+

घनश्यामलाई हितैषीको पत्रः सांसद, मन्त्री तथा प्रधानमन्त्री साधन हुन् कि साध्य ?

२५ असार २०७९, शनिबार ०४:५४

सामाजिक जीवनमा कुनै गुटको अन्धानुयायी नभएका, समसामयिक विश्वका वाम तथा प्रगतिशील आन्दोलनहरूबारे गहिरो चासो र फराकिलो जानकारी भएका कमरेडले केही दिनपहिले मलाई यस्तो इमेल पठाए:
प्रिय घनश्यामजी,
हार्दिक अभिवादन ।
पछिल्लो चरणमा यहाँले गर्नुभएको वाम एकताको पहलको म प्रशंसा गर्छु । साथसाथै, वाम दलहरूभित्रको सैद्धान्तिक तथा व्यावहारिक विचलनको विषयमा यहाँको समीक्षा र विश्लेषणप्रति पनि सकारात्मक छु । तर केही समयदेखि म असाध्यै गम्भीर भएर सोच्दै छु, हाम्रो समस्याको जरो वाम एकता हो कि वाम राजनीतिको पुनर्गठन ?

एउटा सुन्दर कुरा के हो भने कम्युनिस्ट घोषणापत्रको १७४ वर्षपछि पनि आधारभूत रूपमा यसको महत्त्व र सान्दर्भिकता समाप्त भएको छैन । यसप्रति जनअपेक्षा पनि घटेको छैन । …के तपाईंले सोच्नुभएको वाम एकता मात्र एक चुनावी रणनीति हो ? कि वाम राजनीतिको पुनर्गठन हो ? अन्यथा वाम एकताले झन्डै दुईतिहाइको सरकार बनाएकै पनि हो । त्यसपछि सत्ताको आडमा वाम एकता छियाछिया भएको हामी सबैले देखे–भोगेकै कुरा हो । म पनि चाहन्छु, चुनावले बलियो वाम सरकार बनाओस् । तर वाम सरकार भनेको स्वच्छ, पारदर्शी र जनउत्तरदायी सरकार हो कि जे देखियो त्यही हो ? सांसद, मन्त्री तथा प्रधानमन्त्री साधन हुन् कि साध्य ? म राजनीति, खास गरी वाम राजनीतिको कथित एकता होइन, बरु यसको पूर्ण पुनर्गठनका पक्षमा सोच राख्छु । मौका मिले थप छलफल गर्ने नै छु ।
तपाईंको हितैषी