आन्तरिक पर्यटकको रोजाइमा कोटदरबार

मान्मा  । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट दुई किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।

कोटदरबार क्षेत्र अग्लो स्थानमा रहेकाले दैलेखको पश्चिम र अछामको पूर्वी भागका साथै कालिकोटको अधिकांश भू–भागको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको खाँडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताउनुभयो । सदरमुकामबाट नजिकै भएकाले स्थानीय बिहान मर्निङ वाक गर्न तथा बेलुका आरामका लागि पनि यहाँ पुग्ने गरेका उनको भनाइ छ ।

स्थानीय तथा प्रदेश सरकारबाट कोटदरबार क्षेत्रमा पर्यटकीयस्थल संरक्षणका लागि ग्याबिन तार, तीन वटा प्रतिक्षालय, खानेपानीको धारा र राजा मलय बम्मको सालिक राख्न आवश्यक पूर्वाधार निर्माणलगायत काम भइरहेको स्थानीयवासी नरेन्द्रबहादुर शाहीले बताए।

नेपालमा बाइसे–चौबिसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कोटदरबार क्षेत्र अहिले पर्यटकीय क्षेत्र बनेको पूर्वमान्म गाउँ विकास समितिका अध्यक्ष अजबहादुर शाहीले बताए।

बाइसे–चौबिसे राज्यका राजाहरु अग्लो टाकुरामा बस्ने भएकाले कोटदरबार पनि त्यही ऐतिहासिकतासँग जोडिएको खाँडाचक्र–१ का प्रेमबहादुर शाहीले बताए ।

नगरपालिकाले २४ लाखको लगानीमा कोटदरबारको घेराबार गरेको थियो । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ५० लाख बजेट खर्च गरेर केही संरचना बनाएको भए पनि संरक्षणको अभावमा अहिले जीर्ण हुँदै गएको स्थानीय बजुरे खड्काले जानकारी दिए।

कोटदरबारबाट कोटबाँडाको सुनथराली विमानस्थल जोड्ने केवुलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको भन्दै केवुलकार बनेपछि यहाँ आन्तरिकका साथै बाह्य पर्यटकको आगमन पनि बढ्ने उपप्रमुख शाहीले बताए।

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण

काठमाडौँ । अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन्। वसन्त ऋतुको जारी आरोहणमा आरोही पेपरले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन्।

सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएकी हुन्।

यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका थिए। उनले अप्रिल १२ तारिखका दिन अपराह्न अन्नपूर्ण हिमालको आरोहण गरेका थिए।

दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण गरेको जानकारी आएको तर आधिकारिक प्रमाणीकरण गर्न बाँकी रहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए। ‘अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ। दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन आरोहण गरेको जानकारी आएको छ, यसलाई हामी (विभाग) अफिसियली प्रमाणीकरण गर्न बाँकीछ,’ उनले भने।

दुई वर्षभित्र विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अस्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै ३ वटा ८ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन्। उनले यसपछि कञ्चनजंघा मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको बताइन्।

पेपरले सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बततर्फबाट बिना अक्सिजन हिमाल आरोहण सुरु गरेकी थिइन्। सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन्।

पर्यटन विभागका अनुसार यो याममा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीन आरोही समूहका ११ महिला र १४ पुरुष गरी कूल २५ ले आरोहण अनुमति लिएका थिए।

 

पर्सा प्रहरीको जुक्ती ! निर्दोष थुनामा, ठगलाई उन्मुक्ती

पत्रकार शेषकान्त पण्डितको निधन

काठमाडौँ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन्।

उनको आन्द्रामा अर्बुद भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

त्रिवेणी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।

कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रुपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए । “स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,” उनले भने ।

करिब तीन दशमलव ५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी झारले ढाकेर अस्तित्व नै सङ्कटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए । तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुेने पनि खास काम नभएको उनले बताए । “पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो,” स्थानीय महतोले भने ।

“टरुवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,” स्थानीय केशकुमारी महतोले भने । ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उनले बताए ।

पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ ।

अन्य पानीको कुनै स्रोत नभएको र टरुवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरु सुरुमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्र्यो । पछि केरुङले खोला, कोइलापनी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो । यस अर्थमा समेत महत्व बोकेको ताल हिजोआज आफैँ सङ्कटमा परेको छ ।

तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै महत्वपूर्ण स्थलका रुपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । उनले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्छ भने । ताललाई जलकुम्भी झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए ।

वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनको भनाइ छ । ताल आफैँमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भइरहेको उनको भनाइ छ ।

कावासोती नगरपालिकाले टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यस वर्ष  ५० लाख विनियोजन गरेको वडाअध्यक्ष महतोले जानकारी दिए । “टरुवा ताल संरक्षणका विषयमा छलफल र बहसहरू चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला,” अध्यक्ष महतोले भने ।

युवा कामका लागि कालापहाडतिर, रित्तिदै हुम्लाका गाउँ

हुम्ला । संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् ।

जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहीन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका हुन् ।

सहरका युवाले रोजगारको खोजीमा खाडी मुलुकका लागि हातमा पासपोर्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाम लागेजस्तै यता दुर्गम गाउँका युवा पनि लाम लागेरै दिनहुँजसो छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट मात्र दैनिक १० देखि १५ युवा भारतको कालापहाडलगायत सहरमा कामका लागि गाउँ छोड्ने गरेका छन् ।

हुम्लाको अदानचुली गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन हुन थालेको नेकपा (एमाले) गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले बताए । गाउँमा चरम आर्थिक मन्दी छाएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौँको सङ्ख्यामा अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिकाका युवा कालापहाड (भारत) जान थालेका भण्डारीले बताए ।

यही पुस १० गते मङ्गलबार परेको कर्णाली क्षेत्रको स्थानीय चाड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कावाडी प्रहरी चौकीले जनाएको छ ।

गएको एक सातामा गाडीमा र पैदल हिँडेर भारत जानेको सङ्ख्या निकै बढी देखिएको छ । कावाडी प्रहरीचौकीका एक सुरक्षाकर्मीले चेकजाँच गर्दा र सोधीखोजी गर्दा गाडी र पैदलमा गएका सबैले भारत जान लागेको बताएका जानकारी दिए ।

अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीमा युवा विरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२ का भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि नयाँ अत्यावश्यक कामबाहेक अरू युवा गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताए ।

गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानुपरेको बुढाको भनाइ छ । अहिले गाउँमा कोही बिते पनि लास उठाउने युवा पाउन मुस्किल भएको उनको गुनासो छ ।

आफ्नो गाउँ घरबाट मात्रै यही पुस १३ गते २३ जना तथा विभिन्न टोल भएको अदानचुली– २ बाट झन्डै सयको सङ्ख्यामा भारत गएका उनको भनाई छ । हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही रकमको जोहो गर्ने गरेको यहाँका युवाका लागि एक वर्षयता कुनै विकास निर्माणका कामहरु ठप्प भए पनि झन्डै दुई दशकपछि पहिलोपटक यति ठूलो सङ्ख्यामा युवा विदेशिएका हुन् ।

लामो समयदेखि छिमेकी मुलुक नगएको यहाँका युवा दिनहुँ सयौँको सङ्ख्यामा छिमेकी मुलुक भारत गएको अदानचुली–५ का रामबहादुर छत्यालले बताए । गाउँमा रोजगारीका काम नहुनु, गाउँपालिकाले भएका योजनाहरुको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज हुनुलगायत कारणले अदानुचलीका युवाले हिउँदको आफ्नो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् । घरमा बसौँ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका युवाको रोजाइ कालापहाड बनेको हो ।

गएका वर्षहरुमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा पाँच/सातजना कालापहाड जाने गरेको भए पनि यो वर्ष जानेको सङ्ख्या निकै वृद्धि भएको अदानचुली–२ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले बताए ।

केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी ‘रिजर्भ’ गरेर यहाँको युवाले दुई/तीन महिनाको गन्तव्यका रुपमा कालापहाड रोजेका हुन् । आफूसहित २२ जनाको समूहले एक बलेरो जिप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर गएको र पुस १३ गते मात्रै पाँच सयको सङ्ख्यामा युवा कालापहाड लागेका भारत जान लागेका एक युवाले जानकारी दिए ।

कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जिपहरुमा प्रायः कालापहाड जाने अदानचुलीका युवा मात्रै भेटिने गरेका छन् । कुनै जिपले बेलुका अबेरसम्म पनि गाउँबाट युवा ओसारिरहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दर्जनौँ युवा बाजुराको मार्तडीसम्म राति हिँडेर पनि जाने गरेको बुढाले बताए ।

अदानचुली–३ मकै गाउँका अङ्कल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि पैदलै आफूसहित केही युवा बाजुराको मार्तडी पुगेको बताए । “मसँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि एक दिन एक रात हिँडेर बाजुरा सदरमुकाम मार्तडी पुगेका हौं, फोनमा उनले भने, “बाटोमा सबै गाडी चढेर हिँड्ने, हामीमात्र पैदल हिँडेको देख्दा आँफैलाई लाज होला भनेर हामी घरबाट हिँडेदेखि रातदिन नभनेरै पैदल कुदेका हौँ । एक रात एक दिनमा मार्तडी पुग्यौँ भने अब यहाँबाट नेपाल र भारतको सिमानामा पुग्न पनि त्यही दुई दिन एक रात लाग्छ कि जस्तो छ ।”

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातकान साधन सञ्चालनमा रोक लगाइएको हो ।

नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

“करिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ”, उनले भने । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उनले बताए ।

निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन् ।

यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

मिजार समाज महानगर कमिटीको अध्यक्षमा सुशील नेपाली सर्बसम्मत

मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा ४५ सदस्यीय महानगर कमिटि सर्वसम्मत रुपमा गठन गरेको हो ।
यस्तै उपाध्यक्षमा रामबहादुर नेपाली, ओममाया नेपाली, सचिवमा विनोद नेपाली सह–सचिवमा गोविन्द नेपाली र मञ्जु नेपाली, कोषाध्यक्षमा जौमाया नेपाली र सह–कोषाध्यक्षमा चन्द्र बहादुर नेपाली लगायत सदस्यहरु सर्वसम्मत चयन भएका हुन् । उक्त सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले समाज परिवर्तनमा मिजार समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताइन् । उत्पीडित समुदायको हक हितका लागि युद्धमा सहभागी हुँदै आएको समुदायले उत्पीडितको समस्या समाधान गर्न एक हुनु खुसीको कुरा भएको बताइन् । समाज परिवर्तनको पक्षमा लागेको उपलब्धिका कारण अहिले सदनमा दलित मात्रै १३ प्रतिशत रहेको जानकारी दिईन । उनले मानव भएरपनि जातीय छुवाछुतको कारण घृणा हुँदै गर्दा मिजार समाज लगायतका समुदायको आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उनको भनाइ थियो । उनले अझै पनि बेलाबखत विभेदका घटना घट्ने गरेको र यसका लागि समाज जागरुक भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । दलित समुदायलाई संविधानले अधिकार सम्पन्न बनाएको र त्यो अधिकारको रक्षा र विकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाको भनाइ छ ।
मिजार समाज नेपाल कास्की उपाध्यक्ष उमेश उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताए ।
सोही अवसरमा पुर्व जिल्ला अध्यक्षहरु मंगल नेपाली, रुद्र बहादुर नेपाली, हरिशचन्द्र नेपाली र स्व. बुद्धि बहादुर नेपालीका (परिवार) लाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदानको मुल्यांकन गर्दै नर्स सावित्री नेपाली लाई सम्मान गरियको थियो भने ,34 जनालाई प्रसंसा पत्र प्रदान गरियको थियो l डा.एलिसा सुर्खेतीलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरियको थियो हाल उनि चरक हस्पिटलमा कार्यरत छिन l उक्त कार्यक्रम जिल्ला अध्यक्ष रमेश सिकेको सभापतित्वमा सम्पन्न भयको थियो l

 ‘ऐनापहरा’आन्तरिक पर्यटनको गन्तव्यस्थल बन्दै

 

दमौली । हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन । तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ ।

स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ ।

गाउँपालिकाको लगानीमा ऐनापहराका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम गरिएको छ । ढुङ्गामा आकृति देखिन थालेपछि यस ठाउँमा सबैको ध्यान खिचेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा गणेश, आमा र बच्चाको आकृति खोप्ने काम सुरु गरेको थियो ।

ढुङ्गामा आकृति देखिन थालेपछि अहिले यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन् । गाउँपालिकाले ढुङ्गामा खोपेको आकृतिले धेरैको ध्यान खिचेको स्थानीय मनोजकुमार श्रेष्ठले बताए । स्थानीय विजय गुरुङले राजमार्ग नजिकै भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए ।

सामाजिक सञ्जालबाट पनि यस ठाउँको प्रचारप्रसार हुन थालेपछि ऐनापहरा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् । उनले भने, “गत माघदेखि यहाँका ढुङ्गामा आकृति बनाउने काम भइरहेको छ । आकृति लगभग अन्तिम चरणमा पुगेको छ । यसले आकर्षक देखिन थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्यो ।”

ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाइएको हो । पृथ्वी राजमार्ग नजिकै रहेको ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवद्र्धनमा जुटेको हो ।

यत्तिकै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानको भनाइ छ । ऐनापहरामा पार्क निर्माणका लागि गत आर्थिक वर्षमा  एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

“ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ”, चुमानले भने, “सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।”

पृथ्वी राजमार्गबाट एकछिनमै पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौं, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारी साधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार  दश करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ ।

नेवार समुदायले गुँपुन्ही मनाउँदै

भक्तपुर । नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो ।

सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।

नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उनले भने ।

भ्यागुताको पूजा

श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउँछन् । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उनले भने ।

भक्तपुरका कुण्डमा मेला

जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः (कालदह)मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताए ।