No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

व्यवस्था परिवर्तन गराउन कति पटक विदेशीको चरणमा पुग्यौं ?

0

केशवप्रसाद भट्टराई ।
१. गएको १६–१७ वर्षमा १४ –१५ पटक प्रधानमन्त्री फेरिए । यही चार महिना भित्र प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिए, मन्त्री परिषदको गठन –पुनर्गठन चार पटक भैसक्यो । त्यसैले सरकार आउनु –जानु मुलुकको सङ्कट होइन ।

२. गएको आठ दशक भित्र यो मुलुकले आठ वटा संविधान बेहोर्यो । छ पटक राजनीतिक व्यवस्था र व्यवस्थाको चरित्रमा परिवर्तन भयो । संविधानको वा व्यवस्थाको सङ्कट पनि मुलुकको सङ्कट होइन रहेछ ।

३. मुलुकको अस्तित्वमा सङ्कट आउने भए नेपाल –चीन युद्ध, नेपाल–अङ्ग्रेज युद्धमा आउँथ्यो –आएन । सात सालमा पनि आएन । ४६, ६२–६३मा आएन । अब पनि आउन्न । सीमाना वरपर हुनु, वाह्य निर्भरता घट्नु बढ्नु, वाह्य प्रभाव हुनु –नहुनु आदि कुरा राष्ट्रहरूको इतिहासको स्वाभाविक गति र चरित्र हो । चीनले अमेरिकाका गैरसरकारी संस्था र मिडियालाई प्रत्यक्ष ÷परोक्ष अनुदान सहयोग गरेर चीनको पक्षमा अमेरिकी नीतिलाई आफ्नो पक्षमा पार्ने पार्ने कोशिश गर्दछ–गरिरहेको छ । अमेरिकाको निर्वाचनमा रूस, चीन , भारत सवैले आफ्नो प्रभाव उपयोग गर्ने गरेका छन् । रूस, ब्राजिल वा भारत जस्ता ठूला मुलुकको चुनावमा हरेक शक्ति राष्ट्रले सकेको प्रभावपार्ने वा हस्तक्षेप गर्ने गर्दछन् । साना–ठूला हरेक मुलुकको नीतिमा वाह्य हस्तक्षेप हुन्छ –उत्तर कोरियाको हकमा थाहा छैन ।

४. त्यसैले यो ऊ, यहाँ त्यहाँ भनेर चिच्याउनु, रोइकराई गर्नु भनेको देश, सरकार र पार्टी चलाउन नजानेर आफ्ना असक्षमता, भ्रष्ट चरित्र र कायरतालाई छोपेर जनता सामू सहानुभूतिको भीख माग्ने नकच्चरो राजनीति मात्र हो ।

५. व्यवस्था परिवर्तन गराउन कति पटक विदेशीको चरणमा पुग्यौं ? आजसम्म वाह्य समर्थन बेगर तिम्रा हुतीले भएको कुनै परिवर्तन भएको छ ? राजालाई पुनः राजगद्दी दिलाउन पनि वाह्य शक्ति नै चाहियो, राजा हटाउन पनि वाह्य शक्ति । काङ्ग्रेस/कम्युनिस्ट सवैलाई सत्तामा ल्याउन वाह्य शक्ति ।

६. त्यसैले हस्तक्षेप पनि रहन्छ र हस्तक्षेपको रोदन र क्रन्दन पनि रहिरहन्छ । आफ्नो पक्षमा भए सहयोग अर्काको पक्षमा भए हस्तक्षेप यो कायरता नेपाली जनताले नबुझेका होलान् र ?

७. विरोध, निन्दा र आलोचनाका हजार कारण होलान, तर यत्रा वर्ष सम्म पार्टी भित्र छेऊमा रहेर राजनीति गरेका केपी ओली एकाएक यो मुलुकका सवैभन्दा शक्तिशाली र लोकप्रिय राजनीतिज्ञ त बनेका छन् । हो केपी ओलीले जति सक्थे गरेनन् । गर्न पर्ने गरेनन् ।
तर मुलुकको राजनीतिको एउटा बलियो चट्टान बनेर त बसेका छन् । गगन वा विश्वमा मुलुकले धेरै आशा र विश्वासको लगानी गर्यो तर उनीहरूले सकेनन् वा गरेनन् भन्ने लागेर नै त मुलुकले रवि लामिछानेलाई अघि बढायो होला ।

८. तर नेपाली राजनीतिको मूल धर्म र चरित्र भनेकै निन्दा राजनीति र निन्दा धर्म हो । त्यो भैरहन्छ , गरिरहन्छन् तर ६ महिनामा रवि लामिछानेले पाएको उपलव्धि सानो हो ? रविले मात्रै सक्दैनन् कि भनेर मुलुकले ज्ञानेन्द्र शाही, दीपक सिंहहरूलाई पनि अघि बढायो । जुम्लाबाट ज्ञानेन्द्र शाही चुनाव जितेर आउनु सानो चमत्कार हो ? हेर्नोस त् संसदमा उनको गर्जन !

९. नेपालको जुन आन्तरिक उर्जा छ, जुन जीवन शक्ति छ त्यसलाई प्रतिनिधित्व गर्ने, त्यसलाई उद्वोधन गर्ने नेतृत्व मुलुकलाई प्राप्त सरकार नहोउन्जेल यो अस्थीरता रहिरहन्छ । तर ढिलो चाँडो कोही त्यो उर्जा र जीवन शक्तिलाई प्रतिनिधित्व गरेर राष्ट्रलाई उठाउन कोही काङ्ग्रेस भित्रबाट निस्केलान् , कोही एमालेबाट आउला , यी रविले नसके अर्का रवि आउलान् । यी ज्ञानेन्द्र शाही हराए अर्का ज्ञानेन्द्र शाहीको उदय होला !

प्रकाशित: ४ बैशाख २०८०, सोमबार ०४:१४

Leave a Reply