था व्यक्त गर्ने छ ?
यो सबै कुरा इतिहासको ज्ञानसंग सरोकार राख्ने विषय हो | यदि इतिहासको शिल्प, कौशल र ज्ञानको विस्तारमा उपयोगी छैन भने हामीले विज्ञानको इतिहास बुझ्नुपर्छ जहाँ त्यसको समुचित उपयोग छ | विज्ञानको उद्देश्य प्रष्ट भएझैं इतिहासको पनि उद्देश्य प्रष्ट हनुपर्छ र यसको प्रचीरबाट इतिहासलाई बुझिनु पर्छ | इतिहासका प्राध्यापकहरूको काँधमा उपरोक्त किशोर-किशोरीहरूको मनका प्रति महत्वपूर्ण जिम्मेदारी छ, यदि तिनले यो अभिभारा पूरा गर्छन् भने १००% विद्यार्थीहरूले इतिहासको उद्देश्य थाहा पाउँछन् र यो लक्ष पूरा गर्न उद्देश्यपरक परिणाममा आधारित कार्यक्रम बनाएर कार्यन्वयन गरेर मात्र प्राप्त गर्न सकिन्छ | समाजको इतिहास, राष्ट्रको इतिहास, संस्कृतिको इतिहास यदि प्राविधिज्ञ, शिक्षाविद् तथा वैज्ञानिकहरूले निर्माण गर्छन् तेस्तो इतिहास स्वीकार्य हुन्छ, र त्यो स्थायी हुन्छ |
अत: मनुष्यहरूको निर्माण प्रक्रियामा जुन इतिहासको महत्वपूर्ण परिणाम प्राप्त हुनेछ, त्यो पढाउनु पर्ने छ | यो नै इतिहासको उद्देश्य हुनुपर्छ | हाम्रो इतिहासको दृष्टिकोण ती किशोर-किशोरीहरूको मनमष्तिस्कलाई अगाडी राखेर निर्माण गरिनुपर्छ, जसले उनीहरूलाई भविष्यमा गौरवशाली भारतीय बन्ने सुनिश्चित हो | इतिहासको पाठ्यक्रमले आफ्नो देशको अन्तरवस्तु बुझेको हुनुपर्छ | विगत ७० वर्षदेखि विग्रिएको यो पाटो विगत ८ वर्षमा सुधार्ने प्रयत्न गरिंदै छ | यसको गतिलाई तीब्रता दिनु पर्ने हुन्छ | अहिलेजस्तो भारतवर्षप्रति सकारात्मक दृष्टिकोण निर्माण भएको छ, तेस्तो कहिलै थिएन | यस सकारात्मक कालखण्डमा इतिहास पनि सकारात्मक र भारत केन्द्रीत बन्न सक्छ | भारतलाई, भारतीयहरूलाई, भारततीय ज्ञान दृष्टिका आधारमा भारतको सुबोधपूर्ण इतिहास निर्मित गर्नुपर्छ | यस्तो सुबोध, आत्मबोधको इतिहासका आधारमा मात्र २१ औं शताब्दिका चुनौतिहरूसंग मुकवाला गर्ने सक्ने सक्षम युवावर्गको निर्माण हुनसम्भव छ |
रजनीश कुमार शुक्ल कुलपति, महात्मा गांधी हिन्दी विश्वविद्यालय, बर्धा, भारत

अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा सरकारले लिने

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो ।

स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्तिको स्वामित्व स्थानीय सरकार मातहत जानेछ । यसरी आफ्नो कर्तव्य पूरा नगरी अंशसमेत खान नपाउने व्यवस्थाले समाजमा ज्येष्ठ नागरिकप्रति हेरिने दृष्टिकोण, व्यवहारलाई परिवर्तन गरी सुसंस्कृत समाज निर्माण गर्न बल पुग्नेछ । समग्रमा यस विधेयकले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको छ ।

त्यस्ता ज्येष्ठ नागरिकका नाममा भएको सम्पत्ति पनि सरकारले नै लिने र हेरचाह पनि सरकाले नै गर्ने गरी हालै संसद्बाट पारित भएको ज्येष्ठ नागरिकसम्बन्धी विधेयकले विशेष व्यवस्था गरेको छ । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको सो विधेयकका सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग राष्ट्रिय समाचार समितिका आलेख समाचार प्रमुख कृष्ण अधिकारी र सहायक समाचारदाता शर्मिला पाठकले गरेको कुराकानीको सम्पादित अंशः

संसद्को दुवै सदनबाट ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक पारित भएको छ, यसलाई यहाँले कसरी हेर्नु भएको छ ?

ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विद्येयक पास गरेको छ । ज्येष्ठ नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको यो विधेयक राष्ट्रियसभाले २०७५ फागुनमा पारित गरेको थियो भने प्रतिनिधिसभाले यही साउन ४ गते पारित गरेको छ । यस विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ ।

ज्येष्ठ नागरिक उहाँका परिवार र सन्तानको बोझ बनिरहेका र वृद्धाश्रममा पठाउने काम गरिरहेकाले उनीहरूलाई नसियत दिने व्यवस्था गर्न जरुरी रहेको थियो । त्यसैले स्थानीय तहले उहाँहरूका सन्तान र परिवारलाई दण्डित गर्ने र उहाँहरूको संरक्षण गर्ने व्यवस्था गर्नेगरी विधेयक ल्याइएको हो ।

नेपाली समाजमा आफूले कमाएको सम्पत्ति विभिन्न बहानामा सबै माग्ने र आमा बुबाले नसकेका अवस्थामा सार्वजनिक पाटीमा बास बसाउने क्रम बढ्न थालेपछि सरकारले ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखी संशोधित विधेयकको आवश्यकता बोध भएको हो । यसले ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुने विश्वास लिएको छु ।

विधेयक कार्यान्वयनका सन्दर्भमा ज्येष्ठ नागरिकहरुलाई यहाँ के भन्न चाहनुहुन्छ ?

वृद्धावस्थामा हेरविचार नगर्ने छोराछोरीलाई अंश नदिनुस् जसले तपाईको संरक्षण गर्छ उसलाई नै जेजति भएको सम्पत्तिको हकवाला बनाउनुस् । जसले रेखदेख गर्छ, जसले पालनपोषण गर्छ उसलाई आफ्नो सम्पत्ति प्रदान गर्न हरेक ज्येष्ठ नागरिक स्वतन्त्र हुनुहुन्छ । परिवारको खर्च चलाएर विभिन्न माध्ययमबाट जगेडा गरेको सम्पत्तिबारे पनि छोराछोरीलाई जानकारी दिन आवश्यक छैन आफूले सक्दैमा अशक्त अवस्थामा आफ्ना लागि जगेडा गर्न पनि म ज्येष्ठ नागकिलाई अनुरोध गर्दछु ।

अब कोही पनि ज्येष्ठ नागरिकले आफ्ना सन्तान वा सम्पत्तिको दाबेदारबाट उचित लालनपालन वा हेरचाह नपाउने वा अलपत्र अवस्थामा रहनुपर्ने अवस्था आउन दिदैनौँ । त्यस्तो अवस्था आएमा ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितमा परिचालन गरिनेछ । कोही पनि ज्येष्ठ नागरिकले एक्लो वा असहाय भएको अनुभव गर्नुपर्ने छैन । उहाँहरुको अभिभावकत्व राज्यले लिनेछ ।

ज्येष्ठ नागरिकका सम्बन्धमा यस विधेयकले महत्वपूर्ण व्यवस्था गरेको छ भन्नुभयो, केही उल्लेखनीय प्रावधानहरु के के हुन् त ?

समाजमा पढेलेखेकाले पनि आफ्ना अभिभावकलाई आश्रममा छाड्ने गरिएकाले यस विधेयकमा उहाँहरूका सवालमा सन्तानलाई उत्तरदायी बनाइएको छ । यस विधेयकमा विशेषगरी परिवारको व्याख्या गरिएको छ । यसमा छोराछोरी, बुहारी र छोरातर्फको सन्तानपछि छोरीतर्फको नातिनातिना पनि थप गरिएको छ । ज्येष्ठ नागरिकप्रति निजका सन्तानलाई नै यसले जिम्मेवार बनाउने विषय यसमा समावेश गरिएको छ ।

ज्येष्ठ नागरिकलाई सन्तानले लालनपालन, हेरविचार गरेनन् भने कानूनअनुसार कोही हकवालालाई जिम्मा लिन मिल्ले विषय पनि यस विधेयकमा समावेश रहेको छ भने दुवैले जिम्मा लिने अवस्था नआए त्यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने व्यवस्था यसमा स्पष्टरुपमा उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेको वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई ज्येष्ठ नागरिकको हकहितका लागि परिचालन गर्ने व्यवस्था गरिएको छ । यसरी आफ्ना बाबुआमाप्रति सन्तान उत्तरदायी भएनन् भने स्थानीय सरकारलाई उत्तरदायी बनाइएको छ ।

यस विधेयकले परिवारलाई मात्र नभई छरछिमेकलाई समेत उत्तरदायी बनाउन खोजेको छ । कुनै परिवारमा ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार वा कुनै पनि खालको हिंसा भएको जानकारी छिमेकीलाई अवगत भएमा उनीहरुले पनि त्यसको सूचना स्थानीय तहलाई गराउनुपर्छ । वृद्धवृद्धा स्वयंले उजुरी गर्न नसकेमा छिमेकीले उजुरी गरेमा पनि कानुन आकर्षित हुने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक राष्ट्रको गहना भएकाले उहाँहरूको सीप, ज्ञानको उपयोग गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।

ज्येष्ठ नागरिकले आफूलाई मर्का परेका विषयमा कसरी र कहाँ उजुरी गर्न सक्छन् ?

अन्य नागरिकसरह ज्येष्ठ नागरिकले आफूलाई छोराछोरी वा अन्य हकवाला नातेदारले उचित पालनपोषण, हेरचाह नगरेमा त्यसका बारेमा स्थानीय निकायको न्यायिक समितिमा उजुरी दिन सक्नेछन् । यस्तो उजुरी छोटो विधिबाट सुनुवाइ गर्न समितिले अलग्गै कार्यविधि तर्जुमा गर्न सक्नेछ । साथै, ज्येष्ठ नागरिकका मुद्दा हेर्नका लागि न्यायपरिषद्को परामर्शमा छुट्टै ज्येष्ठ नागरिक इजलास गठन गर्नसक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

आर्थिक अवस्था सम्पन्न भएका ज्येष्ठ नागरिकको लालनपालन गर्ने व्यक्ति नहुँदा पनि उनीहरुले अनेक समस्या झेल्नुपरेको छ । यसमा यहाँले के सोच्नुभएको छ ?

हो, हाम्रो समाजमा आर्थिक हिसाबले सम्पन्न रहेका ज्येष्ठ नागरिकले पनि सहाराविहीन बन्नुपरेको छ । जापानलगायत धेरै देशमा नेपालबाट ज्येष्ठ नागरिकको हेरविचार गर्न रोजगारीका लागि धेरै कामदार जाने गरेका छन् । अब हामी देशमै यस किसिमको रोजगारीको अवसर सिर्जना गर्दैछौँ । नेपालमै आर्थिक हिसाबले सम्पन्न ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्तिका लागि तालिम सञ्चालन गर्नेछौँ र उनीहरुलाई स्वदेशमै रोजगारी दिनेछौँ ।

यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । यसले राज्यलाई पनि फाइदा हुनेछ भने रोजगारीको पनि अवसर प्राप्त हुनेछ । आफ्नै आर्जन भएका वा विदेशमा रहेका छोराछोरीले आफ्ना बाबुआमाको हेरचाह गर्ने भरपर्दो व्यक्ति भएमा आवश्यक रकम पठाउन तयार रहेकाले यसलाई छिट्टै कार्यान्वयनमा ल्याउनेछौँ । मैले आमाबुबा पालेको छु भन्नुभन्दा म आमाबुबासँग बसेको छु भन्ने सोच हरेक छोराछोरी र बुहारीमा आएमा ज्येष्ठ नागरिकका समस्या धेरै हदसम्म समाधान हुनसक्ने भएकाले हाम्रो सोचमै परिवर्तनको खाँचो छ ।

छोराछोरीले कमाएको निश्चित रकम बाबुआमालाई दिनुपर्ने बाध्यात्मक व्यवस्थाको कार्यान्वयन कसरी हुन सक्दछ ?

यस विधेयकले नियमित पारिश्रमिक, निवृत्तिभरण पाइरहेका तथा स्वरोजगार व्यक्तिले निश्चित रकम बाबुआमाका नाममा खाता खोली जम्मा गर्नुपर्छ । यसरी जम्मा गरेको जानकारी वार्षिकरुपमा व्यक्तिले स्थानीय तहलाई गराउनुपर्छ । रकम जम्मा नगरे यसो नगरे उक्त छोराछोरीलाई सम्पत्ति लिने अधिकार पनि हुँदैन भने बाबुआमाले दायित्व भएका व्यक्ति कार्यरत संस्थामा उजुरी गर्न पाउने व्यवस्था गरिएको छ । कति रकम जम्मा गर्ने भन्ने विषयमा विधेयकमा नभए पनि पछि बन्ने नियमावलीमा स्पष्ट उल्लेख गरिनेछ । यसमा बुबाआमा सँगै बस्नुहुन्छ भने सयुक्त खाता खोल्ने र फरकफरक बस्ने अवस्थामा फरक फरक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिनेछ ।

विधेयकमा ज्येष्ठ नागरिकको सबालमा स्थानीय तहलाई बढी नै जिम्मेवार बनाउन खोजिएको देखिन्छ । के हाम्रा स्थानीय तहहरु ती प्रावधानहरु कार्यान्वयन गर्न सक्षम छन् त ?

विधेयक प्रमाणीकरण भई ऐन बनेपछि स्थानीय सरकारलाई यसमा जिम्मेवार बनाइनेछ । स्थानीय तहले ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारी गर्नेछन् । दिवा स्याहार केन्द्र वा आवास गृहको प्रबन्ध गर्नुपर्ने हुन्छ । यसका लागि मन्त्रालयले सम्पूर्ण स्थानीय तहलाई बाध्यकारी तरिकाबाट सूचना प्रवाह गर्ने भनाइ । यस विधेयकलाई ज्येष्ठ नागरिकसमक्ष पुर्याउनका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ । अशक्त अवस्थामा रहनुभएको अर्थात् घर बाहिर निस्कन नसक्ने ज्येष्ठ नागरिकको हकमा वृद्धाभत्ता पनि घरमा नै पुर्याउने व्यवस्था गर्नुपर्छ भन्दै मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको भए पनि अझै धेरैले त्यसलाई कार्यान्वयन नगरेकाले तत्काल त्यसको कार्यान्वयन गर्न आग्रह गर्दछु ।

सरकारले यस वर्ष ज्येष्ठ नागरिकलाई दिइने भत्ताको उमेर हद ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गरेको छ । यसलाई कार्यान्वयन गर्न कत्तिको सहज देख्नुहुन्छ ?

ज्येष्ठ नागरिकप्रति वर्तमान सरकार निकै उदार रहेको छ । वर्तमान सरकारले यस वर्षको बजेटमा ७० वर्षलाई घटाएर ६८ वर्ष कायम गरेको छ । नेपालीहरुको औसत आयुको आसपास ७० वर्षमा भत्ता वितरण गरेर खासै उपलब्धि नहुने भएकाले यसलाई हाललाई दुई वर्ष घटाएका छौँ । अन्तर्राष्ट्रिय अभ्यासमा ६५ वर्षबाट नै ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था रहे पनि हाल नेपालमा त्यसो गर्नसक्ने अवस्था छैन तर छिट्टै ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था गरिनेछ ।

ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने कुरा के भइरहेको छ नी ?

ज्येष्ठ नागरिकका लागि ५० बेडको अस्पताल बनाउनका लागि डिपिआरको काम सम्पन्न भएको छ । उहाँहरुका लागि एउटा मात्रै अस्पतालले नपुग्ने भएकाले गोठाटारबाहेक देशका अन्य स्थानमा पनि अस्पताल निर्माणका लागि छलफल भइरहेको छ । गोठाटारमा अस्पतालसँगै उहाँहरुको लागि आश्रम पनि निर्माण गरिनेछ । त्यहाँको निर्माणको काम सम्पन्न भएसँगै पशुपति वृद्धाश्रममा रहनुभएका सबै आमाबुबालाई गोठाटारमा लैजाने तयारी मन्त्रालयको छ । वृद्धाश्रममा राखेर समाधान खोज्नु हुँदैन । वृद्धाश्रम बाध्यताको उपज रहेकाले त्यसतर्फभन्दा घरलाई स्वर्ग बनाउँदै परिवारसँग बस्ने वातावरण बनाउनुपर्छ । जीवनभर कमाइ गरेर निर्माण गरेको घर नै ज्येष्ठ नागरिकको मन्दिर हो र सन्तान त्यसका पुजारी हुन् ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?

सन्तानले घरलाई नै स्वर्ग बनाएर बस्नसक्ने वातावरण निर्माण गर्ने गरी विधेयक आएको छ । अस्पताल र सार्वजनिक यातायातमा पनि ज्येष्ठ नागरिकलाई केही सहुलियतको व्यवस्था गरिएको भए पनि त्यस विषय पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले सम्बन्धित मन्त्रालयले त्यसतर्फ ध्यान दिन परिपत्र गरेका छौँ । हामीले सन्तानलाई नै जिम्मेवार बनाउन खोजेका छौँ । यदि जिम्मेवार बहन गर्न नखोजेको अवस्थामा ज्येष्ठ नागरिकलाई अलपत्र पार्न हुन्न भन्ने सरकारको मनसाय हो । त्यसैले हरेक छोराछोरीले भोलि आफू पनि वृद्ध भइन्छ भन्ने वास्तविकतालाई सम्झँदै आफ्ना बाबुआमाको उचित पालनपोषण, हेरविचार गर्न सबैसँग आग्रह गर्दछु ।