No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नयाँ पुस्ताले पुराना दलका बकम्फुसे कुरामा अल्झनु हुँदैन

0

ठाकुर पोखरेल ।

‘प्रगतिशील दृष्टिकोण र समावेशी प्रतिनिधित्व सहितको नेपालको आफ्नै मौलिक ढाँचामा समुन्नत लोकतन्त्र सम्भव हुन्छ ! सुशासन र स्वशासनको कार्यान्वयनले समृद्ध नेपाल बन्छ’
विषय प्रवेश -:
राज्य सत्ताको मुख्य काम जनताको आवश्यकता – गाँस, बास, कपासको व्यावस्थापन गर्नु हो भन्ने गरिन्छ। राज्यको आवश्यकता र स्थापना पनि यसैका आधारमा बनेको हो भन्ने विश्वास गरिन्छ। तर, गाँस,बास र कपासका लागि मात्र राज्य सत्ता होईन- समाजको मौलिक पहिचान,मानवीय मूल्य मान्यता र उनीहरूको आहार, निद्रा, भय, मैथुन व्यवस्थापनको काम पनि राज्य सत्ता कै हो। त्यसो भएको हुँदा राज्य सत्ता संचालनको स्रोत ‘राजनीति’ हो भने राज्य संचालन संयन्त्रका स्रोत राजनीतिक दल र दलभित्रका राजनीतिक व्यक्तित्वहरु नै हुन्। अतितमुखी वा भविष्यमुखी सोचले यो काम असंभव हुन्छ। अतित्मुखी वा भविष्यमुखी सोचले राजनीति-कर्मीलाई सतही, गफाडी र गैरजिम्मेवार बनाउँदै राजनीति भनेको फोहोरी खेल हो भन्ने बुझाई भयो। ‘भोलि ठिक भइहाल्छ त’ भन्दै वर्तमानमा मनपरी गर्ने परिपाटी हाम्रो देशका पुराना राजनीतिक पार्टीका मूखियाँहरुले गर्दैआएका छन् । यस्तो सोचले पुराना दल भित्रका युवा राजनीति-कर्मी समेत बरालिएका देखिन्छन् उनीहरुलाई अतित वा भविष्यको ‘स्वर्ग’ देखाएर वर्तमानमा जनता ठग्ने ठगहरुका रुपमा रूपान्तरण गराई दिने वा पुराना मूखियाँ हरुले आफु जस्तै झुट, गफाडी उत्तराधिकारी बनाउने प्रचलन यहाँ स्पष्ट देखिन्छ/यस किसिमको महसुस भएकै कारण नयाँ पुस्ताले पुराना राजनीतिक दलका झुटमुट क्रियाकलाप लाई फोहोरी र घिनलाग्दो भनेका हुन्। हाम्रो राजनीतिको हालको रोग नै यही हो। पुराना लाई नयाँ ढाँचाबाट विस्थापित गर्न नसक्नुमा नयाँ भनिएकाहरुमा पनि एकरुपता हुन सकेको छैन।

अग्रगामी राजनीतिक अभियान किन-:
नयाँ पुस्ताले पुराना दलका बकम्फुसे कुरामा अल्झनु हुदैँन। पुराना र यथास्थितिवादी मानसिकता बोकेका पार्टी वा तिनका भातृ संगठनसँग आबद्ध हुनु हुदैन। अबको राजनीति नयाँ विचार सहित अग्रगामी चेतना,नैतिकता र राष्ट्रिय भावनालाई समेटेर मानवीय मूल्य मान्यतामा आधारित प्रगतिशील लोकतान्त्रिक विधि पद्धतिबाट नियन्त्रित समानता र समावेशी प्रतिनिधित्व सहितको राज्य सत्ता संचालन विधिका लागि धरातल निर्माण गर्नैपर्छ। यसका लागि नैतिक धरातलमा आफु अडिएर अरुलाई दोहोर्याउन सक्ने नेतृत्व क्षमता भएको नेताको खोजी अभियान जारी हुन्छ/ हुनु पर्छ। समग्रमा भन्नुपर्दा पुराना दलका मूखियाँहरुको ‘अटेरीपन’ लाई विस्थापित गर्ने ससक्त अभियान सहित नयाँ अवधारणाबाट राजनीतिमा अग्रसरता देखाउनु अत्यन्त जरुरी भएको हो। यसमा राजनीतिक बिष्लेशक, नागरिक समाज, युवा- युवतीहरुको सकारात्मक कदम झनै फलदायी हुनेछ। राजनीति एक्ला एक्लै गर्ने प्राइभेट इन्स्टिच्युट वा कम्पनी होईन्/सकिदैन/यस्तो हुनुहुँदैन। राजनीतिका लागि समन्वय, सहकार्य र संगठन/समूह चाहिन्छ। निरन्तर अध्ययन चाहिन्छ। चुनाव लड्दा उम्मेदवार हो तर चुनाव जितेपछि जनप्रतिनिधि हो भन्ने बुझ्नु अपरिहार्य हुन्छ।

बरालिएको वैकल्पिक राजनीति-:
मुलुकमा नयाँ संविधान बनेपछि एक खालको पारम्पारिक राजनीतिक संघर्षहरूबाट एउटा उपलब्धि हासिल भयो,अब नयाँ उपलब्धिका लागि नयाँ शिराबाट राजनीति पुनर्गठन हुनु पर्दछ भनेरै वैकल्पिक राजनीतिको भाष्य निर्माण गर्न खोजिएको देखिन्छ। नयाँ संविधान जारी भएपछि वैकल्पिक राजनीतिको ‘मूलबाटो’ को खोजीमा दर्जनौं एक्लाएक्लै तथा साना तिना समूह बनेर/बनाएर अभियान चलाउन कसिएकै थिए। तर, अभियान सञ्चालन गर्ने सामर्थ्य कम्जोर भएर वा आत्म केन्द्रित राजनीति तिर मात्र सिमित भएको, आफु लाई केन्द्रविन्दु बनाएर अभियान चलाउन खोजेको कारण सफल हुन नसकेका हुन् भन्ने पनि गरिन्छ। उसो त पुराना दल भित्र नै ‘रेक्टोफिटिङ’ अभियान सञ्चालन गरेर नयाँ विचार सहित अग्रगामी राजनीतिक मार्ग चित्र कोर्ने कुरा पनि चलेको थियो। तर, पुराना मूखियाँहरुले पार्टी भित्र नयाँ र युवा भनिएकाहरुलाई लाग्न टिक्न नदिने, जबर्जस्त पार्टी मूखियाँका हरुवा, हुक्के, बैठके को लागि मात्र सिमित गरिदिए पछि ‘रेक्टोफिटिङ’ अभियान पनि तुहियो/ टुंगियो।

कुनै बेला वैकल्पिक राजनीतिका चर्का कुरा गर्ने पार्टीहरू अहिले अवसानउन्मुख अवस्थामा छन् । संभवतः ‘वैकल्पिक राजनीति’को माहोल नै बरालिन पुग्यो भन्ने चिन्ता र चासोको भैईहेको बेलामा। गत महिना चैत्र २९ गते आफुलाई वैकल्पिक राजनीतिको अभियान्ता मात्र होइन वर्तमान राजनीतिक परिदृश्य माथि खरो टिकाटिप्पणी गर्दै आएका राजनीतिक विश्लेषकहरु र तिन दर्जनभन्दा बढी सानो समूहमा वैकल्पिक राजनीतिक अभियान, बहस छलफल चलाउदै आएका साथै पुराना दलका असन्तुष्ट नेताहरुले स्वतस्फूर्त एकेबद्धता जनाउदै नयाँ अवधारणा अनुरूप अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नुले अब वैकल्पिक राजनीतिको ‘मूलबाटो’ लाई पुनर्गठन गरेर देश, राष्ट्र र राष्ट्रियता प्रति इमान्दार राजनीतिक प्रयास हुन्छ कि भन्ने आशा जागेको छ। हेरौँ सकरात्मक दृष्टिकोण बन्छ कि त !

राजनीति वर्तमानमुखी हुनुपर्छ-:
रोग निवारण गर्ने एउटै उपाय राजनीतिलाई ‘वर्तमानमुखी’ बनाउनु हो । जब राजनीति वर्तमानमुखी हुन्छ, तब जनताको पक्षमा तत्काल परिणाम निस्कन्छ भन्ने मूल्यमान्यताको विकास हुन्छ। तब पलपलमा अध्ययन-अनुसन्धान अनिवार्य सार्थक बन्दछ । हरेक काममा तथ्य-तथ्यांक अनिवार्य बन्दछ । राजनीति-कर्मीले जनताका समस्याको नजिकमा पुग्नु अनिवार्य हुन्छ। भूँई तहका एजेण्डाको पहिचान र प्राथमिकीकरण आम जनचासो र महत्वको विषय हुन्छ। यसले राजनीति-कर्मीलाई गैरजिम्मेवार र आडम्बरी बन्नबाट रोक्छ/जनउत्तरदायी समेत बन्नु पर्ने व्यावहारिक शिक्षा प्रदान गर्दछ।

एउटा साधारण नियम यो हो कि वर्तमानलाई सुधार नगरीकन भविष्य सुधार हुदैँन। तर, आजसम्मको राजनीतिमा यो साधारण नियमलाई ख्याल गरिएको छैन/गर्ने सामर्थ्य पनि देखिदैन। हाल चलनचल्तीमा राजनीतिक विचारधारा कि त अतित मुखी, कि त भविष्यमुखी भए। वर्तमान-मुखी कोही छैनन् । दोषपूर्ण चिन्तन पद्धतिले नै अतित-मुखी र भविष्यमुखी राजनीति पैदा गरेको हो । अतितमुखीहरूको रहस्यवादी पद्धति र भविष्यमुखीहरूको यान्त्रिक चिन्तन पद्धतिले समाजको गतिलाई एकलरेखीय परिपथमा देखायो । तर समाजको स्वभाव रहस्यमय पनि छैन, यान्त्रिक वा गणितीय पनि छैन । त्यसैले, समाजले कहिल्यै ती कुनै परिपथको अनुसरण गर्दैन । अर्थात्, अतितमुखीहरूको ‘रामराज्य’ वा भविष्यमुखीहरूको ‘रामराज्य’ -उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, कल्याणवाद) कहिल्यै साकार हुँदैन। यो त पुराना दलहरुले जनता ठगी गर्ने माध्यम मात्र बनाए। आज सम्म विश्वका कुनै देशले आफ्नो देशमा समाजवाद/साम्यवाद आयो/प्राप्त भयो ! स्वाभिमान सहित समृद्ध भएको घोषणा गरेका छैनन्।

समाज आफ्नै मौलिक नियम अनुसार गतिशील हुन्छ। शास्त्रीय राजनीतिले सोचेको जस्तो गन्तव्य कहिल्यै आउँदैन। राजनीति-कर्मीले जहिल्यै जागरुक र सक्रिय भएर आफ्नो काम गरिरहनु पर्दछ । समाजको सुदूर भविष्य कस्तो हुन्छ ? यस प्रश्नमा हाम्रो बुद्धिले सम्भावनाको मोटो अनुमान सम्म गर्न सक्छ। तर, भविष्यको किटान गर्न सक्दैन। त्यसैले, मानवीय बुद्धिको यो सीमालाई स्वीकार गर्नु नै राजनीति-कर्मीको कर्तव्य हो।
अतः वैकल्पिक राजनीतिको ‘मूलबाटो’ बनाउन कसिएकाहरुले विगतलाई समिक्षा गर्दै वर्तमानलाई सुधार र व्यावहारिक कार्यान्वयनमा उतार्न सक्नुपर्छ। समय, परिस्थिति, समाजको चेतना र राष्ट्रियताको मौलिक ढाँचालाई सम्बोधन हुने गरी प्रगतिशील दृष्टिकोण बाट अघि बढ्न सक्नु पर्छ। समुन्नत लोकतन्त्र भित्र प्रगतिशील, सर्वस्वीकार्य र अग्रगामी राजनीतिक मार्ग निर्माण हुन्छ/ हुनु पर्छ। लोकतन्त्रको विकल्प अझै मानवीय मूल्य मान्यता लाई सर्वोत्कृष्ट सम्बोधन गर्ने, उन्नत लोकतन्त्र नै हो। त्यसैले पस्चगामी र यथास्थितिवादी मानसिकता बाट माथि उठ्न सक्नु पनि प्रगतिशील व्यावहारिक दृष्टिकोण हो। गतिसिल र नयाँ राजनीतिक चेतना हो।
लेखक – वैकल्पिक राजनीतिको ‘मूलबाटो’
अभियान्ता ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार १४:५०

Leave a Reply