काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरवलोकन गर्न समिति गठन गरेको छ। बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले विद्युत् महसुल पुनरावलोकन र विगतका खरिद तथा सञ्चालित आयोजनाहरूको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको हो।
प्राधिकरणको बैठकले उपभोक्तालाई सहुलियत दिन र संस्थागत पारदर्शिता कायम गर्ने उद्देश्यले यी समितिहरू गठन गरेको छ।
उत्पादित विद्युतको अधिकतम उपयोग सुनिश्चित गर्न, घरायसी उपभोक्तालाई सहुलियत प्रदान गर्न र उत्पादनमूलक उद्योगहरूलाई उपयुक्त महसुल दरमा विद्युत् उपलब्ध गराउनका लागि यो समिति गठन गरेको छ। सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित यस समितिले नयाँ दर सिफारिससहितको प्रतिवेदन १५ दिनमा पेस गर्ने कार्यादेश पाएको छ।
यस समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, र ऊर्जा, उपभोक्ता तथा वित्त क्षेत्रका विज्ञहरू सदस्य रहेका छन्।
समितिको सदस्य सचिवमा नेविप्रा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रहेका छन्। यस समितिलाई कार्य सम्पन्न गर्न १५ दिनको समयावधि दिइएको छ।
त्यस्तै विद्युत् प्राधिकरणबाट विगतमा भएका खरिद प्रक्रिया र सञ्चालित आयोजनाहरूका सम्बन्धमा प्राप्त उजुरी तथा गुनासोहरूको छानबिन गर्न अर्को समिति गठन गरिएको छ। सञ्चालक समिति सदस्य शम्भु के।सी। को संयोजकत्वमा गठित यस समितिले प्राप्त उजुरीहरूको अध्ययन गरी प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ।
यस समितिमा प्राविधिक, कानुन र खरिद विज्ञहरू सदस्यका रूपमा रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशकलाई दिइएको छ। यस समितिको कार्यावधि दुई महिना तोकिएको छ।


