No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली समाजलाई भारत, तिब्बत र युरोपेली चस्माले हेर्ने प्रवृत्ति

0

मोहन लामा रुम्बा ।
नेपाल र नेपाली समाज बिछट्टको हुन्छ । यो पहाडी नेपाली समाजलाई गंगा मैदानमा फैलिएको भारतको हिन्दु समाजको चस्माले हेर्नु हुँदैन न त हिमालपारी तिब्बती बौद्ध चस्मा लगाएर नेपाली धर्म समाज इतिहास नै बुझ्न सक्दछौं। नेपाली समाज प्राचीन कालदेखि चाहे त्यो सिंजाको सभ्यता होस् वा बागमतीको सभ्यता होस् परस्पर समन्वयात्मक समाज छ। सिंजा राज्यको मल्ल राजाहरुको देवल खम्बा धारामा एकापटी ‘ॐ मणि पद्म हुँ’ अर्कोपटी ‘ॐ नम शिवाय’ लेखिएको शिला लेख अहिले पनि प्रशस्त पाइन्छ। आजभोलि भएको के छ भने नेपाली समाजलाई नेपाली चस्मा लगाएर नहेरी एउटा भारतको चस्मा लगाएर हेर्ने अर्को तिब्बती चस्मा लगाएर हेर्ने अर्को त झन् युरोपेली चस्माले हाम्रो समाजलाई हेर्ने प्रवृत्ति बढ्दै छ।

कुनै बखतको ऐतिहासिक कालखण्डमा हाम्रो नेपालको ग्रामीण पहाडी भूभागको सामाजिक जनजीवन बारेमा एक झलक हेरौं ज्ञानमणि नेपालको पुस्तक–नेपालनिरुपण पुस्तकबाट–
यी पहाडी राज्यमा र भोटराज्यमा पनि वज्रयानभित्रको हेवज्रतन्त्रले किन लोकप्रियता प्राप्त गर्यो भन्ने कुरा विचार गर्दा यसमा मुख्य गरेर भौगोलिक अवस्थाले नै प्रभाव पारेको देखिन्छ । हिमप्रभावित क्षेत्रका पहाडी खण्डमा र भोटमा पनि असिना वर्षा हिमपात बढी भइरहन्छ, हुरी बतास हरदम चलिरहन्छ, चट्याङ्ग–वज्र परेर थर्कायमान पारिरहन्छ । पहाड पर्वतमा पाखेबालीलाई प्रकृतिकै सहाराले नै जोगाउनु बढाउनु पनि आवश्यक पर्दछ । यथासमयमा वर्षा नभएमा पाखाबाली लगाउन पनि सकिंदैन, सपार्न पनि । लाएको बाली असिनाबाट जोगाएर थन्क्याउन धौ–धौ पर्दछ । बाली थन्क्याएपछि असिना नपारेकोमा प्रकृतिलाई सहस्र धन्यवाद गर्नुपर्दछ । यस्तो अवस्थामा त्यहाँका मानिसले हेवज्रतन्त्रको आश्रय लिनु धन्यवाद अर्पण कुनै आश्चर्य होइन । हेवज्रतन्त्रमा खडेरी चलेमा पानी पार्ने, अतिवृष्टि टार्ने, असिना, हिमपात रोक्ने, वज्र चट्याङ्ग पर्न नदिने, हुरी बतास हटाउने शत्रुहरूलाई परास्त पार्ने आदि विधि नै विशेष गरेर बताइएको छ र यस तन्त्रमा पोख्त गुम्बामा बस्ने लामाहरू हुन्छन् भन्ने धारणा पनि जनतामा दृढ भएर रहेको थियो र अहिलेसम्म पनि छँदैछ । यस्ता लम्बपाद (लामा) हरूको मानभाउ पश्चिम् सिँजाराज्य (कर्णाली) मा ठूलो थियो ।
पहाडमा धामीझाँक्री
यसअतिरिक्त मध्य पहाडी क्षेत्रमा विद्याको पठन–पाठन पनि त्यति नभएको र यस्ता तान्त्रिक सिद्ध लामा वज्राचार्य पनि नपाइने हुँदा टाढाबाट झिकाएर यस्ता सिद्ध तान्त्रिक पालेर राख्ने प्रचलन भएको पनि देखिन्छ । एउटा उदाहरण कास्की राज्यमा पाइन्छ । कास्कीकोट गोरखा लमजुङभन्दा पहिलेको शाहवंशको पुख्यौली राज्यस्थल थियो । कास्कीकोट अत्यन्त विकट पहाडका चुचुरामा रहेको छ । यसबाट नजिकै जस्तो हाराहारीमा उत्तरतिर माछापुच्छ्रे हिमाल रहेको छ । कास्की पोखरामा माछापुछ्रे हिमालको प्रभावले वर्षा बढी हुने हुँदा एकातिर पाखाबाली बढी सप्रन्छ अर्कोतिर खोला झर्ना तलाउ पोखरीको पानी पौल हुँदा धानबाली पनि राम्रै हुन्छ । तर हिमालका हिमक्षेत्रको प्रभावले हुरी बतास चट्याङ्ग असिना पनि त्यत्तिकै बेशी पर्ने गर्दछ । चट्याङ्गको भय र असिनाको डरले यहाँका बासिन्दालाई त्यत्तिकै सताइरहेको हुन्छ । बाली नथन्क्याउन्जेल आकाशको बादल र गडगडाहटले उत्तर्सिएर आसन्न असिनापातको आशङ्काले पनि सशङ्कित भएका यहाँका मानिसलाई ‘रातको निद न दिनको भोक’ भइरहन्छ।

यसकारण कास्कीराज्य छउन्जेल राजाका तर्फबाट जान्ने सिद्ध लामा साक्ये मठतिरबाटै झिकाएर समुचित स्थानमान दिएर राखिन्थ्यो । त्यस्तै लामा आएर यहाँ बसेका थिए र यहीँ उनको समाधि भएको पनि थियो। तिनै दुधे लामाको स्थानमा अहिलेसम्म कास्कीकोटमा पूजाआजा सभक्ति चलिरहेको छ । यिनले गरेका –चट्याङ्ग रोकेका, असिना पानी तर्काएका कथा पनि प्रचलित छन् । ब्राह्मण सिद्ध र दुधे लामासँग तान्त्रिक सिद्धिका बारेमा भएका प्रतिस्पर्धात्मक कथा पनि सुन्न पाइन्छन् । गाउँघरमा नजिक पासका गुम्बाका लामालाई लामापाथी र गोरखपन्थी जोगीलाई सिधा भरेर यस्तै दैवी उपद्रवको शान्ति स्वस्ति गराइन्थ्यो ।…
हाम्रो समाजमा परापूर्वकालदेखि नै यस्ता धामी झाँक्री तान्त्रिक मान्त्रिकहरूको प्रभाव चलनचल्ती सदा सर्वदा भइआएको छ । पृथ्वीनारायणले तान्त्रिक अनुष्ठान गरेर पश्चिमको लडाइँ रोक्ने ज्ञानकर बाँडालाई खटाएका थिए र उनी इन्द्रायणीको तीरमा गएर अनुष्ठान गरिरहेका थिए । भाकल पूरा होस् भनेर र अरू अरू ऐहिक आकाङ्क्षा परिपूर्तिका लागि पनि यस्ता अनुष्ठान तान्त्रिक मान्त्रिकद्वारा गराइन्थे ।
खसानराज्यमा यस्ता धामी झाँक्रीको लागि उत्कृष्ट स्थान थियो । बिर्तावार पण्डित बाहुनहरू, भिक्षुहरू र धामीहरू पनि करमुक्त गरिएका थिए । नुवाकोटमा पछिसम्म धामीले गुठी बिर्ता पाएर रहेका र उनी वर्ष– वर्षमा राजाको राज्यको शुभाशुभ हेर्ने, अरिष्ट खुट्याउने गर्दथे र बकेर बताउँथे । सो कुरा केन्द्रमा लेखेर पठाइन्थ्यो । यस्ता उदाहरण अरू पनि प्रशस्तै पाइन्छन् । ती सबैको वर्णन गर्न यो सानो लेखमा सम्भव नहुने हुँदा अहिले यतिमै विश्राम गर्दछु।

प्रकाशित: ९ बैशाख २०८०, शनिबार ०५:०९

Leave a Reply