No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूरै सिस्टम यति दलदल र भ्रष्ट छ कि अबको सात पुस्तासम्म हाम्रो नियति यस्तै हो कि झैँ लाग्छ

0

नारायण गाउँले ।
ढाका प्रसादहरू त भुराभुरी न हुन्, बैंङ्कले पत्याउँदासम्म दुर्गा प्रसाईंकहाँ केपी ओली र प्रचण्ड लगायत नेपाली राजनीतिको कोर टीम नै मार्सी भात खान पुग्थ्यो । कुनै पनि पार्टीको केन्द्रीय सदस्य किन्न सक्ने हैसियत थियो उनको । बुढ़ानीलकण्ठमा ब्रीफकेस बुझाएर बनेका राजदूत कति छन् कति । कम्युनिष्टसँग कुनै साइनो नभएका एकनाथ ढकाल एमालेको समानुपातिक लिस्टमा टाउकोमैं परे ।

जित्न त परको कुरो, वडाध्यक्षको टिकट पाउनकै लागि पार्टीलाई २० लाखभन्दा बढ़ी बुझाउनेहरू हाम्रा दायाँबायाँ नै छन् । कुनै त्यस्तो राजनैतिक नियुक्ति छैन जसमा पैसाको चलखेल नभएको होस् । कुन एउटा सरकारी ठेक्का होला जसमा अनियमितता नभएको होस् ? शिक्षा र स्वास्थ्यमा प्रयोग गर्ने भनेर राजा र राजपरिवारको नाममा रहेको चलअचल सम्पत्ति सरकारीकरण भयो । त्यहाँ १५ वर्षमा कुन स्कुल, कलेज, अनुसन्धान संस्था या हस्पिटल बनेको छ ? उल्टै शिक्षा र स्वास्थ्यका लागि मात्रै प्रयोग गर्न पाइने भन्ने कानुन नै संशोधन गरेर ’अन्य’ थपिएको छ र चल सम्पत्ति त बाँडचुँड भइ नै सक्यो, अचल सम्पत्ति यति ग्रुप जस्ता सीमित घरानालाई व्यापारिक प्रयोजनका लागि बुझाइएको छ । जबकि उक्त सम्पत्तिलाई आमजनताको पक्षमा सदुपयोग गर्ने हो भने निरपेक्ष गरिबीको रेखामुनि हुने लाखौं नागरिकलाई निःशुल्क उच्च शिक्षा र स्वास्थ्यसेवा प्रदान गर्न सकिन्छ ।

७० करोड़को अडियो आयो र कारोबार रोकियो । तर त्यो बास्कोटाले डिल गरेका दर्जनौँ मेगाप्रोजेक्ट मध्ये एउटा मात्रै थियो । बाँकीमा के भयो भन्ने प्रश्न न पार्टीले गर्यो न मिडियाले । अहिले नाटकीय रूपले बजारमा पैसा गायब भएको हेर्दा कुनै दिन कृत्रिम स्रोत खुलाउन सकिने आशमा खर्बौं रुपियाँ कतै थन्किएको अनुमान गर्न असजिलो छैन । खुलेआम हाम्रा नेताले ‘मालदार मन्त्रालय’ भनेको र त्यसैका लागि लडेको सुन्नुभएकै छ । त्यो भनेको के हो भन्ने पनि सबैलाई थाहै छ । ढाका प्रसादले दुर्गा प्रसाईंसँग मात्रै पक्कै चन्दा मागेनन् र सबैले अडियो रेकर्ड राखेनन् । उनी किन मन्त्री बन्न सकेनन् र अर्कै बन्यो भन्ने प्रश्न पनि अनुत्तरित नै रहने भयो ।

कांग्रेस–एमालेदेखि हिजो भर्खर सर्वश्व पार्टीलाई बुझाएर सशस्त्र युद्धमा लागेका भनिएका सर्वहारा माओवादी नेताहरू बेलायत र अमेरिकी समकक्षी नेताभन्दा लोभलाग्दो जीवनशैली बिताइरहेको नाङ्गो आँखाले देखिएकै छ । तलब त्यही हो, हिजोको आर्थिक हैसियत त्यही हो, भयङ्कर कुनै पढ़ाइ र योग्यता पनि होइन, तर आज कार चढेर नहिँड्ने नेता कति छन् ? त्यो पैसा कहाँबाट आउँछ ? एकपल्ट आफ्नो पढ़ाइ, क्षमता, सङ्घर्ष र आर्थिक अवस्था हेर्नुहोस् र उस्तै योग्यता र पढ़ाइ र क्षमताको नेतासँग दाँज्नुस् त !

टाढा सोच्न पर्दैन, एकपल्ट आफूले राम्ररी चिन्ने नजिकको टोले नेतालाई हेर्ने हो र उसको योग्यता, हैसियत र आम्दानीको तुलनामा उसले गर्ने खर्च र रवाफ हेर्ने हो भने राजनीति कति मैलो छ भन्ने सजिलै बुझ्न सकिन्छ । र त्यो मैलोको मूल्य चुक्ता गर्ने चाहिँ हामीले नै हो । प्रत्यक्ष–अप्रत्यक्ष ती नेताले चढ्ने गाड़ीको पेट्रोल हाल्ने हामीजस्तै सड़कको धुलो खाएर हिँड्नेहरूले नै हो । त्यत्ति मात्रै होइन, तिनको जयजयकार गर्ने काम पनि हाम्रै हो ।

पूरै सिस्टम यति दलदल र भ्रष्ट छ कि अबको सात पुस्तासम्म हाम्रो नियति यस्तै हो कि झैँ लाग्छ । खेलाड़ी नयाँ आउलान् तर खेल उही पुरानै हो । मैदान हिलो र दलदल भएपछि पुरानाहरू अलि मैला र भर्खर पस्नेहरू थोरै सफा देखिने नै भए ! तैपनि मैदान बदल्न नसकेपछि झिनो आशामा खेलाड़ी बदल्न हामी विवश छौँ !

प्रकाशित: २ बैशाख २०८०, शनिबार ०४:००

Leave a Reply